बालेनका स्वकीय सचिव र नगर प्रहरी प्रमुखलाई कारबाही गर्न कर्मचारीको माग

काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले महानगर प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न र मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न माग गरेका छन् ।
महानगरपालिकामा क्रियाशील पाँचवटा कर्मचारी संघ संगठनले बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा कर्मचारीहरुले गत चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयमा मर्यादाविपरीत, अनुशासनहीन र गैरकानुनी काम भएको भन्दै यो घटनाको छानबिन गर्न समिति गठनको माग गरेका छन् ।
चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौं महानगरपालिकामा हाजिर गर्न आएका थिए त्यस क्रममा नगर प्रहरी बल उनलाई रोक्न लागेको थियो भने कर्मचारी र जनप्रतिनिधिको एक समूह उनलाई जसरी पनि हाजिर गराउन लागेको थियो ।
त्यतिबेला दुईपक्षबीच धकेलाधकेलकै स्थिति आएको थियो । कर्मचारीहरुले उक्त घटनाको छानबिनका लागि ३ दिनभित्र अधिकार सम्पन्न समिति गठनको माग गरेका छन् ।
मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले त्यस दिन सार्वजनिक सञ्चार माध्यममा उपप्रमुख र जनप्रतिनिधिलाई लाञ्छना लगाउने गरी अभिव्यक्ति दिएको भन्दै कर्मचारीहरुले उनलाई पनि कारबाहीको माग गरेका छन् ।
बालेनका स्वकीय सचिव शाहले प्रमुख प्रशासकीय अधिकृतले गरेको भ्रष्टाचारको जिम्मा उपप्रमुख र वडाध्यक्षहरुले पनि लिनुपर्ने भनी सञ्चार माध्यमहरुलाई प्रतिक्रिया दिएका थिए ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, महानगर कर्मचारी परिषद, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले बिहीबार निकालेको विज्ञप्तिमा नगर प्रमुख बालेन शाहको सचिवालयले कर्मचारीबारे अफवाह फैलाउने र धम्की दिने काम गरेको भन्दै आपत्ति जनाइएको छ ।
जसमा बालेनको सचिवालयका कर्मचारी र सल्लाहकारले कर्मचारीलाई असहयोग गर्ने, कर्मचारीप्रति वितृष्णा जगाउने र कर्मचारीबारे अफवाह फैलाउने गरेको आरोप पनि लगाइएको छ ।
‘...अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, तयस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यवहारिक रुपमा नै अन्त्य गरियोस्’, पाँच कर्मचारी संगठनले निकालेको विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरुले काठमाडौं टावरको नक्सापास प्रक्रियासम्बन्धी घटनाको छनाबिनका लागि अर्को निष्पक्ष छानबिन समिति बनाउन पनि माग गरेका छन् ।
हेर्नुहोस् कर्मचारीहरुको ज्ञापनपत्र

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
