नेभिगेशन
3 Minute

१८ वर्षको पर्खाइपछि च्याम्पियन बनेका विराट

आईपीएल २०२५ को फाइनलमा पञ्जाब किंग्सका शशांक सिंह जब अन्तिम ओभरको दोस्रो बलमा बाउन्ड्री हान्न चुके, त्यही बेला नै रोयल च्यालेन्जर्स बेंगलुरुको जित लगभग तय भएको थियो । 

अनि बिराट कोहलीको आँखाले अधुरो सपना पूरा हुन लागेको कहानी बयान गरिरहेको थियो । 

त्यसपछि हरेक बलमा आरसीबीको जित पक्का हुँदै गयो, विराट कोहलीको भावुकता पनि त्यसरी नै बढ्दै गयो । 

उनी कहिले आफ्नो आँसु लुकाउन खोज्थे त कहिले आकासतिर हेर्थे । जब आरसीबीले पञ्जाबलाई ६ रनले हरायो, त्यसपछि विराटको खुसीको सीमा रहेन । 

उनले मैदानमा घुँडा टेके, अनि दुबै हातले अनुहार छोपे । जितबाट भावुक बिराटले भनेका छन्– उनले सोचेका थिएनन् कि यो दिन पनि देख्न पाइन्छ । 

आरसीबीले बिराट कोहलीमाथि त्यसबेला दाउ लगाएको थियो, जतिबेला उनले भारतको राष्ट्रिय टिमबाट डेब्यू समेत गरेका थिएनन् । 

२००८ मा उनको नेतृत्वको यू–१९ टिमले वल्र्डकप जितेपछि विराट चर्चामा आएका थिए । त्यसैले आरसीबीले २० लाख भारुमा उनलाई अनुबन्ध गर्‍यो । 

त्यसपछि उनले आईपील र इन्टरनेशनल क्रिकेटमा कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । २०११ मा त उनी कप्तान नै बने । आरसीबीलाई आईपीएलको फाइनलमा पनि पुर्‍याए । तर चेन्नई सुपर किंग्स बाधक बन्दा त्यतिबेला बिराट कोहलीले च्याम्पियन बन्न पाएनन् । 

त्यसपछिका केही वर्ष निराशाजनक रह्यो । २०१६ मा बिराट अर्कै लयमा देखिए । उनले आईपीएलका थुप्रै रेकर्ड तोडे । 

१६ म्याचमा कीर्तिमानी ९७३ रन बनाए । त्यसक्रममा चार शतक र ७ अर्धशतक पनि बनाए । आरसीबी फाइनलमा पनि पुग्यो । तर ८ रनले सनराइजर्स हैदराबादसँग हार्न पुग्यो र बिराटको च्याम्पियन बन्ने सपना अधुरै रह्यो । 

हरेक सिजन बिराटको ब्याटबाट रन त बनिरहेको थियो, तर उपाधि जित्न सकेका थिएनन् । २०२३ मा आइपुग्दा उनले कप्तानी छाडे, तर टिम छाडेनन् । आरसीबीलाई च्याम्पियन बनाउन निरन्तर प्रयास गरिरहे ।

१८ वर्ष लामो पर्खाइ अन्त्य भएपछि विराटले भनेका छन्, ‘मैले आफ्नो सबथोक दिएँ । तर सोचेको थिइनँ कि यो दिन आउने छ । जब अन्तिम बल फालियो, म भावुक भएँ ।’ 

उनका अनुसार लामो यात्राका क्रममा अलग सोच नआएको पनि होइन, तर मनमा बेंगलुरुकै साथमा छ । अबका दिनमा यही टिमका लागि मात्र खेल्ने भन्दै विराटले भने, ‘आज म एक बच्चा जस्तै सुत्न जाने छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute