भारतमा मारिए माओवादीका सर्वोच्च कमाण्डर
भारतमा सुरक्षा कारबाहीमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका महासचिव नाम्बला केशव राव मारिएका छन् ।
छत्तीसगढको नारायणपुर जिल्लाको एक जंगलमा भएको सैनिक कारबाहीमा बसबराजु भनेर चिनिने ६८ वर्षका केशव रावसहित २७ जना मारिएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यो घटनालाई ठूलो उपलब्धीको रुपमा लिएका छन् । उनीहरुले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री साहले नक्सलवादीलाई समाप्त पार्ने अभियानमा ऐतिहासिक उपलब्धी हात परेको दाबी गरेका छन् ।
भारतले अपरेसन ब्ल्याक फरेस्ट नाममा माओवादीविरुद्धको अभियान चलाइरहेको छ । जासुसी संयन्त्रको सूचनाका आधारमा सुरक्षाकर्मीको टोली माओवादी पार्टीको केन्द्रीय कमिटी र पोलिट्ब्यूरो सदस्यहरु रहेको ठाउँमा पुगेको थियो ।
भिडन्त भएको ठाउँ माओवादीको प्रभाव क्षेत्र हो । यो बाक्लो जंगल भएको क्षेत्र हो र नारायणपुर, बिजापुर र दन्तेवाडा गरी ३ जिल्लाको सिमानामा पर्छ । यो क्षेत्रलाई माओवादी बिद्रोहको इपिसेन्टर नै मानिछ ।
बुधबार बिहान भएको कारबाहीको नेतृत्व छत्तीसगढको बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक पी सुन्दरराजले गरेका थिए ।
अपरेसन ब्ल्याक फरेस्टमा संलग्न भारतीय सुरक्षा अधिकारीका अनुसार केशव राव त्यहाँ छन् भनेर प्रहरीले १० दिनअघि सूचना पाएको थियो ।
बसबराजु पार्टीको महासचिवसँगै सैन्य फाँटको पनि प्रमुख थिए ।
सैनिक तालिम दिन, विस्फोटक र बारुदी सुरुङ निर्माणमा उनी विशेषज्ञ मानिन्थे । रावले आफ्नो टोलीलाई अत्याधुनिक हात हतियारयुक्त बनाएका थिए ।
भारत सरकारले केशव राव सहित माओवादीको केन्द्रीय कमिटी र पोलिट्ब्यूरो सदस्यहरुको टाउकोको मूल्य एक करोड रुपैयाँ तोकेको थियो ।
केशव राव अर्थात् बसबराजु पार्टीको नेतृत्वमा आएको ७ वर्ष मात्र भयो ।
केशव रावको जन्म हैदरावाददेखि ७२० किलोमिटर टाढाको एक गाउँमा भएको हो । शिक्षकका छोरा उनी सानैदेखि पढ्नमा चलाख थिए ।
हाइस्कुल र इन्टरमिडियट पढाइ पूरा गरेपछि केशव रावले इन्जिनियरिङमा बी टेकको पढाइ सुरु गरेका थिए ।
त्यसपछि उनी विद्यार्थी संगठनमा आवद्ध भए भने राजनीतिक र सामाजिक आन्दोलनहरुमा सक्रिय हुन थाले । प्रहरीमा उनीविरुद्ध उजुरी पर्न थाले ।
केशव राव एम टेकमा भर्ना त भए, तर उनको अधिकांश समय राजनीतिक गतिविधिहरुमा बित्थ्यो ।
उनले सीपीआई लिबरेसनका लागि काम गर्न थालेका थिए । त्यसपछि उनी भूमिगत भए ।
पछि उनले नक्सलवादी संगठन सीपीआई पिपुल्स वार ग्रुपमा आवद्ध भए । एक सामान्य कार्यकर्ताबाट काम सुरु गरेका उनले छोटो समयमा नै महत्वपूर्ण जिम्मेवारीहरु पाए ।
सन् १९९२ मा मुपल्ला लक्ष्मण राव पार्टीको महासचिव बने । बसबराजु उनको मुख्य सहयोगी थिए, उनी पनि केन्द्रीय कमिटीमा चयन भए । उनले पार्टीको सैन्य फाँटको जिम्मेवारी पनि पाए ।
२७ वर्ष केन्द्रीय कमिटी र १८ वर्ष पोलिट्ब्यूरोमा काम गरेपछि उनी पार्टी महासचिव बनेका थिए ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)