नेभिगेशन
विश्व

विवाहको दुई हप्तामै युवकको हत्या, पत्नी शंकाको घेरामा

२९ वर्षीय राजा र २७ वर्षकी सोनम मध्यप्रदेश, इन्दौरका रघुवंशी परिवारका हुन् ।

उनीहरुको एक महिनाअघि अर्थात् ११ मे मा मात्र विवाह भएको थियो । विवाहपछि राजा कश्मिर घुम्न जान चाहन्थे । तर पहलगाम आक्रमणका कारण उनीहरुले कश्मिर भ्रमण रद्द गरे ।  

त्यसपछि सोनमले मेघालय घुम्न जाने योजना बनाइन् । बेंगलुरुबाट गुवाहटी पुगे । माता कामख्य मन्दिरको दर्शन गरे । २२ मेको विहान त्यहाँबाट मेघालयतर्फ लागे । 

सिलोङ पुगेर चेरापुञ्जीस्थित एक होमस्टेमा बसे । २३ मेको दिन विहानै होमस्टेबाट निस्किए । चेरापुञ्जीबाट ३३० किलोमिटर टाढा वाटर फल हेर्न गए । 

त्यस दिन दिउँसो १– सवा १ बजेसम्म उनीहरु परिवारसँग सम्पर्कमै थिए । तर त्यसपछि फोन सम्पर्क हुन सकेन । 

भोलिपल्ट पनि फोन नलागेपछि परिवारले खोजी गर्‍यो । सोनम र राजा दुवैजनाको परिवारका सदस्य सिलोङ आइपुगे ।

प्रहरीमा निवेदन दिए, तर प्रहरीले गम्भीर रुपमा नलिएको परिवारको गुनासो छ । यो विषय यति चर्कियो कि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवसम्म पुग्यो । त्यसपछि मेघालय पुलिसले अनुसन्धान तीव्र बनायो । 

सोधपुछका क्रममा स्थानीय गाइडले आफूले सर्भिस अफर गरेको, तर सोनम र राजाले अर्कैको सर्भिस लिएको बताए । र, यो पनि बताए कि तीन जनाको समूहमा रहेको उनीहरु हिन्दीमा कुराकानी गरिरहेका थिए । 

जबकी मेघालयमा हिन्दी बोलिँदैन । जहाँ वाटर फल छ, त्यो क्षेत्रमा लुटपाटका घटना भइरहन्थे । केही वर्ष पहिले हंगेरीबाट आएका पर्यटकको मृत्यु भएको थियो । त्यसले उनीहरु अपहरणमा त परेनन् भनेर आशंका भयो ।

खोजीका क्रममा ११ दिनपछि २ जुनमा राजाको हत्या गरेर फालिएको अवस्थामा पहाडको वाइसेडोङ फल्स नजिकै १५० फिट गहिरो खोँचमा शव भेटियो । 

शव पोष्टमार्टमका लागि अस्पताल लगियो । उनको परिवारका सदस्यले ट्याटुको आधारमा शव राजाको नै भएको पुष्टि गरे । त्यसपछि शव इन्दौर लगियो । 

राजाकी पत्नी सोनमको भने त्यतिबेलासम्म अत्तोपत्तो थिएन । कहाँ छिन् सोनम ? मेघालय प्रहरीमाथि गम्भीर अनुसन्धान नगरेको आरोप लाग्यो । त्यसक्रममा मेघालय प्रहरीले मध्यप्रदेश र उत्तर प्रदेश प्रहरीको सहयोगमा चार जनालाई पक्राउ गर्‍यो । 

फेरि ८ जुनको मध्यरातमा सोनम गाजीपुरमा देखा परिन् । एक ढावामा पुगेकी उनले फोन मागिन् । त्यहीँबाट परिवारका सदस्यलाई फोन गरिन् र रोइन् । 

त्यसबेलासम्म ढावा सञ्चालकले उनी को हुन् भन्ने थाहा पाएको थिएन । केहीबेरमा सोमनले कल गरेकै नम्बरबाट ढावा सञ्चालकलाई फोन आयो । उनले स्थानीय प्रहरीलाई खबर गरिदिन भनेपछि केहीबेरमा पुलिस आएर सोनमलाई लग्यो ।

अनि, यो घटनामा नयाँ ट्वीस्ट आयो । त्यो हो, सोनमकै योजनामा राजा रघुवंशीको हत्या । 

मेघालय पुलिसले पत्रकार सम्मेलन गरेर सोनमले नै प्रेमी राज कुशवाहसँग मिलेर कन्ट्र्याक्ट किलरमार्फत राजाको हत्या गराएको दाबी गरेको छ । 

सोनमका बाबुआमाले भने यसलाई मानेका छैनन् । तर उनका दाइ गोविन्दले भने राजको नाम आएसँगै आफूलाई शंका लागेको बताएका छन् । 

००० 

राज, सोनमको घरमा काम गर्ने कर्मचारी हुन् । सोनमका दाइले बताए अनुसार राज कामको सिलसिलामा घरमा आइरहन्थे । सोनमले

कार्यालयको काम सम्हाल्थिन् । उनीहरुको प्रेम सम्बन्ध रहेको अनुमान समेत थिएन । किनकी सोनम आफ्ना दाइसँगै राजलाई राखी बाँध्थिन् । 

त्यसैले परिवारले कुनै शंका गरेन । सोनमले पनि यसबारे परिवारलाई केही बताएकी थिइनन् । त्यसैले परिवारको सहमतिमा राजा रघुवंशीसँग मागी विवाह भयो । 

विवाहपछि हनिमुन मनाउन गए । यसको सबै योजना सोनमले नै बनाएकी थिइन् । त्यसक्रममा राजाको हत्या समेत योजनावद्ध भएको प्रहरीको भनाइ छ । 

अनुसन्धानमा संलग्न अधिकारीहरुले बताए अनुसार राज कुशवाह तीन जना कन्ट्र्याक्ट किलर लिएर पुगेका थिए । 

होमस्टेमा बसेका राजा र सोनम विहान साढे ५ बजे नै त्यहाँबाट निस्किएका थिए । उनीहरु चेरापुञ्जी ट्रेकमा गए । करिव २ हजार स्टेप पार गर्दा आकार राजपुत, विशाल सिंह चौहान र आनन्द कुर्मी पनि आइपुगे । 

जब उनीहरु वाइसेडोङ फल्स नजिक पुगे, राजामाथि आक्रमण भयो । उनीहरुले राजाको शवलाई खोल्सामा फालिदिए । त्यसपछि उनीहरु दुइटा स्कुटरमा फर्किएका थिए । 

प्रहरीका अनुसार राजले सोनमको योजनामा नै राजाको हत्या गरेको बयान दिएका छन् । 

तर सोनमले भने आफूलाई लागू औषध दिएर लगेको र गाजीपुर कसरी आइपुगेँ भनेर थाहा नपाएको दाबी गरेकी छन् । प्रहरीले भने अपहरणमा परेको भनेर सोमनले दिएको बयानमा कुनै आधार नभएको दाबी गरेको छ । 

प्रहरीले अहिलेसम्म सोनम र राजलाई सँगै राखेर सोधपुछ गरेको छैन । 

अहिलेसम्म उनीहरुलाई एक्लाएक्लै सोधपुछ भएको थियो । अदालतले सोनम र राजलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अब उनीहरुलाई सँगै राखेर सोधपुछ गर्दा थप खुल्ने मेघालय प्रहरीको अपेक्षा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व