एनसेलको गैरकानुनी चिठ्ठा, सरकारले गरायो बन्द
पछिल्लो महिनामा एनसेलले आफ्नो नयाँ ‘करोडपति’ योजनाको खुबै प्रचार गर्यो । सञ्चार माध्यमदेखि होर्डिङ बोर्डसम्म । सामाजिक सञ्जालदेखि अनलाइन प्लाटफर्महरुसम्म ।
तर साउन १ एनसेलले एकाएक योजना स्थगनको घोषणा गर्यो । बम्पर पुरस्कार नै घोषणा नगरी अफर बन्द गरिएपछि धेरैले अनौठो मानेका थिए । तर विवादका कारण एनसलले यो योजना बन्द गरेको खुलेको छ ।
हो, कानुन विपरीत भएको ठहर गर्दै सरकारले नै एनसेलको करोडपति योजना बन्द गर्न भनेको हो । पछिल्लो समयमा मोबाइल सेवा प्रदायकले प्याकका नाममा डटा सेवा महँगो बनाउँदै लगेका छन् । घट्नुपर्ने मूल्य बढाउँदै ग्राहकलाई तीनै महँगा प्याकहरु अनावश्यक रुपमा खरिद गराउने गरी चिठ्ठाको शैलीमा एनसेलले योजना ल्याएको थियो ।
असार १ देखि एनसेलले १२ हप्तासम्म चल्ने गरी ‘सधैँ अन करोडपति’ योजना ल्याएको थियो । जसमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा–जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिने ग्राहकलाई अफरहरु गरिएको थियो । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर दिइँदै थियो ।
यो योजना चौंथो हप्तासम्म चल्यो । १२ हप्तापछि बम्परमा एक जनालाई एक करोड दिने योजना समेत थियो ।
तर, एनसलले साउनदेखि यो योजना बन्द गर्यो । कारण थियो, कानुनको उल्लंघन । एनसेलले चिठ्ठा ऐन २०२५ र चिठ्ठा नियमावली २०२७ को व्यवस्थाहरु उल्लंघन गर्दै यो योजना चलाएको थियो ।
नेपाल सरकारले अनुमित दिएकोमा बाहेकको अवस्थामा चिठ्ठा खोल्न पाइन्न । यसलाई प्रकाशन, प्रचार र विज्ञापन गर्न पनि पनि पाइन्न । गृह मन्त्रालय र स्थानीय जिल्ला प्रशासन कार्यालयको अनुमतिमा कुनै परोपकारी कामका लागि मात्रै चिठ्ठा योजना चलाउन पाइन्छ । कानुन विपरीत चिठ्ठा खोलेमा बिगोअनुसार जरिवना र ६ महिनासम्म जेल सजायको व्यवस्था छ ।
तर एनसेलको योजना कुनै परोपकारी कामका लागि थिएन । अनि सरकारसँग अनुमति नलिई चिठ्ठा कार्यक्रम चलाएको थियो । उपहार योजनाबारे दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएपनि अनुमति लिएको थिएन ।
त्यही कारण दूरसञ्चार प्राधिकरणले पत्र नै पठाएर एनसेललाई गैरकानुनी गतिविधि गरेकोबारे चासो राखेको थियो । चिठ्ठा ऐन र नियमावली विपरीत चलिरहेको योजना बन्द गर्न समेत भनेको थियो ।
यसपछि एनसेलले चौंथो हप्तामै करोडपति योजना बन्द गरेको छ । अहिलेसम्म साप्ताहिक रुपमा घोषणा गरेका विजेतालाई जनही १–१ लाख भने दिइने एनसलले जनाएको छ । तर अरु ८ हप्ता सञ्चालन हुने भनिएको योजना र बम्पर पुुरस्कार विजेताको घोषणा रोकिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल ग्राहकको हित अनुकुल नदेखिएकाले एनसेललाई उपहार योजना बन्द गर्न भनिएको बताउँछन् । उनी भन्छन्, ‘ऐनकानुन अनुसार पनि यो ठीक थिएन, ग्राहकलाई लोभ्याउने र अनावश्यक खर्च गराउने नियतले ल्याइएको योजना उपभोक्ता हित प्रतिकूल भएकाले बन्द गराएका हौं ।’
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन
टाटा सियरा २०२५ कस्तो छ, कति पर्छ ?
नेपालको सबैभन्दा बढी कर तिर्ने को-को ?
तीन हप्तादेखि कष्ट भोग्दै हिमालयन बैंकका ग्राहक


-1777651991.jpeg)

-1777978198.png)



