विश्वनाथ पौडेल बने राष्ट्र बैंकको गभर्नर

विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । दुई महिनासम्म चलेको गभर्नर रेस जित्दै पौडेल १८ औं गभर्नर नियुक्त भए ।
जेठ ६ गते अर्थात् आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
मन्त्रिपरिषद बैठक बस्नुअघि आजै गभर्नर सिफारिस समितिको बैठक बसेको थियो । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिको बैठकले विश्व पौडेललाई पहिलो नम्बरमा गभर्नरका लागि सिफारिस गरेको थियो ।
दोस्रो नम्बरमा हालकी डेपुटी गभर्नर निलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुँदा पौडेल सिफारिस समितिको सदस्य थिए । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सर्च कमिटीमा उनी अर्थविद्का रुपमा सदस्य बनेका थिए ।
तर, त्यो समिति बनेको ४८ दिनपछि उनले राजीनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउबाबीच पौडेललाई नै गभर्नर बनाउने सहमतिपछि उनको राजीनामा आएको थियो । पौडेलको ठाउँमा पोषराज पाण्डे सिफारिस समिति सदस्य बनेका थिए ।
तर, सिफारिस समितिको बैठक नै नबस्ने अवस्था आएपछि देउबा प्रधानमन्त्रीसँग रुष्ट बनेका थिए । सत्तारुढ एमालेले गभर्नर नियुक्ति अल्झाइरहेका कारण गठबन्धन सरकार नै संकटमा पर्ने अवस्था आएपछि प्रधानमन्त्रीले आजै गभर्नर नियुक्तिको चाँजोपाँजो मिलाएका थिए ।
गभर्नर बनेका पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । उनी २०७९ मा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा चुनाव लडेका थिए ।

यस्तो बन्यो मुग्लिन-पोखरा सडक

सीप मेलामा सिलाइ कटाइदेखि ड्रोन उडाउनेसम्म तालिम

गभर्नरको गोलचक्कर, कहाँबाट आइपुगे विश्व पौडेल ?

इलन मस्कको स्टारलिंक नेपालमा, तर अवैध बाटोबाट
