विदेशबाट फर्किंदा ल्याउने सामानमा थप कडाइ, यी हुन् फेरिएका नियम
विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? त्यसो हो भने भन्सार नतिरी ल्याउन पाइने सामानसम्बन्धी नियम फेरिएको छ । जुन तपाईंले थाहा पाउनैपर्छ ।
सरकारले गत जेठ १५ गतेको बजेटपछि झिटिगुण्टा सम्बन्धी नियममा केही महत्वपूर्ण परिवर्तन गरेको छ ।
- पहिलो हो, मोबाइलको संख्या ।
विदेशबाट फर्किनेहरुले आफ्ना घर परिवार, आफन्त साथीभाइका लागि नयाँ मोबाइल उपहार ल्याइदिन्छन् ।
अहिलेसम्म विदेशबाट आउनेहरुले २ वटासम्म मोबाइल नेपाल ल्याउन पाउँथे । अब भने एउटा मात्रै नयाँ मोबाइल ल्याउन पाउनेछन् ।
त्यो पनि कम्तीमा ६ महिना वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले मात्रै यो सुविधा पाउनेछन् । अरु भिसामा विदेश गएर आउनेहरुले नयाँ मोबाइल लिएर आउन पाउने छैनन् ।
तपाईंले ल्याएको नयाँ मोबाइलको बट्टामा अब भन्सारले ‘बेच्न नपाइने’ भनेर छाप हान्ने छ । यसको अर्थ हो, अब यसरी विदेशबाट ल्याएको नयाँ मोबाइल बजारमा लगेर पसलेलाई बेच्न पाइने छैन ।
भन्सार विभागमा महानिर्देशक महेश भट्टराईका अनुसार विदेशबाट महँगा मोबाइलहरु वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई बोकाएर पठाउने चलन बढेको छ । ती मोबइल यहाँका पसलमै बेच्ने गरेको भेटिएपछि बक्समै बेच्न नपाइने भनेर छाप हान्न थालिएको हो ।
- दोस्रो परिवर्तन हो, मदिरासम्बन्धी ।
विदेशबाट फर्किने व्यक्तिले १ लिटरसम्मको रक्सी भन्सार नतिरी ल्याउन पाउँछ । यो त पुरानै व्यवस्था भयो । तर, अब भन्सारले रक्सीको प्याकेटमा पनि बेच्न नपाइने भनेर छाप हान्ने छ । यदि यसरी पास भएका मोबाइल र रक्सी बेचेको भेटिए भन्सार विभागले जफत गर्नेछ ।
- तेस्रो परिवर्तन हो, कुरियरको सामानको मूल्यांकन ।
अहिलेसम्म तपाईंले कुरियरबाट विदेशमा समान पठाउँदा त्यो वस्तुको मूल्य जति घोषणा गर्नुभयो, त्यति नै भन्सार तिर्दा हुन्थ्यो । तर, अब यो नियम फेरिएको छ ।
उपहारका रुपमा सामान पठाउँदा त्यो सामानको मूल्य जति परेको छ, त्यति नै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । भन्सार अधिकृतले यस्ता समानको घोषित मूल्य र सन्दर्भ मूल्यसूची हेरेर जाँच गर्नेछ । यदि मूल्य फरक परेमा थप भन्सार तिराउनेछ ।
- भन्सारको नियममा गरिएको चौथो महत्वपूर्ण परिवर्तन हो, विदेशबाट आएका सामानको परिमाणको जाँच ।
विदेशबाट उपहारका रुपमा आएका ५ सय डलरसम्मका सामानमा भन्सार नलाग्ने व्यवस्था छ । तर, उपहारका नाममा धेरै परिमाणमा महँगा वस्तु पनि पठाउने क्रम बढेपछि यसको पनि जाँच गर्न थालिएको छ ।
यदि यस्तो जाँचमा बढी परिमाणमा वा धेरै मूल्यको समान आएको भेटिए जरिवाना लाग्नेछ । जति मूल्यको वस्तु हो, त्यति नै मूल्य तिरेर मात्रै भन्सार छुटाउन सकिने छ ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराई उपहारका रुपमा बेच्ने उद्देश्यले धेरै कपडा र समान विदेश पठाउने गरिएकाले कडाइ गरिएको दाबी गर्छन् ।

नागढुंगा ओरालोमा माइक्रोबस दुर्घटना, २० जना घाइते

प्रधानमन्त्रीको दाबी : एसईईमा यस वर्ष ६० प्रतिशत विद्यार्थी पास हुन्छन्

अहमदावाद प्लेन दुर्घटनाको प्रतीक बनेको एउटा अन्तिम सेल्फी

युद्ध चर्किएपछि नेपालीलाई इजरायल जान रोकिंदै

दुर्गा प्रसाईंसहित ७ जना पुर्क्षपका लागि थुनामा, ३२ जना धरौटीमा छुटे
