नेभिगेशन
3 Minute

रवि थुनामा परेपछि रास्वपाले सार्‍यो महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाखको २५, २६ र २७ गते तोकेको महाधिवेशन फागुनमा सारेको छ । 

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेपछि रास्वपाले महाधिवेशन सारेको हो । 

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति आगामी फागुनको ७, ८ र ९ गतेलाई तोकेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको आरोपमा उच्च अदालतको बुटवल इजलासले रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । 

अदालतको आदेशपछि सभापति लामिछाने गत चैत २५ गते रुपन्देही कारागारमा चलान भएका छन् । 

गत असोजमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले नै २०८२ वैशाखमा महाधिवेशन गर्ने मिति तोकेका थिए । 

तर अहिले तयारी नपुगेको र  सभापति लामिछानेको उपस्थिति हुने वा नहुने निश्चित नभएकाले महाधिवेशन सारिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

महाधिवेशनअघि रास्वपाले ०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन गर्ने क्यालेण्डर पारित गरेको छ । 

कार्यबाहक महामन्त्री बुर्लाकोटीका अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्ला मा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सापटै प्रदेशमा समिति गठन भएको छ।

रास्वपाले ७ प्रदेशको इन्चार्जहरु पनि तोकेको छ । कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा लीमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल इन्चार्ज रहनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute