सुरुङमार्ग प्रयोग गर्दा थाहा पाउनैपर्ने ७ कुरा
काठमाडौं आउँदा र काठमाडौंबाट फर्किँदा तपाईंले नागढुंगा चेकपोस्ट भन्दा तल सिस्नेखोलामा सुरुङमार्ग बनाइरहेको देख्नुभएकै थियो होला ।
यो सुरुङमार्गबाट कहिले हिँड्न पाइएला भन्ने सोच्नुभएको थियो भने अब त्यो दिन आइसकेको छ ।
नागढुंगाा सुरुङमार्ग नेपालमा गाडी ओहोरदोहोर गर्न बनाइएको पहिलो सुरुङमार्ग हो । त्यसैले सुरुङमार्गको यात्रा धेरैका लागि नौलो र प्रतीक्षाको विषय बनेको छ । साउन ११ गतेदेखि नागढुंगा सुरुङमार्ग परीक्षणका लागि खुला भएको छ ।
नागढुंगा सुरुङमार्ग कसरी प्रयोग गर्ने त ? यसबारे तपाईंले जान्नैपर्ने ७ वटा कुरा :
१. साउन ११ गतेदेखि नागढुंगा सुरुङमार्ग सबै गाडीहरुका लागि खुला भएको होइन । अहिले परीक्षणका लागि मात्र खुला गरिएको हो । अब १५ दिनसम्म एम्बुलेन्स, शवबाहन, दमकल र सुरक्षाकर्मीका गाडीजस्ता इमर्जेन्सी सेवाका गाडी मात्र चल्न पाउँछन् । १५ दिनपछि भने विस्तारै अरु गाडीहरु पनि सुरुङमार्गबाट आउन–जान पाउँछन् । नागढुंगा सुरुङमार्ग आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीका अनुसार विभिन्न चरणमा परीक्षण गरेपछि करिब ३ महिनापछि मात्र सुरुङमार्ग पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
२. सुरुङमार्गबाट गाडी चलाउँदा कतै पनि रोक्न पाइँदैन । सिस्नेखोलाबाट सुरुङ प्रवेश गरेको गाडी काठमाडौंको बलम्बु आइपुग्दासम्म गाडी कहिँ पनि रोक्न मिल्दैन । अनि अगाडिको गाडीलाई ओभरटेक गर्न पनि पाइँदैन । सबै गाडीहरु हेडलाइट बालेर चलाउनुपर्छ ।
३. सुरुङ मार्गबाट गाडी चलाउँदा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढीको स्पिडमा चलाउन पाइँदैन । तर अहिले परीक्षणकालमा त २० देखि ३० किलोमिटर प्रतिघण्टाको दरमा मात्र चलाउनुपर्छ ।
४. अहिलेसम्म काठमाडौं प्रवेश गर्ने र बाहिरिनेहरुको सुरक्षा चेकजाँच नागढुंगामा भइरहेको थियो । तर सुरुङमार्गबाट आउजाउ गर्दा सुरक्षा जाँच कहाँ गर्ने भन्ने अहिलेसम्म टुंगिएको छैन । अब सुरक्षा जाँच कि त सुरुङमार्ग प्रवेश गर्नुअघि नै धादिङको सिस्नेखोलामा गर्नुपर्यो । कि त काठमाडौंको बलम्बुमा गर्नुपर्यो । नागढुंगा सुरुङमार्ग आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीका अनुसार यस विषयमा प्रहरी हेडक्वार्टरसँग कुरा भइरहेको छ, तर टुंगिएको छैन । राजधानी प्रवेश गर्ने प्रमुख नाका भएकाले सुरक्षा जाँच अनिवार्य गर्नुपर्नेछ । सुरुङको प्रवेश विन्दु धादिङ जिल्लामा पर्छ भने सुरुङ बाहिर निस्कने विन्दु काठमाडौं जिल्लामा पर्छ । कुन जिल्लाको प्रहरीले चेकजाँच गर्ने भन्ने क्षेत्राधिकारको पनि प्रश्न भएकाले सुरुङमार्ग आयोजनाले प्रहरी हेडक्वार्टरसँग छलफल गरेको छ । सम्भवतः बलम्बुमा सुरक्षा जाँच हुन सक्ने अधिकारीहरु बताउँछन् ।
५. सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिने गाडीहरु बलम्बुबाट फ्लाइओभर चढेर जानुपर्छ । अनि काठमाडौं भित्रिने गाडीहरु भने फ्लाइओभर भन्दा देब्रेतर्फको साइड लेनबाट चल्नुपर्छ ।
६. केही सवारी साधनहरु भने कहिल्यै पनि सुरुङमार्गबाट आउन जान पाउँदैनन् । दुईपांग्रे सवारी साधन अर्थात्, साइकल र मोटरसाइकल सुरुङमार्गबाट चल्न पाउँदैनन् । तीन पांग्रे गाडी रिक्सा र टेम्पो पनि चलाउन पाइँदैन । अनि पेट्रोल, डिजेल, ग्यास जस्ता ज्वलनशील पदार्थ बोकेका गाडीले पनि सुरुङमार्ग प्रयोग गर्न पाउँदैन । सुरुङमार्गबाट पैदल हिँड्न पनि पाइदैन ।
७. सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्छ । कार, भ्यान र माइक्रो बसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ । अनि काठमाडौंबाट बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्छ । मिनिबस, मिनीट्रक र टिपरले काठमाडौं भित्रिँदा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस र ट्रकले काठमाडौं भित्रिँदा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्छ । हेभी ट्रकहरुले काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्छ ।
फेरि ब्यूँताइयो सांसदले पीए राख्न पाउने व्यवस्था
मेसीका लक्की चार्म, लियोनेल स्कालोनी
स्पेनका खम्बा रोड्री
कुबार्सी कसरी छानिए फिफा योङ प्लेयर ?




-1784465073.png)


