'असम्भव भन्थे, कर्णालीले डाक्टर उत्पादन गर्न थालिसक्यो'
हुम्लाका डा. मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकाल हालै पूरा गरे । उनी उपकुलपति भएकै बेला कर्णालीमा एमबीबीएसको पढाइ सुरु भयो ।
भरपर्दो स्वास्थ्य सेवा र राम्रो अस्पतालसमेत नभएको कर्णालीमा एमबीबीएस पढाइ सुरु गर्ने भन्दा धेरैले पत्याउँदैनथे । यसलाई नन भायबल प्रोजेक्ट भन्थे । यद्यपि अहिलेको यथार्थ के हो भने कर्णालीमा एमबीबीएस पढाइ सुरु भइसक्यो । अर्को वर्षदेखि कर्णालीमा पढेका डाक्टरले नेपालको स्वास्थ्य संस्थाहरुमा बिरामी जाँच्न थाल्नेछन् ।
यो पडकास्टमा डा. मंगल रावलले राखेको धारणाको मुख्य बुँदा :
धेरैले कर्णालीमा मेडिकल कलेज होइन, राम्रो अस्पताल चाहिने हो भन्थे । तर उनीहरुले के बुझेका छैनन् भने स्वास्थ्य सेवालाई शिक्षासँग जोड्न सकेन भने विशेषज्ञ चिकित्सकहरु त्यहाँ जान सक्दैनन् । अहिले मेडिकल कलेज सञ्चालन भएका कारण १०० भन्दा बढी शिक्षक र विशेषज्ञ चिकित्सक त्यहाँ गएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले काठमाडौंको सरह स्वास्थ्य सेवा दिइरहेको छ । यद्यपि साइक्याट्रिकका विशेषज्ञ भने उपलब्ध हुन सकेको छैन । अनि कर्णालीमा अहिलेसम्म एमआरआई मेसिन छैन । जति पहल गर्दा पनि लैजान सकिएन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल एक वर्षमा करिब साढे ३७ करोड रुपैयाँ आम्दानी गर्छ । तर यति रकमले मात्र प्रतिष्ठान आत्मनिर्भर हुन सक्दैन । प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन दैलेखको राकममा १०० शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कारण कर्णाली प्रदेशका अरु जिल्लाले पनि विशेषज्ञ सेवा पाएका छन् । प्रतिष्ठानले जिल्ला अस्पतालहरुमा विशेषज्ञ डाक्टर पठाइरहेको छ ।
कर्णालीमा स्वास्थ्य चेतना बढिरहेको छ । केही विसञ्चो भएमा डाक्टरलाई देखाएमा ठीक हुन्छ भन्ने धारणा सर्वसाधारणमा पाइन्छ । कर्णालीमा दमका रोगी धेरै छन्, अनि भौगोलिक विकटताका कारण लडेर घाइते हुने जस्ता समस्याहरु पनि धेरै छन् ।
नेपालमा चिकित्सकलाई बस्ने वातावरण नै भएन । यहाँका निजी मेडिकल कलेजले एमबीबीएस सकेर रेजिडेन्सी सुरु गरेका डाक्टरलाई महिनाको १७ हजार ५०० रुपैयाँ तलब दिन्छन्, तर त्यही लेबलका डाक्टरले भारतमा १ लाख १२ हजार र अमेरिकामा ४ लाख भन्दा धेरै कमाउँछन् ।

'मेरो नेताको खल्तीमा दुईचार पैसा गएको थियो भने उहाँलाई पनि थुन्नुस्'

'गुणस्तरमा नेपाल विश्वविद्यालय मानक बन्नेछ'

'श्वेतपत्र हेरेर केहीले खुट्टा उचालेका छन्'

'ज्ञानेन्द्रका ज्वाइँ, रवि लामिछानेको रास्वपा र राजेन्द्र महतोको राजनीति'
