नेभिगेशन
कर्पोरेट

कुमारी बैंक पीसीएएफमा आवद्ध 

कुमारी बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) मा आवद्ध भएको छ ।

पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिक रुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ । यो कदमले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउने बैंकले जनाएको छ । 

पीसीएएफमा आबद्ध भएर कुमारी बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ । 

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्दछ । 

यसको बढ्दो विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दछ ।

पीसीएएफ सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको हो । हाल ७०० भन्दा बढी वित्तीय संस्थाहरू पीसीएएफमा आबद्ध भइसकेका छन् । 

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा हो । 

वित्तीय गतिविधिसँग सम्बन्धित कार्बन उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन, तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन सहयोग पुग्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट