सीप मेलामा सिलाइ कटाइदेखि ड्रोन उडाउनेसम्म तालिम
काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सीप मेला चलाइरहेको छ ।
मेलामा सीप सिक्न १४ हजार ९४७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट महानगरपालिकाले २ हजार ७१२ जनालाई छनोट भएका छन् ।
छनोट भएकामध्ये २ हजार ५१२ जना तालिममा सहभागी छन् । विभिन्न १० क्षेत्रका ३७ विधामा तालिम चलिरहेको छ ।
तालिम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चलिरहेको छ । सहभागीहरु निकै उत्साहका साथ सीप सिकिरहेका छन् ।
सीप मेलामा सबैभन्दा धेरै सहभागी भएको क्षेत्र हो गार्मेन्ट । यो तालिममा १३१ जना सहभागी छन् ।
काठमाडौंमा गार्मेन्टको क्षेत्रमा जनशक्ति अभाव छ । गार्मेन्ट उद्योगहरु भारतीय मजदुरका भरमा चलिरहेका छन् ।
अमेरिकाको नयाँ कर नीतिका कारण गार्मेन्ट उद्योगीहरु आशावादी छन् । यही बेला महानगरपालिका युवालाई गार्मेन्टमै सीप सिकाइरहेको छ ।
सिकाइ निकै प्रभावकारी भएको सहभागी बताउँछन् ।
गार्मेन्टको तालिम लिएकाले तुरुन्तै काम पाउने निश्चित भएको सीप मेला सचिवालयले पनि बताएको छ ।
सीप मेलामा अर्को नौलो र रोचक दृश्य छ, पुरोहित तालिमको । हिन्दू धर्मको कर्मकाण्ड गराउने विधि सिक्न १३२ जनाले आवेदन दिएका थिए, उनीहरुमध्ये ७६ जना छनोट भएका छन् ।
शहरी क्षेत्रमा कर्मकाण्ड सञ्चालन गर्ने मानिसको अभाव हुँदै गइरहेको छ । त्यसैले महानगरपालिकाले पुरोहित तालिम पनि सञ्चालन गरेको हो ।
अहिले शहरमा इलेक्ट्रिसियन भनेका बेलामा भेट्न मुश्किल छ ।
त्यसैले महानगरपालिकाले यसको तालिम पनि चलाइरहेको छ । इलेक्ट्रिसियन तालिम लिनेमा महिलाहरु पनि छन् । अझ प्रशिक्षक समेत महिला छन् ।
सीप मेला हेर्दा यस्तो लाग्छ कुनै पनि काम महिला वा पुरुषले गर्ने भनेर छुट्याउनै पर्दैन । यो दृश्य हेर्नुस् ।
बार्बर अर्थात् कपाल काट्ने तालिममा पनि महिलाहरु छन् । सहभागीहरु तालिम निकै प्रभावकारी भएको बताउँछन् ।
थांका, हाम्रो परम्परागत चित्रकलाको पेशा र सीप हो । नेपाली थांका विश्व बजारमा निकै लोकप्रिय छ ।
यसको कलात्मकताले विदेशी पर्यटक लोभ्याउँछ । महानगरले थांका बनाउने सीप पनि सिकाइरहेको छ ।
कहिल्यै पेन्सिल, कलर र ब्रससमेत नसमाएकाहरु पनि रुचि देखाइरहेका छन् । थांकाको काम छोटो समयमै धेरै सिक्न सकिएको एक सहभागीले बताए ।
सीपमेलामा नयाँ प्रविधिमा आधारितदेखि परम्परागत जीवन उपयोगी सीप समेत सिकाइँदैछ ।
हिजोआज डाउन सिन्ड्रोमले धेरै बालबच्चा प्रभावित छन् । सीपमेलामा यस्ता बालबालिकाको स्याहारसुसार र रेखदेख कसरी गर्ने भन्ने प्रशिक्षण चलिरहेको छ । डाउन सिन्ड्रोम भएका बच्चाहरुको अभिभावकहरु यो तालिममा सहभागी छन् ।
त्यसैगरी यहाँ एआई प्रविधिको प्रयोग पनि सिकाइँदैछ । सीसिटिभी, ल्यापटप, जस्ता उपकरण मर्मत र ड्रोन सम्बन्धी पनि तालिम चलिरहेकोछ ।
विग, प्लम्बिङ, फ्लावर डेकोरेसन, वारिष्टा, सेरामिक्स, स्टक मार्केट, डिजिटल मार्केटिङ, मल्टिमिडियालगायतका विषयमा समेत सीपहरु सिकाइँदैछ ।

यस्तो बन्यो मुग्लिन-पोखरा सडक

विश्वनाथ पौडेल बने राष्ट्र बैंकको गभर्नर

गभर्नरको गोलचक्कर, कहाँबाट आइपुगे विश्व पौडेल ?

इलन मस्कको स्टारलिंक नेपालमा, तर अवैध बाटोबाट
