सीजी ग्रुपको अर्को साझेदारी, बिकाजीका भुजिया अब नेपालमै उत्पादन
भारतको रिलायन्स ग्रुपलाई नेपाल ल्याएको १५ दिन पनि नबित्दै उद्योगी विनोद चौधरीको सीजी ग्रुपले अर्को भारतीय ब्राण्डलाई नेपाल भित्र्याएको छ ।
सीजीले भारतको चर्चित तयारी खाद्य परिकार ब्राण्ड बिकाजीसँग साझेदारी गरेर नेपालमै भुजिया, नमकिन, स्न्याक्स, पापड र प्याकेट स्वीट उत्पादन र बिक्री गर्न लागेको हो ।
यसका लागि बिकाजी फुड इन्टरनेशनल र चौधरी ग्रुप सीजी फुड्सको ५०–५० प्रतिशतको साझेदारीमा अर्को ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरिएको छ ।
यो कम्पनीले चौधरी ग्रुपको नेतृत्वमा नेपालमा बिकाजीका प्रडक्टहरुको उत्पादन र प्याकेजिङ युनिट स्थापना हुनेछ ।
नेपालमा तयारी खाद्य परिकारको बजार दिन प्रतिदिन बढ्दै गइरहेको छ । शहरी जनसंख्याको वृद्धि भइरहेका कारण हरेक वर्ष नेपालमा तयारी खाद्य परिकारको बजार २० प्रतिशतका दरमा बढिरहेको अनुमान छ ।
त्यसैले यो क्षेत्रमा ठूला लगानी पनि आइरहेका छन् । सीजीले बिकाजीसँग साझदारीमा उद्योग स्थापना गरेर नेपालमा तयारी खाद्य परिकारको बढ्दो बजारको लाभ उठाउन लागेको हो ।
बिकाजीसँग तयारी खाद्य वस्तु उत्पादनको लामो अनुभव छ भने सीजीसँग नेपाली बजारमा ठूलो सप्लाइ चेन र नेपाली उपभोक्ता बारेको बलियो बुझाइ छ ।
बिकाजी फुड इन्टरनेशनलका म्यानेजिङ डिरेक्टर दीपक अग्रवालका अनुसार यो साझेदारीले विश्वभर पुग्ने बिकाजीको योजनालाई थप सहयोग गर्ने बताए ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यो साझेदारीले नेपालमा विश्वस्तरीय नयाँ ब्राण्डलाई नेपालमा विस्तार गर्ने चौधरी ग्रुपको योजनामा थप मद्दत पुगेको बताए । यसले नेपालमा लामो समयका लागि रोजगारी सिर्जना गर्ने पनि बताएका छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी नेतृत्वको चौधरी ग्रुपले हाल ३५ देशमा २०० भन्दा बढी कम्पनी सञ्चालन गरिरहेको छ ।
चौधरी ग्रुप तयारी खाद्य पदार्थ उत्पादन, होटल, शिक्षा, वित्तीय संस्था र अटोमोवाइल जस्ता क्षेत्रको व्यापारमा संलग्न छ । चौधरी ग्रुपको विश्वव्यापी फैलिएको नेपाली उत्पादन वाइवाइ चाउचाउ हो ।
बिकाजी फुड्सका संस्थापक शिवरतन अग्रवालले सन् १९८६ मा भारतमा भुजिया उत्पादन सुरु गरेका थिए । त्यतिबेलासम्म भारतमा भुजियाहरु ठूला उद्योगहरुले उत्पादन गर्ने वस्तु नै मानिदैनथ्यो ।
सुरुमा अर्कै नामबाट भुजिया बिक्री गर्दै आएका शिवरतनले बिकाजी ब्राण्डमा आफ्ना उत्पादन बजारमा ल्याउन थालेको भने सन् १९९३ देखि हो ।
अहिले बिकाजी तयारी खाद्य पदार्थमा भारतकै तेस्रो ठूलो ब्राण्ड मानिन्छ । यसका उत्पादन विश्वभरका २५ भन्दा बढी देशमा बिक्री भइरहेका छन् । विश्वभर बिकाजी आधिकारिक इन्डियन स्वादको खाद्य उत्पादनको रुपमा परिचित छ ।
सन् २०१९ देखि भारतीय अभिनेता अमिताभ बच्चन बिकाजीको ब्राण्ड एम्बेसडर छन् ।
नेपाली बजारमा अहिले पनि बिकाजीका तयारी खाद्य परिकारहरु प्रशस्त पाइन्छ । अहिले भारतबाट आयात गरिने बिकाजीका भुजिया, नमकिन, स्न्याक्स, पापड र प्याकेट स्वीट्सहरु अब नेपालमै उत्पादन हुनेछ । नेपालमा उत्पादन भएपछि यसको मूल्य अहिले भन्दा घट्छ वा बढ्छ भन्नेबारे उद्योगले केही जानकारी दिएको छैन ।
यद्यपि नेपालमा बिक्री हुने खाद्य वस्तु नेपालमा नै उत्पादन हुनु राम्रो कुरा हो, त्यसले देशभित्रै रोजगारी सिर्जना गर्नेछ र खाद्य परिकार उत्पादनमा नेपालको दक्षता पनि बढाउनेछ ।
यसअघि गत असार अन्तिम हप्ता चौधरी ग्रुपले भारतको रिलायन्स ग्रुपलाई नेपाल ल्याइसकेको छ । दुई अर्बपतिको साझेदारीमा नेपालमा क्याम्पा कोलासहितका सफ्ट ड्रिंक्स उत्पादन गर्ने तयारी छ ।
त्यसका लागि मकवानपुरको मनहरीमा रहेको भेन्चुरा बोटलर्स प्रालिको अचल सम्पत्ति खरिद गरिसकेको छ ।

घरजग्गाको मूल्य आधासम्म घटिसक्यो, अझै घट्न सक्छ
-1753629084.jpeg)
पूर्वाधारका कारण फर्किन सक्छ लोडसेडिङ

रसुवागढीमा बेलिब्रिज बन्दै, दशैंअघि नै नाका खुल्ने

एनसेलको गैरकानुनी चिठ्ठा, सरकारले गरायो बन्द
