ओली, देउवा र प्रचण्डबीच के भयो कुराकानी ?

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले संविधान र यसको उपलब्धी जोगाउन गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिने सहमति गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेट भएको थियो ।
भेटमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयन खलल पुर्याउनेप्रति सचेत भएर अघि बढ्ने सहमति भएको भेटमा सहभागी प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
उनका अनुसार संविधानको उपलब्धी जोगाउन प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।
भेटमा तीन नेताका साथै खरेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । नेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी चयनको विषयमा पनि छलफल भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको पदाधिकारीहरु सिफारिसका लागि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
प्रधानमन्त्रीका सल्लाहकार खरेलका अनुसार आयोगको क्यालेण्डर र हालसम्म भएको प्रगतिको विषयमा छलफल भएको छ ।
‘सिफारिस समितिले संविधान र कानुन बमोजिम काम गरिरहेको छ । जे भइरहेको छ, ठीकै ढंगले अगाडि बढिरहेको छ’, उनले भने ।
चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न मिश्र नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिले २ महिनाभित्र आयोगका पदाधिकारी सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यसअघि मिश्र नेतृत्वकै समितिले संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस नगरी २ महिना समय गुजारेको थियो । पछि सरकारले पुनः उनकै नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
