एउटा महंगो विवाह, जसको भइरहेको छ सार्वजनिक विरोध

दुलहीको गाउनको मूल्य १५ लाख डलर छ, अनि औंठीको मूल्य ५० लाख डलर ।
विवाहका लागि ९५ वटा प्राइभेट जेट बुक गरिएको छ, अनि ३० वटा वाटर ट्याक्सी ।
निम्तालुहरु हुनेछन्, विश्वकै अर्वपति, सेलिब्रिटी, अनि उच्च राजनीतिकर्मीहरु ।
बेहुला ६१ वर्षका छन् र बेहुली ५५ वर्षकी ।
र, यो विवाहलाई वेडिङ अफ दि सेञ्चुरी भनिएको छ ।
यो विवाह हो, विश्वकै तेस्रा धनी व्यक्ति एवं अमेजनका मालिक जेफ बेजोस र पूर्व टेलिभिजन प्रस्तोता लरेन साञ्चेजको ।
विवाह इटलीको भेनिसमा भइरहेको छ । विवाह समारोह बिहीबार सुरु भएको थियो, शनिबार सकिनेछ ।
अहिले यो विवाहले विश्वकै ध्यान खिचेको छ । एकातिर विवाहको उत्सव छ, अर्कोतिर भेनिस शहरमा यसको विरोध पनि ।
जेफ बेजोस र लरेन साञ्चेज, दुबै जनाको यो दोस्रो विवाह हो ।
जेफ बेजोसले सन् १९९३ मा मेकेन्जी स्कटसँग विवाह गरेका थिए । उनीहरुको दाम्पत्य जीवन २५ वर्षसम्म चल्यो ।
सन् २०१९ मा उनीहरुले सम्बन्धबिच्छेद गरे ।
त्यस्तै लरेन्ज सान्चेजले पनि सन् २००५ मा हलिउड एजेन्ट प्याट्रिक ह्वाइटसेल सँग विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी पनि छन् । उनले पनि सन् २०१९ मै सम्बन्धबिच्छेद गरिन् ।
भएको के थियो भने सन् २०१८ मा जेफ बेजोस र लरेन्ज आपसमा डेट गरिरहेको खबर सार्वजनिक भयो ।
त्यसपछि उनीहरुले आआफ्ना दम्पत्तिसँग सम्बन्धबिच्छेद गरे ।
त्यसपछि खुलेर प्रेम साट्न थाले । पछिल्लो समय यो जोडी विश्वका धेरै ठाउँमा सँगै घुमेको छ । धेरै इभेन्टहरुमा पुगेको छ । उनीहरुले यसअघि नै विवाह गर्न खोजेका थिए, तर अहिलेमात्र त्यो समय जुर्यो ।
अमेरिकी समाचार संस्था सीएनएनले १५ औं शताब्दीको चर्च मेडोना डेलओर्टोमा विवाह समारोह हुने भनेको छ ।
विवाह भोज भने भेनिसको आर्सनलमा हुनेछ । यो ठाउँ चारैतिर पानीले घेरिएको छ र पुल तरेपछि मात्र जान सकिन्छ ।
विवाहमा इलन मस्क, बिल गेट्स, मार्क जुकरबर्ग लगायतका अर्वपतिहरु सहभागी हुने अनुमान छ ।
डोनाल्ड ट्रम्पकी छोरी ज्वाइँ इवांका ट्रम्प र जेरेड कुशनरलाई पनि बोलाइएको छ भने लियोनार्दो डिक्याप्रियो, किम कार्डिसियन, केटरी परी लगायतका सेलिब्रेटीहरु पनि विवाह समारोहमा सहभागी हुने अनुमान छ ।
उनीहरुका लागि भेनिसका विलासी होटलहरु अमन भेनिस, सिप्रियानी ग्रिटी प्यालेसलगायतका आधा दर्जन होटल बुक गरिएको छ ।
बेजोसको विवाह समारोहका कारण भेनिसमा भिडभाड बढेको छ । सुरक्षाका कारण गाडीहरु डाइभर्सन र रिरुट गरिएका छन् । भेनिसमा पर्यटकहरुले भरिभराउ हुने सडकहरु बन्द गरिएको छ, खाली राखिएको छ ।
जेफ बेजोसको विवाहले भेनिसमा ग्लोबल एटेन्सन ल्याएको छ । तर अहिले भेनिस आएका पर्यटकहरुले बासको समस्या ब्यहोर्नुपरेको छ ।
ऐतिहासिक शहर भेनिसले यति भव्य समारोह आयोजना गर्न कठिन हुने पनि कतिपयले बताएका छन् ।
किनकी भेनिस शहर विश्वमै धेरै पर्यटकको आवागमन हुने शहर मानिन्छ । त्यही अर्वपतिहरुको जमघट हुँदा सुरक्षा व्यवस्था कडा हुने नै भयो ।
यसले पर्यटकहरुलाई असुविधा भएको भनेर विरोध भइरहेको छ ।
शहरका ठाउँ ठाउँमा नो स्पेस फर बेजोसको नारा लागिरहेको छ । स्थानीय तथा अभियन्ताहरुले यो विवाह खुला ठाउँमा नगरेर अरु नै ठाउँमा गर्नुपर्ने माग गरेका छन् ।
भेनिसका मेयरले भने यो विवाहले शहरलाई फाइदा हुने भन्दै समर्थन गरेका छन् । उनका अनुसार यो विवाहबाट भेनिसमा ४९ मिलियन युरोको व्यापार हुनेछ ।
जेफ बेजोस सन् १९६४ मा अमेरिकाको न्यू–मेक्सिकोमा जन्मिएका हुन् । उनले इ कमर्सको व्यापार विस्तारमा ठूलो भूमिका खेलका छन् ।
अनलाइन मार्केट प्लाटफार्म अमेजनको उनी संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । अमेजनले अहिले विश्वभर २४ सै घण्टा अनलाइन ब्यापार सञ्चालन गरिरहेको छ ।
उनी एकसमय विश्वकै धनी व्यक्ति थिए । मेकेन्जी स्कटसँग सम्बन्ध विच्छेद गर्दा उनले आधा सम्पत्ति दिनु परेको थियो ।
अहिले पनि बेजोसको कुल सम्पत्ति २३० बिलियन डलर छ । उनी अहिले विश्वका धनीहरुको सूचीमा तेस्रो स्थानमा छन् ।
उनीभन्दा अगाडि इलन मस्कको सम्पत्ति ३८५ बिलियन डलर छ र मार्क जुकरबर्गको २४६ बिलियन डलर छ ।
पूर्व टीभी प्रस्तोता लरेन सान्चेज सन् १९६९ मा अमेरिकाको न्यूमेक्सिकोमा जन्मेकी हुन् । रिपोर्टिङबाट करिअर सुरु गरेकी उनले फक्स स्पोर्टस् च्यानलमा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तोता लगायतका काम गरिन् । उनले पाइलट तालिम पनि लिएकी छन् । हाल उनी एक एभिएसन कम्पनीको मालिक छिन् ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
