इरानमाथि इजरायलको हवाइ आक्रमणमा के के भयो ?

२९ जेठ, काठमाडौं । इजरायलले शुक्रबार इरानमाथि हवाइ आक्रमण गरेको छ । जसको निशाना इरानको परमाणु कार्यक्रमको केन्द्र भएको इराजयलको दाबी छ ।
इरानले जवाफी कारबाही गर्ने अनुमानका साथ इजरायलले आपतकालको घोषणा गरेको छ । यो आक्रमणबारे अहिलेसम्म के थाहा भएको छ, हेरौं :
कहिले भयो आक्रमण ?
इरानको राजधानी तेहरानमा स्थानीय समय अनुसार बिहान ३ बजेर ३० मिनेट जाँदा विस्फोटको आवाज आएको थियो ।
इरानको सरकारी सञ्चार माध्यमहरुले तेहरानको आवासीय क्षेत्रमा आक्रमण भएको बताएको छ । इजरायलका मानिसहरुलाई पनि ठीक त्यही बेला सम्भावित हवाइ आक्रमणको संकेत गर्ने साइरन र आपतकालीन फोन अलर्टले जगाएको थियो ।
इरानको सरकारी सञ्चार माध्यमहरुका अनुसार त्यसको केही घण्टापछि नतान्ज परमाणु केन्द्रमा पनि विस्फोटको खबर आयो । त्यहाँ विस्फोट भएको खबरको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी लगायतले पनि पुष्टि गरेका छन् ।
के कति क्षति भयो ?
इरानको सरकारी टीभीको रिपोर्टअनुसार तेहरानको रिभोलुसनरी गार्डको हेडक्वार्टरमा पनि आक्रमण भएको छ ।
रिभोलुसनरी गार्ड इरानी सेनाको एउटा अंग हो, जसलाई इरानकै बसभन्दा बलियो संगठन मानिन्छ ।
इजरायलको आक्रमणमा त्यही इस्लामिक रिभोलुसनरी गार्डसका प्रमुख होसेन सलामीको मृत्यु भएको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार इजरायलको आाक्रमणमा परी परमाणु उर्जा संगठनका पूर्व प्रमुख फेरेडुन अब्बासी र तेहरानस्थित आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मत्यु भएको छ ।
इजरायलले के भन्यो ?
इरानमा आक्रमणलगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले टेलिभिजन सम्बोधन गरेका थिए ।
उनले राइजिङ लायन नाम दिइएको अपरेसनलाई अस्तित्व रक्षाका लागि गरिएको कारबाही भनेका छन् । इरानले हालै संंवर्द्धित युरेनियमको हतियार बनाउने कदम चालेको र यसलाई नरोक्ने हो भने निकै कम समयमा परमाणु हतियार बन्ने उनको दाबी छ । ‘केही महिना वा एक वर्षभन्दा पनि कम समयमा हुनसक्छ । र, यो इजरायलको अस्तित्वको लागि प्रष्ट खतरा हो’, नेतान्याहूले भनेका छन् ।
नेतान्याहूका अनुसार इजरायलले इरानको राजधानी तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा पर्ने नतान्जामा रहेको परमाणु संवर्द्धन कार्यक्रमको केन्द्रमा आक्रमण गरेको हो ।
यो त्यही ठाउँ हो, जहाँ २०२१ अप्रिलमा भएको साइबर आक्रमणका लागि इरानले इजरायललाई जिम्मेवार ठानेको थियो । नेतान्याहूका अनुसार इजरायलले इरानी बमका लागि काम गरिरहेका वैज्ञानिकहरुलाई निशाना बनाएको छ ।
उनले भनेका छन्, ‘यो इजरायलको अस्तित्वमा इरानको खतरा कम गर्न एक टार्गेटेड सैन्य अभियान हो । यो अभियान त्यो बेलासम्म जारी रहन्छ, जबसम्म जरुरी हुन्छ ।’
इरानले के भन्यो ?
होसेन सलामीको मृत्यपछि रिभोलुसनरी गार्डसका प्रमुखमा कुद्स फोर्सका पूर्व प्रमुख जनलर वाहिदीलाई नियुक्त गरिएको छ ।
साथै उनले आक्रमणको जवाफ दिन निर्देशन दिएका छन् । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेइनेले हवाई आक्रमण गरेर इजरायलले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यंभावी रहेको बताएका छन् ।
अमेरिकाले के भन्यो ?
अमेरिकाका विदेशमन्त्री मार्को रुबियाले पनि यस विषयमा बोलेका छन् । इरानमाथि भएको आक्रमणमा अमेरिका संलग्न नरहेको र कुनै सहायता समेत नदिएको उनले बताएका छन् ।
के हो इरानको परमाणु कार्यक्रम ?
इरानले लामो समयदेखि भन्दै आएको छ कि नागरिक परमाणु कार्यक्रम, परमाणुअस्त्र सम्पन्न राष्ट्र बन्नका लागि होइन । तर थुप्रै देश र अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी लगायतका संस्था इरानको यो दाबीसँग सहमत छैनन् ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)