नेभिगेशन
अर्थतन्त्र

नेपालमै उत्पादन हुनेछ क्याम्पा कोला, कोक र पेप्सीसँग प्रतिस्पर्धा


भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स ग्रुपले नेपालको उत्पादनमूलक उद्योगमा लगानी गरेको छ । 

नेपालका अर्बपति व्यापारी विनोद चौधरीको चौधरी ग्रुपसँगको सहकार्यमा रिलायन्सले अब नेपालमै क्याम्पा कोलासहितका सफ्ट ड्रिंक्स उत्पादन गर्नेछ । 

रिलायन्स र चौधरी ग्रुपको संयुक्त लगानीमा अब मकवानपुरको मनहरीमा क्याम्पाका सफ्ट ड्रिंंक्सहरु उत्पादन हुनेछन् । 

सीजी र रिलायन्सको संयुक्त कम्पनीले मकवानपुरको मनहरीमा रहेको भेन्चुरा बोटलर्स प्रालि उद्योग नै किनेको छ । 

भेन्चुराले अमेरिकाको रोयल क्राउन कोलो इन्टरनेशनलको आरसी कोलाको फ्रेन्चाइज लिएर २०७७ सालदेखि उत्पादन सुरु गरेको थियो । तर कोराना महामारीको समयमा लामो समय लकडाउन भएपछि यो उद्योग संकटमा परेको थियो । 

बैंकको ऋणले उद्योग समस्यामा पर्दै गएपछि सञ्चालकहरु सुवास आचार्य र कविन अर्यालले यसलाई ७५ करोड रुपैयाँमा बिक्री गरेको बताइएको छ ।

सोमबार रिलायन्स र चौधरी ग्रुपले सहकार्यको घोषणा गरेको छ । साथै क्याम्पाको उत्पादन पनि लन्च गरिएको छ ।

क्याम्पाले नेपाली बजारमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उत्पादन गर्नेछ । 

नेपालमा २५० एमएलको क्याम्पा कोला, क्याम्पा अरेन्ज र क्याम्पा लेमनको मूल्य ३० रुपैयाँ पर्नेछ । 

क्याम्पा इनर्जी बेरी किक २५० एमएलको ४० रुपैयाँ पर्नेछ । 

भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स ग्रुपको क्याम्पा कोलाले भारतीय बजारमा कोक र पेप्सीलाई टक्कर दिएको छ ।

क्याम्पा कोला भारतमा सन् १९७० र ८० को दशकमा निकै प्रख्यात सफ्ट ड्रिंक्स हो । तर जब सन् १९९० मा कोकाकोला र पेप्सीले भारतमा प्रवेश गरे, तब यसको ब्यापार खस्किँदै गयो । 

बन्द हुने अवस्थामा पुगेको क्याम्पालाई रिलायन्सले सन् २०२२ मा किनेको थियो । त्यसपछि सन् २०२३ देखि उत्पादन सुरु गरेको थियो । यो तीन वर्षको बीचमा क्याम्पाले भारतमा निकै राम्रो ब्यापार विस्तार गरिसकेको छ । अहिले यसले भारतको सफ्ट ड्रिंक्स बजारमा १० प्रतिशत हिस्सा बनाएको छ । 

भारतसँगै खाडी मुलुकहरु युएई, ओमान, बहराइन र कतारमा पनि क्याम्पाकोला बिक्री हुँदै आएको छ । 

अब नेपालमा नै उत्पादन हुने भएपछि क्याम्पा कोलाको मुख्य प्रतिस्पर्धा कोक र पेप्सीसँगै हुनेछ । 

किनकी चौधरी ग्रुपको वाइवाइ चाउचाउसहितका विभिन्न खाद्य तथा पेय पदार्थ बिक्रीका लागि आफ्नै बृहत सञ्जाल छ । चौधरी ग्रुप २०२ भन्दा बढी कम्पनी र २६१ ब्राण्डको माध्यमबाट नेपाल र ग्लोबल मार्केटमा पुगिरहेको छ । अब त्यही सञ्जालमा क्याम्पाको उत्पादन पनि पुग्नेछ । 

रिलायन्स कन्जुमर प्रडक्टका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुपसँगको सहकार्यमा नेपाली बजारमा प्रवेश गर्न पाउँदा हर्षित भएको बताएका छन् । 

उनले आफूहरुले यस क्षेत्रमा ब्यापार विस्तारको सम्भावना देखेर लामो समयका लागि लगानी गरेको बताए । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वकै अग्रणी ब्राण्ड रिलायन्सलाई नेपाल ल्याउन पाउँदा गौरव लागेको बताएका छन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र