नेभिगेशन
3 Minute

किशोर श्रेष्ठ पक्राउमाथि किन उठ्यो प्रश्न ?

व्यक्तिको गोपनीयता उल्लंघन गरेको आरोपमा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गर्‍यो । 

बिहीबार बिहान प्रहरीले उनको पत्रिका जनआस्था साप्ताहिकको कार्यालयमा पनि छापा मारेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उनीविरुद्ध एक जनाले आफ्नो गोपनीयता हनन गरेको भन्दै उजुरी दिएका छन् । त्यही उजुरीमाथि छानबिन गर्न पत्रकार श्रेष्ठ पक्राउ परेका हुन् । 

अनि कम्प्युटरमा रहेका सामग्रीहरु अध्ययन गर्नुपर्ने भएकाले जनआस्थाको कार्यालयमा छापा मारेको प्रहरीको भनाइ छ । 

पत्रकार श्रेष्ठ पक्राउ पर्नुमा बुधबार जनआस्था साप्ताहिक र उसको फेसबुक पेजमा प्रकाशित सामाचार सामग्री मुख्य कारण रहेको छ । त्यो समाचार उपसभामुख रुवीकुमारीको बारेमा थियो । 

आफ्नो बारेमा समाचार प्रकाशित भएपछि उपसभामुख रुबीकुमारीले प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएकी छन् ।

पत्रकार श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको घटनाप्रति नेपाल पत्रकार महासंघ र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले विरोध जनाएका छन् । 

समाचारको विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिनुपर्ने तर फौजदारी कसुरमा अनुसन्धान गर्न नपाइने उनीहरुको माग छ । 

तर कतिपयले भने समाचारको नाममा व्यक्तिको गोपनीयता हनन गरेकाले प्रेस काउन्सिलले मात्र न्याय निरुपण गर्न नसक्ने धारणा राखेका छन् ।

प्रेस काउन्सिल नेपालले कुनै पनि समाचारको विषयमा चित्त नबुझेमा काउन्सिलमा नै उजुरी दिनुपर्ने बताएको छ । पत्रकार श्रेष्ठको पक्राउको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार सचेत हुनैपर्ने र प्रेसको मर्यादा कायम राख्नु पनि सबैको हुने उल्लेख गरेको छ । 

प्रहरीले पत्रकार श्रेष्ठलाई हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति मागेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute