फेरि पक्राउ परे रवि लामिछाने

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केहीघण्टामा लामिछाने पक्राउ परेका हुन् ।
लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी बूढानीलकण्ठस्थित उनको निवासमा पुगेको थियो ।
यसअघि शुक्रबार साँझ उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो ।
सहकारीको रकम अपचालनमा रवि २ कात्तिकमा पक्राउ परेका थिए । ८४ दिन प्रहरी हिरासतमा बसेर छुटेका उनी केही दिन अगाडि मात्र दलीय जिम्मेवारीमा सक्रिय भएका थिए ।
रविलाई रुपन्देहीको सुप्रिम सहकारी रकम कानुन विपरीत गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला अदालत, रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो ।
आफूसँग एक करोड रुपैयाँ धरौटी माग्ने जिल्ला अदालत रुपन्देहीको आदेश त्रुटिपूर्ण रहेको भन्दै रविले उच्च अदालतमा निवेदन दिएका थिए । त्यस्तै सरकारी वकिल कार्यालयले भने सुप्रिम सहकारीको मुद्दामा रविलाई थुनामा नै पठाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो ।
यसअघि सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले गोर्खा मिडिया प्रालिका तत्कालिन छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने रविलाई धरौटीमा छाडेको थियो ।
सुप्रिम सहकारीबाट गोर्खा मिडिया प्रालिले करिब सवा १४ करोड रुपैयाँ ल्याएको थियो । त्यसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा आएको थियो । रविले भने आफूले कुनै पनि सहकारीमा खाता नखोलेको र आफैंले हस्ताक्षर गरेर ऋण नलिएको बताउँदै आएका छन् ।
उच्च अदालतले रविलाई थुनामा नै पठाउनुपर्ने तीन वटा कारण दिएको छ ।
१. रविले थाहा छैन भन्न पाउँदैनन्
उच्च अदालतले सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालिमा लैजानु गैरकानुनी भएको कुरा रवि लामिछानेले थाहा थिएन भन्न नपाउने उल्लेख गरेको छ ।
रविसमेतको संगठित मिलेमतोमा सुप्रिम सहकारीको पैसा गोर्खा मिडिया प्रालिमा लगेको इजलासको ठहर रहेको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
रवि लामिछाने गोर्खा मिडिया प्रालिका कर्मचारी मात्र नभई शेयरधनी र प्रबन्ध निर्देशक समेत भएकाले उनको जानकारी, योजना र सक्रियता बिना सहकारीको रकम लैजान सम्भव नहुने आदेशमा उल्लेख छ ।
‘यी प्रतिवादी कर्मचारी नभई सञ्चालक, शेयरधनी र प्रबन्ध निर्देशक रहेको देखिएको र निजले चेक काटी आर्थिक कारोबार गरेकामा सहकारीबाट के कसरी रकम आएको हो थाहा नभएको भनी वयान दिएको र अरुलाई दोष थुपार्ने गरी दिएको अभिव्यक्ति प्रथम दृष्टिमा नै पत्यारलायक देखिँदैन’, आदेशमा भनिएको छ ।
२. रविकै हस्ताक्षरको चेकबाट गोर्खा मिडियाले सुप्रिमलाई पैसा तिरेको देखियो
गोर्खा मिडिया प्रालिले सुप्रिम सहकारीबाट लगेको रकममध्ये ४० लाख ९२ हजार रुपैयाँ फिर्ता गरेको थियो । त्यो रकम सन् २०२२ को जनवरी ६ मा ग्लोबल आईएमई बैंकमा रहेको सुप्रिम सहकारीको खातामा तिरेको थियो ।
गोर्खा मिडियाले सुप्रिमलाई पैसा तिर्न रवि लामिछानेले नै हस्ताक्षर गरेको चेक प्रयोग गरेको थियो । त्यसैले उनले सुप्रिमबाट ऋण लिएको बारे थाहा पाइन भन्न नमिल्ने उच्च अदालतको निष्कर्ष छ ।
३. प्रमाण बुझ्ने काम बाँकी नै छ
सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा सहकारीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ र लेखापरीक्षक विशेष बिगु आचार्य हाल पुर्पक्षका लागि थुनामा छन् ।
उच्च अदालतले थुनामा रहेकाहरुको बकपत्र बाँकी नै रहेको र यो मुद्दामा प्रमाण बुझ्ने काम नसकिएकाले रविलाई छाड्न नमिल्ने उल्लेख गरेको छ ।
अन्तिममा उच्च अदालतले सहकारीमा सर्वसाधारणले जम्मा पारेको लाखौं रकम हिनामिना भएको संवेदनशील परिस्थितिमा न्यायप्रणालीप्रति जनविश्वास जगाउन पनि रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने उल्लेख गरेको छ ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
