नेभिगेशन
3 Minute

युद्ध चर्किएपछि नेपालीलाई इजरायल जान रोकिंदै 

इजरायल र इरानबीच युद्ध चलेपछि नेपाली श्रमिकहरु पठाउन केही समय रोकिने भएको छ । इजरायलस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई केही समय श्रमिक पठाउन रोक्न भनेको छ । 

विभागले परिस्थिति विश्लेषण गरेर केही समय श्रमिक पठाउने काम बन्द गर्न सक्ने जनााएको छ । आगामी ७ असारमा करिब ३५ जना नेपाली इजरायल जाने तयारीमा छन् । उनीहरु सरकारीस्तरबारै भाषा प्रक्रिया पूरा गरेर जाने तयारीमा रहेकाहरु हुन् । 

त्यतिबेलासम्म पनि परिस्थिति सामान्य नभए उनीहरुलाई रोकिने वैदेशिक रोजगार विभागको जीटूजी शाखा प्रमुख गिरिराज ज्ञवालीले जानकारी दिए । 

‘त्यहाँ युद्ध त सधैंजसो भइरहेकै छ, अहिले परिस्थिति गम्भीर बन्छ कि भन्ने चिन्ता भएकाले रोक्नुपर्छ कि भन्ने छ’, उनले भने, ‘श्रमिक पठाउने मितिसम्मको अवस्था हेरेर निर्णय लिन्छौं ।’ 

उनले दूतावासबाट केही समय श्रमिक पठाउन रोक्नुपर्ने सुझाव आएको पनि बताए । दूतावासले गर्ने रिपोर्टिङकै आधारमा श्रमिक पठाउने वा नपठाउने भन्ने निर्णय हुनेछ ।  

इजरायलमा युद्ध चलिरहे पनि सरकारले नेपाली श्रमिक पठाउन बन्द गरेको छैन । इजरायलसँग भएको जीटूजी सम्झौताअनुसार वैदेशिक रोजगार विभागले नै इजरायलमा केयर गिभर श्रमिक पठाइरहेको छ । 

इजरायलमा २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणमा १० जना नेपाली मारिएपछि सरकारले विमान पठाएरै इजरायलबाट नेपालीहरुको उद्धार गरेको थियो । हमासले आक्रमणपछि बन्धक बनाएका विपिन जोशीको अझै अत्तोपत्तो छैन । 

युद्ध शान्त हुन नपाउँदै फागुन २०८० ताका करिब २५० जना नेपाली इजरायलमा रोजगारीका लागि गएका छन् । सरकारले नै सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई इजरायल पठाइदिएको थियो । 

त्यसपछि आवेदन मागेर थप एक हजार जना जनालाई इजरायल पठाउने तयारी थियो । २०२३ अक्टोबरको युद्धयता नै ५३७ जना नेपाली इजरायल पुगिसकेका छन् ।  

वैदेशिक रोजगार विभागका अधिकारीहरुका अनुसार इजरायल जाने चरणमा रहेकाहरु जस्तो युद्ध भएपनि आफूलाई जान दिनुपर्ने बताइरहेका छन् । तर, सरकारले श्रम स्वीकृति नदिएसम्म उनीहरु जान भने पाउँदैनन् । 

रोजगारीमा जाने अवस्थाको मूल कारण बेरोजगारी, गरिबी र अभाव नै हो । त्यसमाथि सामाजिक रुपमा धेरै कमाउनुपर्ने दबाब र आफ्नो र परिवारको जायज रहर पूरा गरिछाड्ने चाहनाले युद्धलाई समेत बेवास्ता गर्दै विदेशिनेहरु बढेका छन् । 

वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालका अनुसार मान्छेमा जे पर्छ, त्यही टर्छ भन्ने भइसक्यो । किनकी देशभित्र केही हुन्न भन्ने निराशा फैलिएको छ । त्यसैले जोखिम लिएर विदेश जाने र पैसा कमाइ छाड्ने सोच पनि फैंलिँदैछ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute