एम्बुलेन्समा समेत भ्रष्टाचार
एक जना वडाध्यक्षले कतिसम्म बदमासी गर्न सक्छन् भन्ने उदाहरण धनुषाको विदेह नगरपालिकामा देखिन्छ । त्यहाँका पूर्ववडाध्यक्ष विजयकुमार यादवले वडाले दानमा पाएको एम्बुलेन्स समेत आफ्नै गाडी सरह चलाएर पैसा हिनामिना गरेको पाइएको छ ।
२०७७ साल असोजमा भारतीय दूतावासले विदेह नगरपालिका वडा नं ५ लाई एउटा एम्बुलेन्स दान गरेको थियो । तर वडाध्यक्ष यादवले त्यो एम्बुलेन्स वडामा बुझाएनन्, वडाको जिन्सी सामानमा दाखिला नै गरेनन् । बरु आफ्नै नियन्त्रणमा राखेर चलाए । एम्बुलेन्स चलाउँदाको आम्दानी र खर्च पनि राखेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालिन वडाध्यक्ष यादवले त्यो एम्बुलेन्स सरकारी हो भन्ने जानी जानी आफ्नै गाडी सरह चलाएका थिए ।
एम्बुलेन्सले कति मान्छेलाई सेवा दियो, तिनीहरुबाट कति पैसा उठाइयो, कति मान्छेलाई निशुल्क सेवा दिइयो, कति रुपैयाँको तेल हालियो जस्ता आम्दानी र खर्चको कुनै विवरण नै राखेनन् ।
अख्तियारका अनुसार उनले ३ वर्ष ५ महिनासम्म एम्बुलेन्स आफ्नै मातहतमा चलाए । अहिले अख्तियारले उनलाई एम्बुलेन्स आफैंले चलाएर सरकारी सम्पत्ति बदनियतपूर्वक प्रयोग गरेर गैरकानुनी लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यो एम्बुलेन्स ३ वर्ष ५ महिनासम्म ३० हजार १८५ किलोमिटर गुडेको थियो । धनुषाको कच्ची बाटोमा एम्बुलेन्स भाडाको रेट अनुसार हिसाब गर्दा वडाध्यक्ष यादवले १५ लाख ९ हजार हानीनोक्सानी पुर्याएको देखिएको अख्तियारको भनाइ छ ।
सर्वोच्चले उल्टाइदियो मन्त्रीको निर्णय
सुरक्षा माग्दै डाक्टरले छाडे बिरामी उपचार
सम्बन्धविच्छेद गराउन पनि १० हजार घुस !
सुरुङमार्ग प्रयोग गर्दा थाहा पाउनैपर्ने ७ कुरा








