नेभिगेशन
अर्थतन्त्र
भिडियो

यस्तो बन्यो मुग्लिन‍-पोखरा सडक

यो दृश्य हो, पोखरा जाने सडक । अहिले यहाँ सडक विस्तारको काम अन्तिम चरणमा छ ।

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तारको काम गरिएको छ । 

आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८८ किलोमिटर खण्ड पश्चिम खण्ड भनेर छुट्याइएको छ । 

पूर्वी खण्डमा विमलनगर र दमौलीमा गरी डेढ किलोमिटर मात्रै पिच गर्न बाँकी छ । अधिकांश भागमा तोकिएअनुसार ४ र ६ लेनकै सडक बनिसकेको छ ।

पश्चिम खण्डको विजयपुर, पोखरा विश्वविद्यालय र माहुरी भीर क्षेत्रको सडकमा कालोपत्रे भएको छैन । पश्चिम खण्ड आयोजनाका प्रमुख कृष्ण कुँवरका अनुसार १३ किलोमिटर सडक दुई लेनमा मात्र पिच सकिएको छ । 

यो खण्डमा १९ किलोमिटर ६ लेन र साढे २० किलोमिटर ४ लेन सडक बनाउनुपर्ने छ । 

पूर्वी खण्डको भौतिक प्रगति ८५ प्रतिशत छ । पश्चिम खण्डमा ५३ प्रतिशत मात्रै काम सकिएको छ । पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ । पश्चिम खण्डमा भने आगामी पुससम्म काम सकाउने गरी म्याद थप भएको छ । 

पूर्वी खण्डमा निर्माणधीन मादी नदीको आर्क ब्रिज बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । पश्चिम खण्डमा भने १२ मध्ये विजयपुर पुल र सेती नदीमाथिको सिग्नेचर पुल मात्रै बन्न बाँकी छ । 

तुलनात्मक रुपमा पश्चिम खण्डमा अझै धेरै काम बाँकी देखिन्छ । तर पूर्वी खण्डमा भने अन्तिम चरण्मा काम भइरहेका छन् । 

एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा विस्तार भइरहेको यो राजमार्गमा आगामी पुसम्म विस्तार गरिसक्ने लक्ष्य छ । 

तर पश्चिम खण्डमा धेरै ठाउँमा वस्तीका दुईतर्फको सर्भिस लेनको काम सुरु नभएकाले समयमै सकिने अवस्था भने छैन । 

यो सडकको पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ । पश्चिमी खण्डमा चीनकै एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँको ठेक्कामा काम गर्दैछ । 

अहिलेसम्म आबुखैरनीदेख मुग्लिनसम्मको सडक खण्डको ठेक्का हुन सकेको छैन । सडक छेउमै रहेको मर्स्याङ्दी जलविद्युत गृहका कारण यो खण्ड ४ लेनको बनाउन समस्या भएको छ । 

त्यसैले यो खण्डमा मस्र्याङ्दी पारीबाट अर्को २ लेन सडक बनाउने योजना छ । यसो गर्दा आउजाउ गर्ने सवारीहरु खोल वारी र पारी बाट फरक फरक सडकमा चल्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र