इजिप्टले मरुभूमि खोतलेर बनाउँदैछ कृत्रिम नाइल नदी
१५ खर्ब रुपैयाँ बराबरको लगानीमा संसारलाई चकित पार्दै बनिरहेको मेगा प्रोजेक्ट ।
इजिप्ट भन्ने बित्तिकै हाम्रो दिमागमा के कुरा आउँछ, विशाल पिरामिड ? मिश्रको सभ्यता ? कि नाइल नदी ?
इजिप्टका लगभग ९५ प्रतिशत मानिसहरु संसारकै सबैभन्दा यही लामो नाइल नदीको किनार र यसको डेल्टा क्षेत्रमा बस्छन् । अन्तरिक्षबाट हेर्दा पनि देखिन्छ, चारैतिर सुक्खा मरुभूमिको बिचमा एउटा सानो हरियो धर्को, जसले करोडौं मानिसको पेट पालिरहेको छ ।
तर आज, त्यही नाइल नदी र इजिप्ट ठूलो संकटमा छन् । सन् १९९० मा ६ करोड रहेको इजिप्टको जनसंख्या आज १० करोड नाघिसकेको छ । मानिस बढे, सहरहरु फैलिए, तर खेतीयोग्य जमिन भने बढ्न सकेन । अझ सहर विस्तार हुँदा उर्वर भूमि घट्दै गयो । नतिजा ? इजिप्ट आज विश्वकै सबैभन्दा धेरै गहुँ आयात गर्ने देश बनेको छ ।
यसमाथि १९७० मा बनेको ‘अस्वान हाइ ड्याम’ले नदीको प्राकृतिक बाढी र मलिलो माटो रोक्यो । अझ छिमेकी देश इथियोपियाले माथिल्लो तटीय क्षेत्रमा बनाएको विशाल जलविद्युत् बाँधले पानीको प्रवाह घटाउने डर उत्तिकै छ ।
सम्भावित संकट बुझेरै इजिप्टले एउटा यस्तो मेगा–प्रोजेक्ट सुरु गरेको छ, जसको कल्पना पनि सामान्य मानिसले गर्नै सक्दैनन् ।
इजिप्टले वास्तवमै मरुभूमिको बीचमा एउटा ‘नयाँ नाइल’ बनाउँदैछ । यो योजनाको नाम हो, न्यू डेल्टा प्रोजेक्ट ।
यसको उद्देश्य ९ हजार २०० वर्ग किलोमिटर मरुभूमिलाई हराभरा खेतीयोग्य जमिनमा परिणत गर्नु हो । यदि यो पूरा भयो भने इजिप्टको खेतीयोग्य जमिन एकैपटक ३० प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । योसँगै १२ हजार किलोमिटर नयाँ रोड पनि बन्नेछ ।
तर, सुक्खा मरुभूमिमा यति धेरै पानी कसरी ल्याउने ? यसकै लागि बन्दैछ, नयाँ नाइल अर्थात् अल हम्माम क्यानल । यो करिब १७० किलोमिटर लामो नहर हो । यसले समुद्र्रमा फालिने कृषिमा प्रयोग भएर निस्किएको पानी, शहरको ढल र फोहोर पानीलाई जम्मा गर्छ ।
त्यसपछि त्यो पानीलाई लगिन्छ, विश्वकै सबैभन्दा ठूलो ‘वाटर ट्रिटमेन्ट प्लान्ट’मा ! त्यहाँ दैनिक लाखौं क्युबिक मिटर फोहोर पानीलाई प्रशोधन गरेर फेरि खेतीका लागि प्रयोगयोग्य बनाइन्छ ।
इन्जिनियरिङको हिसाबले यो काम सजिलो भने पटक्कै छैन । समुद्री सतहको उचाइमा रहेको पानीलाई करिब १०० मिटर माथि रहेको मरुभूमिको पठारसम्म पुर्याउनुपर्ने हुन्छ । यसका लागि १९ ठाउँमा शक्तिशाली पम्पिङ स्टेसनहरु बनाइएका छन्, जसले पानीलाई माथि धकेल्छन् ।
मरुभूमिको अत्यधिक गर्मीमा खुला नहरबाट पानी बाफ भएर नउडोस् भनेर धेरै ठाउँमा जमिनमुनिबाट ठुला–ठुला पाइपलाइनहरु बिछ्याइएको छ । अन्तरिक्षबाट खिचिएका भूउपग्रहका तस्बिरहरुले देखाउँछन् कि बालुवाका डाँडाहरुमा अहिले गोलाकार हरिया खेतहरु देखिन थालिसकेका छन् ।
प्राकृतिक स्रोतको सीमितताका बाबजुद विज्ञान र प्रविधिको प्रयोग गरेर मरुभूमिलाई पुनर्जन्म दिने इजिप्टको यो प्रयास साँच्चै अभूतपूर्व छ ।
हुन त सन् १९९० को दशकमा इजिप्टले सुरु गरेको यस्तै मरुभूमि हरियाली बनाउने योजना ‘तोष्का प्रोजेक्ट’ । मरुभूमिलाई सिंचाइ गरेर करिब ५ लाख एकडभन्दा बढी जमिन कृषियोग्य बनाउने त्यो परियोजना पानीको कम उपलब्धता, अत्यधिक गर्मीले बानी बाफ भएर जाने समस्या र अत्याधिक महँगो सञ्चालन खर्चले सेतो हात्ती बन्यो ।
त्यसैले नयाँ नाइल डेल्टा इजिप्टले इतिहासमै खेलेको सबैभन्दा ठुलो जुवा हो ।
एकातिर तीव्र गतिमा बढिरहेको जनसंख्याबीच पानीको अभाव छ भने अर्कोतिर प्रविधिको बलमा मरुभूमिलाई जित्ने जिद्दी आँट देखाइरहेको इजिप्ट ।
हजारौं वर्षअघि इजिप्टका मानिसहरुले नाइल नदीलाई नियन्त्रणमै राखेर मानव सभ्यताको विकास गरेका थिए । आज एक्काइसौं शताब्दीमा उनीहरू फेरि नयाँ इतिहास लेख्दैछन् ।
के इजिप्टको यो नयाँ नाइलले देशको भविष्य बचाउला ? या यो पनि मरुभूमिको बालुवामा बिलाएर जाने अर्को एउटा महत्त्वाकांक्षी योजना मात्र बन्नेछ ? हामी त भन्न सक्दैनौं, तर समयले पक्कै बताउनेछ ।
किशोर श्रेष्ठ पक्राउमाथि किन उठ्यो प्रश्न ?
भुटानले बनाउँदैछ भव्य र अचम्मको नयाँ शहर
को हुन् क्रिष्टियानो रोनाल्डोकी दुलही ?
बच्चाले सिटबेल्ट लगाउन नमानेपछि फ्लाइट नै क्यान्सिल !









