नेभिगेशन
3 Minute

सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ? 

राजु पाण्डे भनेकै डोजरको पर्याय हुन् । काठमाडौं महानगरपालिकामा नगर प्रहरी प्रमुख भएपछि मेयर बालेन शाहले चलाएका डोजर अभियानको नेतृत्वले उनैले गर्थे ।

साउन १७ गते सांसदका रुपमा पनि राजुनाथ पाण्डेले त्यही गरे । काठमाडौंको गोकर्णस्थित माकलबारीमा उनी स्थानीय र दलबलसहित २ वटा डोलर लिएर पुगे । 

डोजर सरासर गयो र नेपाल ट्रस्टको जग्गामा बनेको पर्खाल भत्काउन थाल्यो । पछाडि भीडले नारा लगाइरहेको थियो, राजुनाथ पाण्डे जिन्दावाद । महानगर प्रहरीबाट राजीनामा दिएर चुनाव लडेका उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

गोकर्णको जंगलभित्र विभिन्न वन्यजन्तु समेत छ । त्यसैले यो क्षेत्रमा सेनाको ब्यारेक छ र उसैले यो वन क्षेत्रको सुरक्षा गर्छ । 

आफ्नो सैन्य क्षेत्रमा एकाएक डोजर चल्न थालेपछि सेनाका अधिकृत आएर सांसद राजुनाथ पाण्डेसँग छलफल गर्छन् । सेनाका अधिकृतले सडक नखोल्न र खोल्ने भए आधिकारिक निर्णय ल्याउन आग्रह गर्छन् । 

तर, पाण्डे पर्खाल भत्काउँदा सेनालाई सुरक्षामा कुनै समस्या नपर्ने तर्क गर्छन् । माथिकै आदेशअनुसार आएको बताउँछन् । 

तर, सैनिक अधिकारीले पर्खाल भत्काउने गरी भएको निर्णयको पत्र माग्दा आवश्यक नै छैन भनेर जवाफ दिन्छन् । जनताले चाहेपछि सबै हुन्छ भन्दै टार्छन् । 

यो क्षेत्र नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रस्टको संरक्षक स्वयं प्रधामनन्त्री बालेन शाह छन् । सांसद पाण्डेले स्थानीयलाई प्रधानमन्त्री बालेन शाहसँग कुरा गरेरै डोजर चलाएको बताएका थिए । सेनासँगको विवादमा पनि उनले भनेका थिए, ‘नेपाल ट्रस्टलाई सोध्नुस् न, तपाईंलाई किन चाहियो ? 

सेनाका अधिकृतले फौज र  ब्यारेक बसेको छ, असुरक्षा हुन्छ भन्दा भन्दै भीडको सहारा लिँदै पाण्डले डोजर रोक्न दिँदैनन् । बरु जीर्ण पर्खाल राखेर ठीक हुन्छ र कुनै पनि बेला डिजास्टर हुन सक्छ भनेर हप्काउँछन् । 

पाण्डेले करिडोरको बाटो पहिल्यै खोलिनुपर्ने भए पनि ढिलो भएको भन्दै काम नरोकिने जवाफ दिन्छन् । सेनाले रोक्न खोज्दा पनि रातिसम्म नै डोजर चलाएर पर्खाल भत्काइयो ।   

यो विषयलाई नेपाली सेनाले गम्भीर रुपमा लिएको छ । सेनाले रोक्दारोक्दै सत्तारुढ दलका सांसदले जबरजस्ती आफल्नो इलाकाभित्र विना सहहति डोजर चलाएपछि प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानन्त्री बालेनसँगै कुराकानी गरेका छन् । 

अझ प्रधामनन्त्रीकै नाम लिएर यसो गरिएपछि सेना खुशी छैन । मंगलबार प्रधानमन्त्रीसँगको भेटमा प्रधानसेनापति सिग्देलले यो विषय उठाएको नेपाली सेनाको स्रोत बताउँछ । 

हुन त स्थानीयले माकलबारीबाट गोकर्णेश्वर मन्दिर हुँदै सुन्दरीजलतर्फ जाने खण्डको अपुरो सडक जोड्न २०६७ सालदेखि माग गर्दै आएका थिए । यहाँ यही पर्खालका कारण सडक विस्तार हुन सकेको थिएन । 

यो सडक विस्तारले स्थानीय बासिन्दालाई लाभ पुग्नेछ । तर, यो काम समन्वयमा नगरी बल प्रयोग गरेर गरिएका कारण विवादमा परेको छ । 

अझ सैनिक अधिकृतलाई सार्वजनिक स्थानमा हप्काएका कारण पनि पाण्डेको आलोचना भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute