रूप फेर्दै सिद्धार्थ राजमार्ग, सुरूङ र भायोडक्ट राखेर फराकिलो सडक
बुटवलबाट सिद्धबाबाको सुरुङ छिचोलेर फराकिलो सडक हुँदै पाल्पा अनि त्यहाँबाट कतै सुरुङमार्ग, कतै पहाडहरु जोड्ने अग्ला पुल तरेर स्याङ्जा हुँदै पोखरा । यो अहिले सिद्धार्थ राजमार्गका लागि बाँडिएको सपना हो ।
बुटवलबाट स्याङ्जा हुँदै पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अहिले घुमाउरो र साँघुरो छ । यो सडक इन्टिरमिडियट अर्थात् एक लेनको मात्रै छ ।
सरकारको योजना अनुसार काम भए केही वर्षभित्रै सिद्धार्थ राजमार्ग दुई लेनको बन्नेछ ।
१५७ किलोमिटर लामो यो राजमार्ग विस्तार गर्न सडक विभागले डीपीआर तयार गरिसकेको छ ।
डीपीआर अनुसार काम भयो १३७ किलोमिटरमा छोटिनेछ । यसमा केही ठाउँमा सुरुङ र भायोडक्ट अर्थात् पहाडहरु जोड्ने अग्ला पुल बनाउने योजना छ ।
सडक विभागले यसै वर्ष सिद्धार्थ राजमार्ग विस्तार सुरु गर्दैछ । यसवर्ष सिद्धबाबा या पोखरामध्ये कुनै एकतिरबाट ५–७ किलोमिटर सडक विस्तारको ठेक्का लाग्ने सम्भावना छ ।
भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार सडक विस्तारका लागि घर टहरा हटाउने र मुआब्जा वितरणको काम पनि हुनेछ ।
अहिले त सिद्धार्थ राजमार्गमा दुईतर्फी गाडी आवत जावतमा समस्या छ । धेरै घुम्ती भएकाले गाडी चलाउन पनि सजिलो छैन । यात्रा गर्नेलाई पनि सास्ती छ ।
सरकारको योजना यो राजमार्गलाई सबै क्षेत्रमा ७ मिटर फराकिलो बनाउने हो । अनि शहरी क्षेत्रमा भने ९ मिटरसम्म फराकिलो हुनेछ ।
यो सडक रणनीतिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । यही सडकले भैरहवा नाकालाई चीनको कोरला नाकासँग जोड्छ । भारतीय पर्यटक लुम्बिनी–पोखरा–मुक्तिनाथ हुँदै कोरला नाकासम्म सहज रुपमा जान सक्छन् ।
यो सडक भविष्यमा चीनको मानसरोबर जाने रुट पनि बन्न सक्ने सडक विभागका अधिकारीहरु बताउँछन् । भैरहवा र बुटवललाई पोखरासँग जोड्ने सडक हुनाले यसको विस्तारले पर्यटक आवतजावतसँगै सामान ढुवानीमा पनि धेरै सजिलो बनाउनेछ ।
सिद्धार्थ राजमार्ग विस्तारका लागि स्रोत जुटाउन अर्थ मन्त्रालयले चीनको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) सँग छलफल गरिरहेको छ ।
चिनियाँ बैंकले ऋण दिए यो राजमार्गका विभिन्न ठाउँमा सुरुङसहित भायोडक्ट समेत राख्ने तयारी छ । सडक विभागका अधिकारीहरु अहिलेकै अवस्थामा विस्तार गर्नु भन्दा दूरी नै छोट्याउनु राम्रो हुने निष्कर्षमा पुगेका छन् ।
यो राजमार्गको सबैभन्दा चुनौतीपूर्ण खण्ड सिद्धबाबाको पहिरो हो । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा पहिरोले धेरै जनधनको क्षति गरेको छ । पहिरोले बाटो छेक्दा घण्टौं अलपत्र पर्नुपरेको अनुभव त्यस क्षेत्रका धेरै यात्रुसँग छ ।
वर्षायाममा त ज्यानको बाजी लगाएरै यात्रा गर्नुपर्छ । कतिखेर पहिरो र ढुंगाहरु गाडी माथि खस्छ भन्ने भर हुँदैन ।
अहिले यो पहिरो छल्न सुरुङमार्ग बनाइएको छ । सुरुङ पनि २०८१ माघ ११ गते ब्रेक थ्रु भइसकेको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा यो सुरुङमार्ग बन्दै छ । यो सुरुङ एक हजार १२६ मिटर लामो छ ।
सुरुङमा अहिले ढलान, रङरोगन र फिनिसिङको काम चल्दैछ । एयर भेन्टिलेसन, विद्युत सप्लाइ र इलेक्ट्रोमेकानिकल काम सकेपछि यो सुरुङमार्ग पनि सञ्चालनमा आउनेछ ।
सुरुङमार्ग मात्र होइन, सिद्धार्थ राजमार्गको अहिलेकै सडक खण्डमाथि ‘रक सेड’ बनाउने काम पनि भइरहेको छ । अहिलेको गतिमै काम भए २०८४ को मंसिरतिर सुरुङमार्गबाट गाडी चलाउन सकिने छ ।
यो सुरुङमार्ग र रकसेडले सिद्धार्थ राजमार्गको यात्रा थप सुरक्षित बनाउनेछ ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
