नेभिगेशन
कर्पोरेट

इलन मस्कको स्टारलिंक नेपालमा, तर अवैध बाटोबाट 

धेरैलाई चासो छ, इलन मस्कको इन्टरनेट ‘स्टार लिंक’ नेपालमा कहिले आउँछ ? 

तर सत्य के हो भने दर्ता नै नभइकन नेपालमा स्टारलिंकको इन्टरनेट चलिसक्यो । तर, वैध हैन, अवैध रुपमा । 

हो, स्टारलिंकका इन्टरनेट डिभाइसहरु नेपालको उत्तरी भेगमा भेटिएका छन् । हालसम्म सरकारी निकायबाट अनुमति नलिएकाले स्टार लिंकको इन्टरनेट चलाउनु कानुन विपरीत हो । 

स्टारलिंकको इन्टरनेट अवैध रुपमा चलाएको कुरा नेपाल दूरसञ्चार प्राधिकरणले पनि थाहा पाइसकेको छ । वैशाख २२ गते उसले सूचना जारी गरेर कानुन विपरीत काम नगर्न सचेत गराएको छ । 

प्राधिकरणका अनुसार अग्ला हिमालहरुको बेस क्याम्पहरुमा अवैध स्याटेलाइट इन्टरनेट चलाइएको छ । 

अहिले नेपालमा हिमाल आरोहणको सिजन सुरु भएको छ र धेरै पर्यटकहरु सगरमाथासहितका अग्ला हिमालका बेसक्याम्पमा हिमाल चढ्ने उपयुक्त दिनको पर्खाइमा बसिरहेका छन् । 

सरकारलाई सूचना छ, बेसक्याम्पमा बस्दा उनीहरुले हाईस्पीड इन्टरनेट चलाइरहेका छन् । 

हिमाल आरोहण गराउने कम्पनीहरुले अनधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा दिइरहेको प्राधिकरणको सूचनामा उल्लेख छ । 

यस्तो काम दूरसञ्चार ऐन विपरीत भएकाले नगर्न/नगराउन सूचित गरिएको छ । अनुमति नलिएका सेवा प्रदायक कम्पनीको इन्टरनेट चलाएमा कारवाही गरिने प्राधिकरणको सूचनामा उल्लेख छ । 

प्राधिकरणले बेस क्याम्पहरुमा कुन स्याटेलाइट कम्पनीको इन्टरनेट चलाइएको हो भन्ने खुलाएको छैन । प्राधिकरणका अधिकारीहरु यस्तो इन्टरनेट सेवा दिने कम्पनी इलक मस्कको स्टार लिंक नै हो भन्छन् । 

प्राधिकरणका एक अधिकारीका अनुसार, आरोहीहरुले स्टार लिंकको डिभाइस विदेशबाटै लिएर आउँछन् । अनि बेस क्याम्पमा बसेर चलाउँछन् । यस्तो गतिविधिलाई हिमाल आरोहण गराउने कम्पनीहरुले पनि प्रोत्साहन गरिरहेका छन् । 

आरोहीहरुले इन्टरनेट चलाउँदा मात्रै सरकारको टाउको दुखेको भने हैन । स्टारलिंकका यस्ता डिभाइस आरोहीहरु हिमाल चढेर फर्किएपछि स्थानीय बासिन्दा र भरियाहरुलाई नै दिएर जाने गरेको सूचना प्राधिकरणले पाएको छ । 

यस्तो डिभाइसमा विदेशबाट रिचार्ज गराउन मिल्छ । त्यसैले उच्च हिमाली भेगमा यस्ता डिभाइससँगै अनधिकृत इन्टरनेटको प्रयोग बढ्दै जाने जोखिम देखेपछि प्राधिकरणले सूचना निकालेको हो । 

सरकारले नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको प्रतिस्पर्धी क्षमता बढाउँदै तोकिएको विधि अनुसार स्टार लिंकलाई नेपाल भित्र्याउन सकेमा राम्रो हुन्छ । 

नत्र अवैध रुपमा डिभाइस ल्याएर स्टार लिंक चलाउने क्रम अझै नबढ्ला भन्न सकिन्न । किनभने प्रविधिको प्रयोगलाई कानुनको सीमाले लामो समयससम्म बाँधिराख्न सक्दैन । पक्कै सरकारलाई पनि थाहा छ, प्रविधि सधैं कानुनभन्दा अघि नै हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट