नेभिगेशन
3 Minute

भुटानले बनाउँदैछ भव्य र अचम्मको नयाँ शहर

कहिल्यै यस्तो शहरको कल्पना गर्नुभएको छ, जहाँ गगनचुम्बी भवनहरु होइन, घना जंगल र नदीहरु शहरको मुख्य आकर्षण हुन्छन् । जहाँ आर्थिक समृद्धिको मापन ‘पर क्यापिटा इन्कम वा जीडीपी’ले होइन, मानिसहरुको ‘खुसी’मा आधारित भएर गरियोस् । 

संसारभर नै आधुनिक र विशाल मेगासिटीहरु बनाउने होडबाजी त चलिरहेकै छ । तर, यही बेला नेपालको छिमेकी देश भुटानले एउटा यस्तो शहर बनाउँदैछ, जसले आधुनिक इन्जिनियरिङको ट्रेडिसनल डेफिनेसनलाई नै माथ दिनेछ । भुटानले बनाउन लागेको यो सहरको नाम हो, गेलेफु माइन्डफुलनेस सिटी !

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले घोषणा गरेको यो महत्वाकांक्षी योजना २ हजार ५ सय वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिनेछ । त्यो भनेको सिंगो सिंगापुर वा हङकङभन्दा पनि ठूलो हो । 

तर, यहाँ ठूला कंक्रिटका टावरहरु वा धुवाँ फाल्ने उद्योगहरु हुने छैनन् । विश्वविख्यात आर्किटेक्चरल फर्म ‘बीआईजी’ले डिजाइन गरेको यो शहर पूर्ण रुपमा भुटानको ‘ग्रस नेसनल ह्यापिनेस’ बढाउने उद्देश्यमा आधारित छ । 

यो शहर भारत र भुटानको सीमा नजिकको गेलेफु क्षेत्रमा निर्माण गरिँदैछ, जसले दक्षिण एशियालाई पूर्वी एशियासँग जोड्ने आर्थिक पुलको काम गर्ने सरकारी दाबी छ ।

यस प्रोजेक्टको सबैभन्दा रोचक पक्ष भनेको यसको डिजाइन हो । यो शहरलाई ११ वटा साना बस्तीहरुमा विभाजन गरिँदैछ, जुन बस्तीहरु यहाँका ३५ वटा नदी र खोलाहरुसँगै रहनेछन् । 

नदीहरुमा बाढी आउँदा शहरलाई असर नपरोस् भनेर यहाँ ‘इनहेबिटेड ब्रिज’ अर्थात् विशाल पुलहरु बनाइनेछ । जहाँ मान्छेहरु संकटमा बेलामा बस्न सक्छन् । 

यहाँ हाइड्रो ड्यामहरु पनि आफैंमा एउटा बौद्ध टेम्पलको स्वरुपमै निर्माण हुनेछ, जहाँ पर्यटन र ऊर्जा उत्पादन एकैसाथ हुनेछ ।

विश्वको पहिलो ‘कार्बन नेगेटिभ’ देश भुटानले यो शहरमा वातावरण संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ । गेलेफु क्षेत्र हात्ती, बाघ र अन्य दुर्लभ वन्यजन्तुहरुको ऐतिहासिक ‘माइग्रेसन करिडोर’ हो । यहाँ वन्यजन्तुहरु आउजाउ गरिरहन्छन् । 

त्यसैले, शहर निर्माण गर्दा वन्यजन्तुको बाटो बन्द गरिने छैन । यहाँका संरचनाहरु यसरी डिजाइन गरिएका छन् कि मानिसहरु र वन्यजन्तुहरु एकै ठाउँमा बिना कुनै द्वन्द्व सुरक्षित रूपमा बाँच्न सकुन् । 

यहाँ शत प्रतिशत नवीकरणीय ऊर्जा अर्थात् सोलार र हाइड्रोको प्रयोग हुनेछ र विद्युतीय सवारी साधनहरु मात्र चल्न पाउनेछन् ।

अनि यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो फेज त तयार भएर सञ्चालनमै आइसक्यो । यहाँ बन्ने हरेक पूर्वाधारलाई प्रकृति र आध्यात्मिकतासँग जोडिएको छ ।   

भुटानले यो शहर किन बनाउँदैछ त ? 

यसका दुई कारण छन्, पहिलो भुटानी युवाको पलायन रोक्नु, अनि दोस्रो देशभित्रै खर्चालु पर्यटकको आगमन बढाउनु । 

अहिले अवसरको खोजीमा अस्ट्रेलिया र अन्य देश गइरहेका बौद्धिक जनशक्ति र युवालाई स्वदेशमै आधुनिक र उच्च प्रविधियुक्त अवसर दिने भुटानको लक्ष्य छ । 

शहरका रुपमा गेलेफु एउटा ‘स्पेशल एडमिनिस्ट्रेटिभ रिजन’ हुनेछ, जहाँ विशेष नियम, जेरो कार्बन लगानी नीति, र अध्यात्ममा आधारित प्रविधि, ग्रीन इनर्जी, र वेलनेस टुरिजमका कम्पनीहरुलाई आकर्षित गरिनेछ । यो एउटा स्पेसल इकोनोमिक करिडोर हुनेछ । 

तर, प्रकृतिलाई विनाश गरेर होइन, प्रकृतिसँग मिलेर पनि एउटा आधुनिक र समृद्ध शहर बनाउन सकिन्छ भन्ने कुराको प्रमाण दिन बन्दै छ, गेलेफु माइन्डफुलनेस सिटी ।

के भुटानको यो ‘माइन्डफुल’ प्रयोग नेपालका लागि पनि सिकाइ बन्न सक्ला ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute