बनिसकेपछि थाहा भो ओभरपासमा सडक बत्ती छुटेछ, रातमा दुर्घटनाको जोखिम
अहिले जताततै ग्वार्कोमा बनेको ओभरपासको चर्चा छ । ग्वार्को चोकको लामो जाम हटाउने गरी बनेको सडक संरचनाको चर्चा अस्वभाविक होइन ।
तर, ओभरपास बनाउँदा यसको सुरक्षाका लागि आवश्यक महत्वपूर्ण कम्पोनेन्ट नै बनाउन छुटेको पाइएको छ । त्यो हो, सडकबत्ती ।
अहिले ग्वार्को ओभरपास भएर २४ घण्टा नै गाडी गुडिरहेका छन् । चक्रपथमा त झन् ठूला मालबाहक गाडी गुड्छन् ।
तर, यो ब्रान्डन्यू ओभरपासमा सडक बत्ती छैन । त्यसैले रातिको समयमा दुर्घटनाको जोखिम हुन्छ ।
विहान, दिउँसो र साँझ गाडीको चाप बीचमै पनि ग्वार्को ओभरपासमा तीव्र गतिमा गाडी हुइँक्याउनेहरु प्रशस्तै छन् । दिउँसो चक्रपथका कुनै कुनै ठाउँमा ट्राफिक प्रहरीले छड्के गति जाँच पनि गर्ने हुनाले चालकहरु सगज हुन्छन् ।
तर, रातिको सयममा चक्रपथमा गुड्ने गाडीहरुको गति अनियन्त्रित हुन्छ । यस्तो अवस्थामा ग्वार्को ओभरपासको चिल्लो सडक खालीजस्तै हुन्छ । तर, सडक बत्ती नहुँदा राति ओभरपास क्षेत्र अध्याँरो हुन पुग्छ ।
यसले गर्दा रातमा यो अग्लो संरचना माथि दुर्घटनाको जोखिम उच्च छ । राति वा लाइट कम भएको अवस्थामा ओभरपासको संरचना, रेलिङ, कर्भ एरिया राम्रोसँग नदेखिन सक्छ । पर्याप्त बत्ती भयो भने चालकले लेन, बाटोको अवस्था, कुनै अवरोध भए प्रष्ट देख्न सक्छ ।
बालकुमारी र सातदोबाटो तर्फबाट बनाइएका र्याम्प ग्वार्को चोकमाथि बनेको पुलमा जोडेर ओभरपास बनाइएको छ । यस्ता जोडिएका ठाउँमा बाटोको अवस्था एकनास हुँदैन । शहरी सडकमा रोड मार्किङ स्पष्ट देखिन पनि सडक बत्ती चाहिन्छ ।
अझ ओभरपासमुनिको लेनहरुबाट गुड्ने गाडीहरुले माथि लाइट नभएपछि असुरक्षित महसुस पनि गर्न सक्छन् । अझ यस्ता संरचनामा राति भिडियो बनाउन र सेल्फी खिच्न जानेहरु समेत हुनसक्छन् । फुटपाथ समेत नभएको यो ओभरपसमा लाइट नहुँदा अनेक जोखिम छ ।
डिजाइनमै छुट्यो, अनि राखिएन
खासमा ओभरपास बनाउने बेलामा सडक बत्ती राख्ने गरी डिजाइन गर्नुपर्ने हो । ईपीसी मोडल भएकाले यसको डिजाइन ठेकेदार कम्पनी आफैंले गर्नुपर्ने थियो ।
तर, लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम मूल्यमा ठेक्का हालेको आशिष समानान्तर रेलिगेयर जेभीले सडक बत्ती प्रस्ताव नै गरेन । सडक विभागले पनि सडक बत्ती विनाकै डिजाइन स्वीकृत गर्यो । त्यसैले ठेकेदारले यहाँ सडक बत्ती राखेन । सडक बत्ती त राखिएन नै, सडक बत्तीको पोल जोड्ने गरी यहाँ कतै स्थायी कंक्रिट संरचना पनि बनाइएन ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराही ठेक्काकै बेला ओभरपासमा बत्ती राख्न छुटेको स्वीर्काछन् । उनको भनाइ छ, ‘ठेक्काकै बेलामा त्यहाँ बत्ती राख्न छुटेको हो, अब सडक बत्ती जोड्न विद्युत प्राधिकरणसँग छलफल गर्दैर्छौं ।’
सडक बत्तीको पोल राख्ने गरी ओभरपासको दुबै डिलतिर कुनै संरचना तयार छैन । त्यसलाई अब भत्काउन मिल्दैन । त्यसैले अब बीचको डिभाइडर रहेको भागमा सडक बत्ती जोड्ने विकल्प छ । पोल गाड्नका लागि डिभाइडर सारेर खाल्डो बनाउनुपर्ने हुन्छ ।
त्यसपछि पोल जोड्ने गरी कंक्रिट संरचना तयार गरेर मात्रै पोल ठड्याउन मिल्छ । तर, यो काम पनि कहिलेसम्म हुन्छ भन्ने पत्तो छैन ।
लापरवाह सरकार
सडकमा महत्वपूर्ण संरचनाहरु बनाउँदा अत्यावश्यक युटिलिटीहरु नराख्ने समस्या नयाँ हैन । विगतमा चक्रपथ विस्तार गर्दा पनि सरकारले चोकहरुमा ओभरपास, अन्डरपास लगायतका संरचना मात्रै हैन, सडक र ट्राफिक लाइट समेत राखिएन ।
अहिले त्यही सडकमा यस्तो संवदेनशील संरचना बनाउँदा समेत सामान्य सडक बत्ती राख्न ध्यान दिइएन । यसले सरकारको लापरवाही प्रवृत्ति उदांगो बनेको छ ।
सरकार संवेदनशील हुन्थ्यो भने ग्वार्को ओभरपासमा सडक बत्ती जोडेपछि मात्रै उद्घाटन गर्थ्यो । तर, सडक तथा सवारी सुरक्षामा सरकार पहिलेदेखि नै गम्भीर छैन । त्यसैले निर्माणको काम सकेको एक दिन पनि नकुरी हतार–हतार यसलाई सञ्चालनमा ल्याइयो ।
तर, यहाँ रहेका जोखिमको साधारण मूल्यांकन समेत गरिएन । सवारी र यात्रु सुरक्षाको पक्षमा सरकारको गैरजिम्मेवार कार्यशैलीको ताजा र ज्वलन्त उदाहारण ग्वार्को ओभरपास हो ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
