डाक्टरहरुले भेटे स्वास्थ्यमन्त्री, तर आन्दोलन रोक्न अस्वीकार

११ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय डाक्टरलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् ।
बिहीबार आन्दोलनरत डाक्टरहरुसँगको छलफलमा मन्त्री पौडेलले निजी मेडिकल कलेजहरुले आवासीय डाक्टरलाई ४८ हजार ७३७ निर्वाह भत्ता नदिए सरकारले दिने सुविधा कटौती गर्ने पनि बताएका छन् ।
निजी मेडिकल कलेजहरुले आवासीय डाक्टरहरुलाई हाल २० हजार हाराहारी मात्र निर्वाह भत्ता दिइरहेका छन् । २०८१ माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई आठौं तहको मेडिकल अधिकृतलाई सरह मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर दुई महिनासम्म पनि बढेको निर्वाह भत्ता नपाएपछि निजी मेडिकल कलेजका आवासीय डाक्टरहरु सडक आन्दोलनमा छन् । डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघ पनि बिहीबारदेखि आवासीय डाक्टरहरुको आन्दोलनमा साथ दिँदै सडक प्रदर्शनमा आएको छ ।
माइतीघर मण्डलमा आन्दोलनपछि चिकित्सक संघका पदाधिकारीले स्वास्थ्य मन्त्रालयमा गएर मन्त्री प्रदीप पौडेललाई भेटेका थिए । त्यस क्रममा मन्त्री पौडेलले आवासीय डाक्टरलाई ४८ हजार ७३७ रुपैयाँ भत्ता दिने निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन् ।
‘निजी मेडिकल कलेजहरुले आयोगले तोकेको निर्वाह भत्ता दिनुभएन भने सरकारले उहाँहरुलाई दिने सुविधाहरु कटौती गर्छौं’, मन्त्री पौडेलले छलफलका क्रममा भने ।
तर निजी मेडिकल कलेज सञ्चालकको पनि केही समस्या भए सरकारले सुन्नुपर्ने भन्दै एमबीबीएस र बीडीएसको सिट र शुल्क समायोजनबारे अध्ययन गर्न गठित कार्यदललाई काम गर्न दिन आग्रह गरे ।
चिकित्सा शिक्षा आयोगको वैशाख ३ गते बसेको १८ औं बैठकले चिकित्सा शिक्षाको शुल्क र सिट समायोजनबारे अध्ययन गर्न स्वास्थ्य सचिव विकास देवकोटाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ ।
चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले स्वास्थ्यमन्त्रीको प्रतिवद्धता उधारो रहेको बताए । निजी मेडिकल कलेजले आवासीय डाक्टरलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता नदिएसम्म आन्दोलन नरोकिने उनले बताए ।
चिकित्सक संघले आवासीय डाक्टरको माग पूरा नभएसम्म आकस्मिक र आईसीयूबाहेकका सेवा ठप्प पार्ने निर्णय गरिसकेको छ । ‘रेजिडेन्ट डाक्टरले पैसा पाउने सुनिश्चित नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन’, उनले भने ।

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
