एनसेलको गैरकानुनी चिठ्ठा, सरकारले गरायो बन्द
पछिल्लो महिनामा एनसेलले आफ्नो नयाँ ‘करोडपति’ योजनाको खुबै प्रचार गर्यो । सञ्चार माध्यमदेखि होर्डिङ बोर्डसम्म । सामाजिक सञ्जालदेखि अनलाइन प्लाटफर्महरुसम्म ।
तर साउन १ एनसेलले एकाएक योजना स्थगनको घोषणा गर्यो । बम्पर पुरस्कार नै घोषणा नगरी अफर बन्द गरिएपछि धेरैले अनौठो मानेका थिए । तर विवादका कारण एनसलले यो योजना बन्द गरेको खुलेको छ ।
हो, कानुन विपरीत भएको ठहर गर्दै सरकारले नै एनसेलको करोडपति योजना बन्द गर्न भनेको हो । पछिल्लो समयमा मोबाइल सेवा प्रदायकले प्याकका नाममा डटा सेवा महँगो बनाउँदै लगेका छन् । घट्नुपर्ने मूल्य बढाउँदै ग्राहकलाई तीनै महँगा प्याकहरु अनावश्यक रुपमा खरिद गराउने गरी चिठ्ठाको शैलीमा एनसेलले योजना ल्याएको थियो ।
असार १ देखि एनसेलले १२ हप्तासम्म चल्ने गरी ‘सधैँ अन करोडपति’ योजना ल्याएको थियो । जसमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा–जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिने ग्राहकलाई अफरहरु गरिएको थियो । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर दिइँदै थियो ।
यो योजना चौंथो हप्तासम्म चल्यो । १२ हप्तापछि बम्परमा एक जनालाई एक करोड दिने योजना समेत थियो ।
तर, एनसलले साउनदेखि यो योजना बन्द गर्यो । कारण थियो, कानुनको उल्लंघन । एनसेलले चिठ्ठा ऐन २०२५ र चिठ्ठा नियमावली २०२७ को व्यवस्थाहरु उल्लंघन गर्दै यो योजना चलाएको थियो ।
नेपाल सरकारले अनुमित दिएकोमा बाहेकको अवस्थामा चिठ्ठा खोल्न पाइन्न । यसलाई प्रकाशन, प्रचार र विज्ञापन गर्न पनि पनि पाइन्न । गृह मन्त्रालय र स्थानीय जिल्ला प्रशासन कार्यालयको अनुमतिमा कुनै परोपकारी कामका लागि मात्रै चिठ्ठा योजना चलाउन पाइन्छ । कानुन विपरीत चिठ्ठा खोलेमा बिगोअनुसार जरिवना र ६ महिनासम्म जेल सजायको व्यवस्था छ ।
तर एनसेलको योजना कुनै परोपकारी कामका लागि थिएन । अनि सरकारसँग अनुमति नलिई चिठ्ठा कार्यक्रम चलाएको थियो । उपहार योजनाबारे दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएपनि अनुमति लिएको थिएन ।
त्यही कारण दूरसञ्चार प्राधिकरणले पत्र नै पठाएर एनसेललाई गैरकानुनी गतिविधि गरेकोबारे चासो राखेको थियो । चिठ्ठा ऐन र नियमावली विपरीत चलिरहेको योजना बन्द गर्न समेत भनेको थियो ।
यसपछि एनसेलले चौंथो हप्तामै करोडपति योजना बन्द गरेको छ । अहिलेसम्म साप्ताहिक रुपमा घोषणा गरेका विजेतालाई जनही १–१ लाख भने दिइने एनसलले जनाएको छ । तर अरु ८ हप्ता सञ्चालन हुने भनिएको योजना र बम्पर पुुरस्कार विजेताको घोषणा रोकिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल ग्राहकको हित अनुकुल नदेखिएकाले एनसेललाई उपहार योजना बन्द गर्न भनिएको बताउँछन् । उनी भन्छन्, ‘ऐनकानुन अनुसार पनि यो ठीक थिएन, ग्राहकलाई लोभ्याउने र अनावश्यक खर्च गराउने नियतले ल्याइएको योजना उपभोक्ता हित प्रतिकूल भएकाले बन्द गराएका हौं ।’

घरजग्गाको मूल्य आधासम्म घटिसक्यो, अझै घट्न सक्छ
-1753629084.jpeg)
पूर्वाधारका कारण फर्किन सक्छ लोडसेडिङ

सीजी ग्रुपको अर्को साझेदारी, बिकाजीका भुजिया अब नेपालमै उत्पादन

रसुवागढीमा बेलिब्रिज बन्दै, दशैंअघि नै नाका खुल्ने
