सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म नेपालमा हुने सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने बताएका छन् ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर शनिबार थाइल्याण्डको बैंककबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गरेका थिए ।
उनले बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा सगरमाथा संवादमा आउन नभ्याउने जानकारी गराएको बताए ।
‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । उहाँको पहिले नै युरोप जाने तय भइसकेको रहेछ । त्यो कार्यक्रम सेट भइसकेको हुनाले उहाँले बदल्न सक्ने अवस्था नभएको बताउनुभयो’, ओलीले भने ।
जलवायु परिवर्तनको मुद्दामा विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ । त्यसमा धेरै देशका प्रतिनिधिहरु सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीका अनुसार भारतीय प्रधानमन्त्री मोदी सहभागी नभए पनि भारतबाट ‘राम्रै स्तरमा प्रतिनिधित्व’ हुनेछ ।
‘मोदीसँग फ्रेण्डली कुराकानी’
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनका क्रममा शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरेका थिए । ‘हामीले फ्रेण्डली कुराकानी गर्यौं, राम्रै कुराकानी भयो’, उनले भने ।
भेटका क्रममा पारस्परिक सहयोग, लगानी र व्यापारका क्षेत्र, नेपालको दोधरा–चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने लगायतका थुप्रै कुराहरु भएको प्रधानमन्त्री ओलीले बताए ।
‘हामीले एउटा अठोट गरेका छौं कि, नेपाल भारत सम्बन्धलाई व्यापक, विस्तृत गर्दै लाने, सानातिना समस्या देखिए भने आपसमा कुराकानी गरिहाल्ने सल्लाह भएको छ’, ओलीले भने, ‘फलदायी भेटघाट भयो, म खुशी छु । उहाँको कुराकानीबाट उहाँ पनि खुशी हुनुहुन्छ भन्ने पाएको छु ।’
प्रधानमन्त्री ओलीले यसअघि अमेरिकामा सन् २०२४ को सेप्टेम्बरमा अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाँदा पनि भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए ।
तर प्रधानमन्त्री भएको ९ महिनासम्म उनी भारतको औपचारिक भ्रमणमा भने गएका छैनन् । उनलाई भारतले भ्रमणको निमन्त्रणा नै दिएको छैन । बरु उनले यस अवधिमा चीन र थाइल्याण्डको औपचारिक भ्रमण गरेका छन् ।

रवीन्द्र मिश्र र दुर्गा प्रसाईं थप ७ दिन हिरासतमा रहने

ललितपुरले जित्यो एनएसएलको उपाधि

देउवा बैंककमा हुँदैमा ओलीको फोन

सर्वोच्चको आदेश : आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्काउनू

डाक्टरहरुले भेटे स्वास्थ्यमन्त्री, तर आन्दोलन रोक्न अस्वीकार
