रूप फेर्दै सिद्धार्थ राजमार्ग, सुरूङ र भायोडक्ट राखेर फराकिलो सडक
बुटवलबाट सिद्धबाबाको सुरुङ छिचोलेर फराकिलो सडक हुँदै पाल्पा अनि त्यहाँबाट कतै सुरुङमार्ग, कतै पहाडहरु जोड्ने अग्ला पुल तरेर स्याङ्जा हुँदै पोखरा । यो अहिले सिद्धार्थ राजमार्गका लागि बाँडिएको सपना हो ।
बुटवलबाट स्याङ्जा हुँदै पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अहिले घुमाउरो र साँघुरो छ । यो सडक इन्टिरमिडियट अर्थात् एक लेनको मात्रै छ ।
सरकारको योजना अनुसार काम भए केही वर्षभित्रै सिद्धार्थ राजमार्ग दुई लेनको बन्नेछ ।
१५७ किलोमिटर लामो यो राजमार्ग विस्तार गर्न सडक विभागले डीपीआर तयार गरिसकेको छ ।
डीपीआर अनुसार काम भयो १३७ किलोमिटरमा छोटिनेछ । यसमा केही ठाउँमा सुरुङ र भायोडक्ट अर्थात् पहाडहरु जोड्ने अग्ला पुल बनाउने योजना छ ।
सडक विभागले यसै वर्ष सिद्धार्थ राजमार्ग विस्तार सुरु गर्दैछ । यसवर्ष सिद्धबाबा या पोखरामध्ये कुनै एकतिरबाट ५–७ किलोमिटर सडक विस्तारको ठेक्का लाग्ने सम्भावना छ ।
भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार सडक विस्तारका लागि घर टहरा हटाउने र मुआब्जा वितरणको काम पनि हुनेछ ।
अहिले त सिद्धार्थ राजमार्गमा दुईतर्फी गाडी आवत जावतमा समस्या छ । धेरै घुम्ती भएकाले गाडी चलाउन पनि सजिलो छैन । यात्रा गर्नेलाई पनि सास्ती छ ।
सरकारको योजना यो राजमार्गलाई सबै क्षेत्रमा ७ मिटर फराकिलो बनाउने हो । अनि शहरी क्षेत्रमा भने ९ मिटरसम्म फराकिलो हुनेछ ।
यो सडक रणनीतिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । यही सडकले भैरहवा नाकालाई चीनको कोरला नाकासँग जोड्छ । भारतीय पर्यटक लुम्बिनी–पोखरा–मुक्तिनाथ हुँदै कोरला नाकासम्म सहज रुपमा जान सक्छन् ।
यो सडक भविष्यमा चीनको मानसरोबर जाने रुट पनि बन्न सक्ने सडक विभागका अधिकारीहरु बताउँछन् । भैरहवा र बुटवललाई पोखरासँग जोड्ने सडक हुनाले यसको विस्तारले पर्यटक आवतजावतसँगै सामान ढुवानीमा पनि धेरै सजिलो बनाउनेछ ।
सिद्धार्थ राजमार्ग विस्तारका लागि स्रोत जुटाउन अर्थ मन्त्रालयले चीनको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) सँग छलफल गरिरहेको छ ।
चिनियाँ बैंकले ऋण दिए यो राजमार्गका विभिन्न ठाउँमा सुरुङसहित भायोडक्ट समेत राख्ने तयारी छ । सडक विभागका अधिकारीहरु अहिलेकै अवस्थामा विस्तार गर्नु भन्दा दूरी नै छोट्याउनु राम्रो हुने निष्कर्षमा पुगेका छन् ।
यो राजमार्गको सबैभन्दा चुनौतीपूर्ण खण्ड सिद्धबाबाको पहिरो हो । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा पहिरोले धेरै जनधनको क्षति गरेको छ । पहिरोले बाटो छेक्दा घण्टौं अलपत्र पर्नुपरेको अनुभव त्यस क्षेत्रका धेरै यात्रुसँग छ ।
वर्षायाममा त ज्यानको बाजी लगाएरै यात्रा गर्नुपर्छ । कतिखेर पहिरो र ढुंगाहरु गाडी माथि खस्छ भन्ने भर हुँदैन ।
अहिले यो पहिरो छल्न सुरुङमार्ग बनाइएको छ । सुरुङ पनि २०८१ माघ ११ गते ब्रेक थ्रु भइसकेको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा यो सुरुङमार्ग बन्दै छ । यो सुरुङ एक हजार १२६ मिटर लामो छ ।
सुरुङमा अहिले ढलान, रङरोगन र फिनिसिङको काम चल्दैछ । एयर भेन्टिलेसन, विद्युत सप्लाइ र इलेक्ट्रोमेकानिकल काम सकेपछि यो सुरुङमार्ग पनि सञ्चालनमा आउनेछ ।
सुरुङमार्ग मात्र होइन, सिद्धार्थ राजमार्गको अहिलेकै सडक खण्डमाथि ‘रक सेड’ बनाउने काम पनि भइरहेको छ । अहिलेको गतिमै काम भए २०८४ को मंसिरतिर सुरुङमार्गबाट गाडी चलाउन सकिने छ ।
यो सुरुङमार्ग र रकसेडले सिद्धार्थ राजमार्गको यात्रा थप सुरक्षित बनाउनेछ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



