एमसीसी कार्यक्रम बन्द, नेपाललाई छैन जानकारी
अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका सहायताका कार्यक्रमहरु बन्द गर्ने तयारी गरेको छ । इलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) ले एमसीसीको सहयोग कटौती गर्ने जानकारी कर्मचारीहरुलाई दिएको छ ।
गत मंगलबार एमसीसीका कर्मचारीलाई इमेल पठाएर छिट्टै कर्मचारी र कार्यक्रममा ठूलो कटौती हुन सक्ने जानकारी गराइएको छ । जानकार स्रोतका अनुसार कर्मचारीहरुलाई आगामी मे ५ देखि बिदामा राख्न सक्ने सम्भावना छ । कर्मचारी कटौतीमा हालका कार्यबाहक सीईओसहित सबै कर्मचारी पर्न सक्ने सम्भावना छ ।
एमसीसीका कर्मचारीलाई दुईवटा अप्सन दिइएको छ । एउटा निश्चित इन्सेन्टिभ लिएर तत्कालै जागिर छाड्ने । अर्को आगामी सेप्टेम्बरसम्म बिदामा बस्ने र त्यसपछि मात्र तलब पाउने ।
कर्मचारीहरुलाई आउँदो मंगलबारसम्म दुईमध्ये एउटा योजना छनोट गर्न भनिएको छ ।
अमेरिकी सरकारको यो कदमपछि नेपालमा चलिरहेको एमसीसी परियोजना झनै अन्योलमा धकेलिएको छ ।
अमेरिकी सरकारले नेपालको एमसीसी परियोजना कटौती गर्छ कि निरन्तरता दिन्छ भन्ने निश्चित छैन । अमेरिकाले गरेको पछिल्लो निर्णयबारे अहिलेसम्म नेपाल सरकारलाई कुनै आधिकारिक जानकारी छैन ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार एमसीसी सहायताबारे नयाँ कुनै जानकारी आएको छैन । ‘यसअघि मे १९ सम्म परियोजनालाई नियमित काम गर्न भनिएको हामीलाई जानकारी छ, अहिले नयाँ कुनै जानकारी आएको छैन’, उनी भन्छन् ।
एमसीसी परियोजना कार्यान्वयन गरिररहेको एमसीए नेपालले पनि कुनै नयाँ सूचना पाएको छैन । त्यसैले अमेरिकी सरकारको यो निर्णयबारे नेपालमा अन्योल कायम छ ।

अर्थ मन्त्रालय संसदबाट अनुमोदन नै भएको सम्झौता भएकाले अमेरिकाले एमसीसी सहायता नरोक्नेमा आशावादी छ । एमसीएका अधिकारीहरु भने एमसीसी परियोजनाको सहायता कायम नै रहेपनि सहयोग सानो आकारमा मात्रै रहनसक्ने बताउँछन् ।
२०८० को भदौ महिनाबाट ५ वर्षे अवधि तोकेर सुरु भएको यो परियोजना अहिलेसम्म प्रसारणलाइनका लागि जग्गा प्राप्तिको प्रारम्भिक प्रक्रियामै अलमलिएको छ ।
धेरै जिल्लामा जग्गाको मूल्यांकन समेत सकिएको छैन । वन मन्त्रालयबाट अनुमति लिएर रुख कटानको काम सुरु भएको छैन । २१६ किलोमिटर प्रसारणलाइन र ३५ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी छ
बल्लतल्ल ३ वटा सबस्टेसन र १८ किलोटिमर प्रसारण लाइनको ठेक्का लागेको छ । पूर्वपश्चिम राजमार्गको दाङको धानखोलादेखि लमहीसम्मको सडक स्तरोन्नती गर्ने कामको ठेक्का लागेकै छैन ।
यदि अमेरिकी सरकारले सहायता रद्ध गरेमा सरकारले आफ्नै स्रोतबाट यो परियोजनामा ठूलो लगानी लगाउनुपर्ने अवस्था आउनसक्छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी कंग्रेसले सन् २००४ मा स्थापना गरेको थियो । निश्चित समयभित्र पैसा खर्च गरिसक्नुपर्ने गरी अमेरिकाले विकासशील देशमा अनुदान दिने गरेको थियो । एमसीसीको अनुदान कार्यक्रम अहिले २० देशमा चलिरहेको छ ।
नेपालले लामो गृहकार्यपछि २०७४ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर गरेको थियो । त्यसलाई संसदबाट अनुमोदन गराउनुअघि नेपालमा ठूलो राजनीतिक विवाद भएको थियो ।
१२ बुँदे ब्याख्यात्मक घोषणासहित १५ फागुन २०७८ मा एमसीसी सम्झौता अनुमोदन भएको थियो । यसअनुसार परियोजना ठेक्का प्रक्रियामा गएको थियो ।
यसमा अमेरिकाले ५५० मिलियन अमेरिकी डलर अर्थात करिब ७६ अर्ब रुपैयाँ बराबरको सहायता दिने तय थियो । नेपालले आफ्नो करिब २७ अर्ब बराबर खर्च गर्दैछ ।
तर डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार सम्हालेकै दिन २० जनवरी २०२५ मा एमसीमसी अनुदान कार्यक्रम ९० दिनका लागि स्थगन गरे । त्यसअनुसार एमसीसीले नेपालको अर्थ मन्त्रालयलाई पत्र पठाएर आफ्नो अनुदान पनि ९० दिनका लागि रोकिएको जानकारी गराएको थियो ।
चैत ६ मा अर्को पत्र पठाएर एमसीसीले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका महत्वपूर्ण खरिद र कार्यालय सञ्चालनसम्बन्धी कामहरु अघि बढाउन अनुमति दिएको थियो ।
एमसीसीको हेडक्वार्टरमा भएको उथलपुथलपछि नेपालमा ३१६ किलोमिटरको ४०० केभी प्रसारणलाइन, ३ वटा सबस्टेसन र ३५ किलोमिटर राजमार्ग स्तरोन्नतीको परियोजनाको भविष्य संकटमा पर्ने देखिएको छ ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




