अस्ताए ‘गरिब राष्ट्रपति’
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका ।
जसलाई सादगी जीवनशैलीका कारण संसार चिन्यो,
उनको ८९ वर्षको उमेरमा निधन भएको छ ।
होसे मुहिकालाई पेपे नामले पनि चिनिन्छ ।
पूर्व गुरिल्ला नेता मुहिका सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति थिए ।
दक्षिण अमेरिकी महादेशको सानो देश उरुग्वेमा जम्मा ३४ लाख जनसंख्या छ । यति सानो देशका राष्ट्रपति विश्वभर चिनिनु धेरै ठूलो कुरा हो ।
तर सादगी जीवनशैलीका कारण उनले विश्वव्यापी चर्चा पाए ।
राष्ट्रपतिका रुपमा उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिए । गाजाको प्रतिबन्ध खुकुलो बनाए । अनि वातावरण सुधारका कामहरु गरे ।
उनको जीवनशैलीका कारण कतिपयले मुहिकालाई राजनीति भन्दा बाहिरका मानिस पनि ठान्ने गर्थे ।
तर उनी राजनीतिबाटै खारिएर आएका थिए ।
उनले उरुग्वेमा छापामार युद्ध समेत गरे । १४ वर्ष जेलमा बिताए ।
मुहिकाले सन् १९६० मा पार्टी खोलेका थिए । क्युबाको क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित भएर मुहिकाले छापामार पार्टी खोलेका थिए ।
जसको नाम थियो, टुपामरोस नेशनल लिबरेसन मुभमेन्ट । छोटकरीमा एमएलएन–टी नामले चिनिन्थ्यो ।
यो पार्टी वामपन्थी शहरी छापामार समूह थियो । यसले अपहरण र हत्या जस्ता काम पनि गर्यो ।
तर मुहिकाले आफू हत्या र अपहरण जस्ता काममा कहिल्यै संलग्न नभएको दाबी गर्थे ।
भूमिगत युद्धका क्रममा मुहिका चार पटक पक्राउ परेका थिए । तर दुई पटक जेलबाट भागे ।
उनको पार्टी एमएलएन–टी का १०५ जना कार्यकर्ता जेलबाट सुरुङ खनेर भागेको घटना उरुग्वेको इतिहासमा सबैभन्दा धेरै कैदी भागेको घटनाका रुपमा परिचित छ ।
उनीमाथि सन् १९७० मा गोली प्रहार भएको थियो । त्यो बेला झण्डै मृत्यु समेत भएको थियो ।
सन् १९७३ मा उरुग्वेमा आर्मीले सत्ता हातमा लियो । त्यसपछि मुहिकासहित ९ जनालाई छापामार युद्ध जारी राखे मार्नसक्ने सूचीमा राख्यो ।
सन् १९७० र ८० को दशकमा गरी मुहिकाले कुल १४ वर्ष जेलमा बिताए । जेलमा रहँदा उनीमाथि धेरै अमानवीय व्यवहारहरु भए, धेरै समय एक्लै राखिए ।
सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र स्थापना भएपछि भने उनी रिहा भए ।
जेलबाट मुक्त भएपछि उनी पटक पटक सांसद बने । उरुग्वेको तल्लो सदन च्याम्बर अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेट दुबैमा मुहिकाले सांसदको रुपमा काम गरे ।
सन् २००५ मा वामपन्थी दलहरुको गठबन्धन सरकार बनेका बेला उनी पहिलो पटक मन्त्री भए । उनले मन्त्रीका रुपमा सन् २०१० सम्म काम गरे ।
त्यसपछि सन् २०१० मा भने उनी वामपन्थी गठबन्धनको नेताका रुपमा राष्ट्रपति बनेका थिए ।
त्यतिबेला होसे मुहिका ७४ वर्ष भइसकेका थिए ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)