नेपालमै उत्पादन हुनेछ क्याम्पा कोला, कोक र पेप्सीसँग प्रतिस्पर्धा
भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स ग्रुपले नेपालको उत्पादनमूलक उद्योगमा लगानी गरेको छ ।
नेपालका अर्बपति व्यापारी विनोद चौधरीको चौधरी ग्रुपसँगको सहकार्यमा रिलायन्सले अब नेपालमै क्याम्पा कोलासहितका सफ्ट ड्रिंक्स उत्पादन गर्नेछ ।
रिलायन्स र चौधरी ग्रुपको संयुक्त लगानीमा अब मकवानपुरको मनहरीमा क्याम्पाका सफ्ट ड्रिंंक्सहरु उत्पादन हुनेछन् ।
सीजी र रिलायन्सको संयुक्त कम्पनीले मकवानपुरको मनहरीमा रहेको भेन्चुरा बोटलर्स प्रालि उद्योग नै किनेको छ ।
भेन्चुराले अमेरिकाको रोयल क्राउन कोलो इन्टरनेशनलको आरसी कोलाको फ्रेन्चाइज लिएर २०७७ सालदेखि उत्पादन सुरु गरेको थियो । तर कोराना महामारीको समयमा लामो समय लकडाउन भएपछि यो उद्योग संकटमा परेको थियो ।
बैंकको ऋणले उद्योग समस्यामा पर्दै गएपछि सञ्चालकहरु सुवास आचार्य र कविन अर्यालले यसलाई ७५ करोड रुपैयाँमा बिक्री गरेको बताइएको छ ।
सोमबार रिलायन्स र चौधरी ग्रुपले सहकार्यको घोषणा गरेको छ । साथै क्याम्पाको उत्पादन पनि लन्च गरिएको छ ।
क्याम्पाले नेपाली बजारमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उत्पादन गर्नेछ ।
नेपालमा २५० एमएलको क्याम्पा कोला, क्याम्पा अरेन्ज र क्याम्पा लेमनको मूल्य ३० रुपैयाँ पर्नेछ ।
क्याम्पा इनर्जी बेरी किक २५० एमएलको ४० रुपैयाँ पर्नेछ ।
भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स ग्रुपको क्याम्पा कोलाले भारतीय बजारमा कोक र पेप्सीलाई टक्कर दिएको छ ।
क्याम्पा कोला भारतमा सन् १९७० र ८० को दशकमा निकै प्रख्यात सफ्ट ड्रिंक्स हो । तर जब सन् १९९० मा कोकाकोला र पेप्सीले भारतमा प्रवेश गरे, तब यसको ब्यापार खस्किँदै गयो ।
बन्द हुने अवस्थामा पुगेको क्याम्पालाई रिलायन्सले सन् २०२२ मा किनेको थियो । त्यसपछि सन् २०२३ देखि उत्पादन सुरु गरेको थियो । यो तीन वर्षको बीचमा क्याम्पाले भारतमा निकै राम्रो ब्यापार विस्तार गरिसकेको छ । अहिले यसले भारतको सफ्ट ड्रिंक्स बजारमा १० प्रतिशत हिस्सा बनाएको छ ।
भारतसँगै खाडी मुलुकहरु युएई, ओमान, बहराइन र कतारमा पनि क्याम्पाकोला बिक्री हुँदै आएको छ ।
अब नेपालमा नै उत्पादन हुने भएपछि क्याम्पा कोलाको मुख्य प्रतिस्पर्धा कोक र पेप्सीसँगै हुनेछ ।
किनकी चौधरी ग्रुपको वाइवाइ चाउचाउसहितका विभिन्न खाद्य तथा पेय पदार्थ बिक्रीका लागि आफ्नै बृहत सञ्जाल छ । चौधरी ग्रुप २०२ भन्दा बढी कम्पनी र २६१ ब्राण्डको माध्यमबाट नेपाल र ग्लोबल मार्केटमा पुगिरहेको छ । अब त्यही सञ्जालमा क्याम्पाको उत्पादन पनि पुग्नेछ ।
रिलायन्स कन्जुमर प्रडक्टका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुपसँगको सहकार्यमा नेपाली बजारमा प्रवेश गर्न पाउँदा हर्षित भएको बताएका छन् ।
उनले आफूहरुले यस क्षेत्रमा ब्यापार विस्तारको सम्भावना देखेर लामो समयका लागि लगानी गरेको बताए ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वकै अग्रणी ब्राण्ड रिलायन्सलाई नेपाल ल्याउन पाउँदा गौरव लागेको बताएका छन् ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




