अमरेशले ७२ जिल्ला अरु देशलाई भाडामा दिऔं भनेपछि संसदमा होहल्ला
एमालेको आपत्ति, सभामुखले दिए मेटाउन निर्देशन
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कम बजेट पाउने जिल्लाहरु अरु देशलाई भाडामा दिऔं भन्ने अभिव्यक्ति दिएपछि संसदमा विवाद भएको छ ।
नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले सांसद सिंहको अभिव्यक्ति मेटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालयलगायतको बजेटमाथि छलफल थियो । छलफलमा भाग लिने क्रममा सांसद सिंहले ४–५ वटा जिल्लामात्र नेपालमा राखौं, अरु जिल्लाहरु अरु देशलाई लिजमा दिऔं भनेका थिए ।
उनको भनाइ थियो, ‘४–५ जिल्ला भाग्यमानी जिल्लाहरु छन् त्यसलाई नेपालमा राखौं, बाँकी ७७ जिल्लामध्ये ७२ जिल्लालाई लिजमा दिऔैं अरु देशलाई, अमेरिकालाई चाइनालाई भारतलाई दिऔ, बजेट नै जाँदैन भने त्यो जिल्ला नेपाललाई राख्ने, खाली ट्याक्स लिनलाई राख्ने ?’
उनले प्रमुख दलका शीर्ष नेताले देशको बजेटलाई निजी सम्पत्ति ठानेको भन्दै आपत्ति जनाए ।
सांसद सिंहको अभिव्यक्तिप्रति नेकपा एमालेका प्रमुख सचेत महेशकुमार बर्तौलाले आपत्ति जनाए । उनले सांसद सिंहले देशद्रोही अभिव्यक्ति दिएको भन्दै यसलाई कारबाहीको विषय बनाउन माग गरे । ‘यसलाई रेकर्डबाट मेटाउने मात्र होइन, मुलुकको स्वाभिमान र सार्वभौमिकताको विरुद्धमा रोष्ट्रमबाट थप बोल्न दिने विषयमा पनि सोच्नुपर्छ’, उनले भने ।
उनले संसदमा राष्ट्रघाती अभिव्यक्ति आफूहरु सुनेर बस्न सक्दैनौं भनेपछि सत्तापक्षका अरु सांसदहरु पनि उठेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भन्ने कुरा असंसदीय भन्दै त्यसलाई रेकर्डबाट मेटाउन निर्देशन दिए ।
सांसद सिंहले भने सभामुखको भनाइको पनि प्रतिवाद गरे । उनले सभामुखले दलको निर्देशन मानेको आरोप लगाए । ‘सभामुखलाई एमालेले जे निर्देशन दियो त्यही मान्छ भने त्यो एमालेको सभामुख हो’, उनले भने ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








