युनिटीका ७ सञ्चालकलाई साढे २ वर्ष कैदको फैसला
ठगीको वास्तविक रकम पत्ता लगाउन सूचना निकाल्न आदेश

युनिटी लाइफ इसुरेन्सको ठगी प्रकरणमा सर्वोच्च अदालतले ७ जना सञ्चालकलाई जनही साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले काशीराम गुरुङ, भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी र विष्णुबहादुर केसीलाई जनही साढे २ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो ।
त्यस्तै युनिटीका महाप्रबन्धक शिशिर योगी अर्का कर्मचारी विश्वनाथ गौतमलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
युनिटीका सञ्चालक विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले उनको कैद र जरिवाना कट्टा गर्ने फैसला भएको छ ।
सर्वोच्च अदालतका अनुसार युनिटी लाइफ इन्सुरेन्समा सञ्चालकहरुले कति ठगी गरेको भन्ने यकिन भएको छैन । ठगी यकिन गर्न फैसला भएको मितिले तीन महिनाभित्र राष्ट्रिय स्तरको पत्रिकामा ३ पटकसम्म ७/७ दिनको फरकमा सूचना प्रकाशन गर्न पनि आदेश दिएको छ ।
यसरी सूचना प्रकाशन भएपछि युनिटीबाट ठगिएकाहरुले आफ्नो ठगिएको रकम प्रमाणसहित दाबी गर्ने र त्यही आधारमा बिगो यकिन गरिने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
बिगो यकिन भएपछि युनिटीको रोक्का रहेको सम्पत्तिबाट भराउने उनको भनाइ छ ।
उनका अनुसार यो फैसला कार्यान्वयनका लागि सहजीकरण गर्न सर्वोच्चले फैसला कार्यान्वयन निर्देशनालयलाई आदेश दिएको छ ।
के थियो युनिटी लाइफको मुद्दा ?
युनिटी लाइफ इन्सुरेन्सको नाममा नेटवर्किङ व्यवसाय गरेर ठगी गरेको भन्दै सञ्चालकविरुद्ध २०६७ साल फागुनमा पाटन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो ।
३ लाख ६८ हजार ७१० जनालाई सदस्य बनाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो । तीमध्ये ४ हजार १४४ जनाले युनिटीले नेटवर्किङको नाममा ठगी गरेको भनेर उजुरी दिएका थिए ।
यो मुद्दामा ११२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो । जमसध्ये ३१ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये २३ जनालाई थुनामा पठाएको थियो भने ८ जना धरौटीमा छुटेका थिए । युनिटीले ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गरेको विवरण प्रहरीले संकलन गरेको थियो ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
