नेभिगेशन
3 Minute

स्पेनका खम्बा रोड्री

न गोल गरे, न गोलका लागि असिस्ट गरे । 

तर गोल्डेन बल उनैले जिते । 

स्पेनका कप्तान रोड्रीले गोल्डेन बल पाउँदा न्यूजर्सी स्टेडियममा दर्शकहरुले समेत मेसी मेसी भन्दै हुटिङ गरिरहेका थिए । 

धेरैको अनुमान थियो, उपाधि नजिते पनि लियोनेल मेसीले गोल्डेन बल पाउन सक्छन् । 

सेमिफाइनल खेल सकिँदा मेसी ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दाबेदारीमा पहिलो स्थानमा थिए । तर एम्बाप्पेले थर्ड प्लेसका लागि भएको खेलमा २ गोल गरेर आफ्नो गोल संख्या १० पुर्‍याए । 

मेसीले न फाइनल खेलमा गोल गर्न सके, न उपाधि जित्न नै । त्यसैले अब उनको सम्भवना गोल्डेन बलमा थियो । तर, पाए विश्वविजेता स्पेनका कप्तान रोड्रीले । 

रोड्री गोल हान्ने खेलाडी होइनन्, विश्वकपमा नन अट्याकिङ खेलाडीले गोल्डेन बल पाएको रेकर्ड पनि धेरै छैन । जम्मा ३–४ जनाले मात्र पाएका छन् । फ्रान्सका जिनेदिन जिदान, क्रोएसियाका लुका मोड्रिक र जर्मनीका ओलिभर कान लगायत । यस वर्ष रोड्री थपिए । 

गोल नहानेका कारण धेरैले रोड्रीलाई नचिन्लान्, तर उनी स्पेन टिमका सबैभन्दा ठूला खम्बा हुन् । 

उनले सेन्ट्रल मिडफिल्डमा रहेर सिंगो टिमको मियो बनेर खेल्दै आएका छन् । उनको काम भनेको डिफेन्डरबाट बल लिने र स्ट्राइकरलाई सप्लाइ गर्ने हो, उनलाई स्पेन टिमका मुख्य बल डिस्ट्रिब्यूटर भन्दा पनि हुन्छ । गोल असिस्टमा उनी नदेखिएपनि प्ले मेकिङमा उनको रोल मुख्य छ । 

मेसीले यो विश्वकपमा ८ गोल त गरे, टिमलाई विश्वकप जिताउन सकेनन् । फाइनल खेलकै पर्फमेन्सको कुुरा गर्ने हो भने मेसी भन्दा रोड्रीले उत्कृष्ट खेले । 

अर्जेन्टिनाले बलमाथिको नियन्त्रण पुरै स्पेनलाई सुम्पिएको थियो । त्यसैले झण्डै झण्डै गोल्डेन बल जितिसकेका मेसीले अन्तिममा सिल्भर मेडलमा चित्त बुझाउनुपर्‍यो । 

रोड्रीको काम भनेको स्पेनको डिफेन्स र अट्याक लाइनलाई आपसमा लिंक गर्ने हो । फाइनल खेलकै कुरा गर्ने हो भने रोड्रीले १०१ देखि १०५ वटा पास कम्प्लिट गरेका छन् । 

विपक्षीको ८० प्रतिशत बल खोस्न सफल भए र गोलका लागि दुई वटा अवसर बनाइदिए । 

उनी स्ट्राइकरहरुलाई बल मिलाउने मात्र होइन, डिफेन्डरलाई सघाउन पनि भ्याउँछन् । स्पेनले ८ खेल खेल्दा १ मात्र गोल खानुमा रोड्रीको पनि भूमिका छ । 

अर्जेन्टिनासँगको खेलमा मात्र होइन, रोड्रीले पोर्चुगल, फ्रान्स र बेल्जियमविरुद्ध पनि मैदानमा आफ्नो उपस्थिति सावित गरेका थिए । 

००००

रोड्री इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्छन् । पछिल्लो २ वर्ष उनका लागि निकै उतारचढावपूूर्ण रह्यो । 

सन् २०२४ को सेप्टेम्बरमा उनलाई घुँडामा चोट लागेको थियो । त्यसपछि करिब ९ महिना उनी मैदान बाहिर रहे । अब उनी मैदानमा फर्किन सक्दैनन् भन्ने हल्लाहरु पनि चले । तर रोड्री निको भएर पुनः मैदानमा आए । 

एक वर्ष अघि अर्थात् सन् २०२५ को जुनमा रोड्री अमेरिकाको न्यूजर्सीमै फिफा क्लब वल्र्ड कप खेल्न पुगेका थिए । ९ महिना आराम गरेर पहिलो पटक मैदानमा फर्किएका रोड्रीले त्यतिबेलै रिकभरिको सकारात्मक लक्षण देखाएका थिए । क्लब वल्र्ड कपको समूह चरणको खेलमा सिटीले इटालीको युभेन्टसलाई ५–२ को अन्तरले पराजित गर्दा मुख्य खेलाडी रोड्री थिए । 

त्यसपछि क्लब वल्र्ड कपकै राउन्ड अफ १६ मा सिटीले साउदी क्लब अल हिलालसँग खेल्यो । यो खेलमा रोड्री दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यतिबेलासम्म उनी पूर्ण फिट भइसकेका थिएनन् । 

एक वर्षपछि रोड्रीले अमेरिकाको त्यही रंगशालामा विश्वकपको फाइनल खेले । अहिले उनी पूर्ण रुपमा फिट भइसकेका छन् । 

फ्रान्सलाई सेमिफाइनलमा २–० ले हराएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फोन्टेले रोड्रीको प्रशंसा गरेका थिए । ‘रोड्री मिडफिल्डका ब्याकबोन हुन्, उनी त्यहाँ हुनाले सबै कुरा राम्रो भएको छ’ उनले भनेका थिए । 

म्यान सिटीका तत्कालिन प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका थिए, ‘हामीले वास्तविक रोड्रीलाई सन् २०२६ को विश्वकपमा स्पेनका लागि खेल्दै गरेको देख्नेछौं ।’ 

र आज त्यही भएको छ, रोड्रीले उत्कृष्ट खेल देखाएर गोल्डेन बल जितेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute