अब ग्वार्कोमा जाममा बस्नुपर्दैन
अब ललितपुरको ग्वार्को लामो जाममा बस्नुपर्दैन । यहाँ बनेको ओभरपास माथिबाट चक्रपथको मूल लेनमा चल्ने गाडीहरु गुड्नेछन् ।
सर्भिस लेनमा सार्वजनिक सवारीहरु चल्नेछन् । ग्वार्कोमा क्रस गर्ने सवारीहरु चोकमै बनेको पुल मुनिबाट आ–आफ्नो बाटो भएर चल्नेछन् ।
यो ओभरपासमा अब तपाईं हामीले गाडी चलाउन पाउँछौंं । यो ओभरपास विस्तार भइसकेको चक्रपथमा बनेको छ ।
ग्वार्को चोकमा जामले सार्वसाधारण हैरान भएपछि ललितपुर महानगरपालिकाको पहलमा यसको निर्माणबारे छलफल अघि बढेको थियो ।
यसपछि सडक विभागले एकान्तकुना र ग्वार्कोमा फ्लाइओभर बनाउनेबारे अध्ययन गर्यो । आवश्यक र सम्भाव्य देखिएपछि विभागले सुरुमा ग्वार्को नै रोज्यो ।
अनि यसलाई ईपीसी अर्थात् ठेकेदारले नै डिजाइन गरेर निर्माण गर्ने गरी ठेक्का आह्वान गर्यो । आषि समानान्तर रेलिगेयर जेभीले यसको ठेक्का पायो । २ वर्षभित्र बनाउने गरी २०७८ माघ २७ गते ठेक्का सम्झौता गरेको भयो ।
ठेकेदारले अनुमानित लागतभन्दा करिब ३८.८ प्रतिशत कम मूल्यमा ठेक्का पाएको थियो । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनी ५ वर्षसम्म मर्मतसम्भार गर्न पनि तयार भएको थियो । ४ महिनामा डिजाइन बनाएर थप २० महिनाभित्रै ओभरपास बनाइसक्ने गरी सम्झौता भएको थियो ।
तर, कम्पनीले डिजाइन बनाउनै झण्डै एक वर्ष लगायो । तर, डिजाइन स्वीकृत भएर काम सुरु हुन अरु ६ महिना लाग्यो ।
२०८० को वैशाखबाट काम त सुरु भयो, तर ठेकेदारले पुलको डिजाइनअनुसार काम गर्न ठूला उपकरण नै ल्याउन सकेन । त्यसपछि डिजाइन नै परिवर्तन गरियो । पटक–पटक डिजाइन फेर्दा आयोजना भने लम्बिएको लम्बियै भयो ।
सुरुमा गरेको सम्झौता अनुसार २०८० फागुन ११ गते ओभरपास तयार हुनुपर्ने थियो । तर, काम नसकिएपछि २०८१ को असारसम्म, त्यसपछि पुससम्म, तेस्रोपटक २०८२ वैशाख र चौंथोपटक जेठसम्म ४ पटक म्याद थप गरियो ।
समयमै काम नभएपछि सडक विभागले ठेकेदार कम्पनीलाई प्रत्येक दिन कुल ठेक्का रकमको ०.०५ प्रतिशत हर्जना लगाइरहेको छ । यो भनेको दैनिक करिब ८८ हजार ५ रुपैयाँ हर्जना हो ।
गएको पुस ताका नै ओभरपास निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा सातदोबाटो तर्फको पर्खालमा ठूला चिरा देखिएपछि भत्काएर फेरि सुरुदेखि नै बनाउनु परेको थियो । अहिले ओभरपास तयार भएको छ ।
यो ओभरपासमा चक्रपथको बीच भागको मुख्य ४ लेन सडकमाथि आकाशेपुल बनाइएको छ । आकाशे पुललाई जोड्न बालकुमारी तर्फबाट ३२० मिटर र सातदोबाटो तर्फबाट १८५ मिटरको उकालो सडक अर्थात् र्याम्प तयार गरिएको छ ।
सडक उकालो बनाउन ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ वाल’ लगाइएको छ । दुईतिर प्रिकास्ट प्यानलहरु जोडेर पर्खाल लगाएर भित्र माटो भरिएको छ । ग्वार्को चोकमा पुल बनाएर उकालो सडकलाई त्यसमा जोडिएको छ ।
कसैले यो ग्वार्को ओभरपासलाई शहरका बीचमा भद्दा संरचना भनेका छन् । यसले शहरी सौन्दर्यलाई असर गर्ने उनीहरुको तर्क छ । कसैले फ्लाइओभर बनाउने भनेर पर्खाल लगाएर बाटो बनाएको भन्दै यसको डिजाइनमा प्रश्न उठाउने गरेका छन् ।
भलै जे होस्, अब ग्वार्को चोकमा जाममा बस्नु नपर्ने भएकाले यो संरचना ट्राफिक व्यवस्थापनमा सहयोगी बन्ने छ । तर, यस्तो संरचनाहरुको नियमित मर्मत सम्भार र सुरक्षामा सरकारको ध्यान जानुपर्छ । किनभने सडकको बीचमा बनेको यस्तो संरचनामा कुनै समस्या आएका त्यसले ठूला दुर्घटना निम्त्याउने जोखिम हुन्छ नै ।
नेपालका सडकमा बनेको यो नयाँ किसिमको संरचना भविष्यमा शहरी सडकहरुलाई स्तरोन्नति गर्ने मार्गदर्शन भने बन्ने छ । किनभने चक्रपथमा ग्वार्कोमा मात्रै जाम छैन ।
काठमाडौंका चोक–चोकमा जामको समस्या बिकराल छ । शहरमा धेरै ठाउँमा ग्वार्कोको जस्तो ओभरपास वा पुलसहितको फ्लाइओभर आवश्यक छ ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
