गृह मन्त्रालयले भन्यो : भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन
गृहमन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसाका नाममा सर्वसाधारणसँग पैसा उठाएको घटनामा गृहमन्त्रीको संलग्नता नरहेको दाबी गरेको छ ।
मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ति जारी गरी गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै पनि संलग्नता नरहेको र नरहने दाबी गरेको हो ।
'…यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट गर्दछौं', मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमा भनेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसाका नाममा विदेश जान लागेका नेपालीसँग रकम असुल गरेर मात्र पठाउने गरेको सूचना बाहिरिएपछि जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयमा छापा मारेको थियो ।
त्यसै दिन अध्यागमन कार्यालयका प्रमुख रहेका तीर्थराज भट्टराई पक्राउ परेका थिए ।
यो घटनामा गृहमन्त्री रमेश लेखककै संलग्नता रहेको हुन सक्ने भन्दै प्रश्न उठेको छ ।
त्यसपछि गृहमन्त्रालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । गृह मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीबारे अख्तियारले छानबिन गरिरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्य तथ्य सार्वजनिक हुने बताएको छ ।
मन्त्रालयका सहसचिव छवि रिजालले अख्तियारबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने पनि बताएका छन् ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








