नेभिगेशन
3 Minute

बार अध्यक्ष हुँदाहुँदै न्यायाधीश सिफारिस भएका पोखरेलमाथि प्रश्नैप्रश्न

प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई आइतबार संसदीय सुनुवाइमा धेरै सांसदहरुले बारको अध्यक्ष हुँदाहुँदै किन न्यायाधीश हुन खोजेको भनेर प्रश्न गरे । 

पोखरेल गत पुस २० गतेमात्र सर्वोच्च बारको अध्यक्ष निर्वाचित भएका थिए । उनलाई जेठ २७ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

आइतबार कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र एमाले सांसद महेशकुमार बर्तौलाले २ वर्षका लागि सर्वोच्च बारको अध्यक्ष निर्वाचित भएपछि न्यायाधीश हुन जाँदा नैतिकतामा प्रश्न उठ्ने बताए ।

सर्वोच्च बारको अध्यक्ष निर्वाचित भएपछि पोखरेलले आफू कुनै पद लिन्न भनेर प्रतिवद्धता गरेको भन्दै सांसद बर्तौलाले सोधे, ‘प्रस्तावित न्यायधीश हुनेवित्तिकै खुट्टा उचालेर ६ महिना अगाडि गरेको कमिट्मेन्ट च्यातेर हिँड्न मिल्छ ?’

‘आज वकिलहरु पद पाउनेवित्तिकै जे पनि गरिहाल्छन् भन्ने स्थापित गर्न खोजेको हो हामीले ?’,सांसद बर्तौलाको अर्को प्रश्न थियो । 

यसअघि पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि महान्यायाधिवक्ता हुँदाहुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । उनी नेपाल बार एशोसिसनको अध्यक्षको कार्यकाल पूरा नहुँदै महान्यायाधिवक्ता नियुक्त भएका थिए । 

महान्यायाधिवक्ताको कार्यकाल बाँकी छँदै सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । त्यतिबेला कानुन व्यवसायी वृत्तबाटै कार्कीको आलोचना भएको भन्दै सांसद बर्तौलाले अहिले पोखरेलको हकमा पनि त्यही प्रश्न उठेको बताए ।

‘मेरो व्यक्तिगत मत के हो भने स्वविवेकी ढंगबाट यो प्रक्रियाबाट अलग्गिनु राम्रो हुन्छ । यो भन्दा अगाडि नजाने गरी बाहिरिनु राम्रो हुन्छ’, उनले भने । 

एमाले सांसद बर्तौलाले पोखरेललाई अमुक व्यवसायिक घरानाको प्रतिनिधित्व गरेर अदालत जान लागेको आरोप पनि लागेको बताए । 

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि सर्वोच्च अदालत बारको कार्यकाल बाँकी छँदै न्यायाधीश बन्दा पोखरेलको नैतिकतामा प्रश्न उठ्ने बताए । 

‘२ वर्षका निर्वाचित भएपछि समय नपुग्दै किन सर्वोच्चमा जानुपर्‍यो, यसले उहाँको उच्च नैतिकतामाथि व्यवहारिक रुपमा प्रश्न चिह्न ल्याउँछ कि ल्याउँदैन ?’ सांसद कार्कीको प्रश्न थियो । 

माओवादी सांसद जनार्दन शर्माले न्यायाधीशहरुले आफूसमक्ष आएका प्रमाण मात्र हेर्ने तर मुद्दाको तथ्य नहेर्ने देखिएको बताए । 

उनले महम्मद अफताव आलमको मुद्दामा हालै उच्च अदालतले गरेको फैसलाप्रति संकेत गर्दै भने, ‘घटना र तथ्य एकातिर फैसला अर्कोतिर हुने गरेको छ ।’  

प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध कीर्ते कागज बनाएर सांसद विनोदकुमार चौधरीलाई फाइदा हुने अदालतमा पेश गरेको आरोप समितिमा परेको थियो । 

पोखरेलले आफूले कानुन व्यवसायीका रुपमा कीर्ते कागज पेश नगरेको बताए । अदालतमा कुनै वकिलले कागज पेश गर्‍यो भने त्यसको पछाडि लेखेकै हुन्छ, यो मुद्दाकै एउटा पार्ट भनेर, त्यो कागज पेश गरेको होइन’, उनले भने ।

यो विषयमा कानुन व्यवसायी परिषदमा उजुरी पर्दा उजुरीकर्ताको क्षेत्राधिकार छैन भनेर लगत कट्टा गरिदिएको उनले बताए ।

पोखरेलले सर्वोच्च अदालत बारको अध्यक्ष हुँदाहुँदै न्यायाधीशका लागि सिफारिस भएपछि त्यसलाई स्वीकार गर्नु आफ्नो दायित्व भएको बताए ।

हरेक नागरिकले राज्यले चाहेका बेला अनिवार्य सेवा गर्नुपर्छ भन्ने संविधानकै व्यवस्था भएकाले आफूले स्वीकार्नुपर्ने उनको भनाइ छ । 

‘म बारमा २ वर्ष काम गर्न गएको हो, त्यो वैधानिक नैतिकता हो, तर संवैधानिक नैतिकता त्यो भन्दा ठूलो हुन्छ कि सानो हुन्छ ? उनले प्रश्न गरे, ‘...न्यायालयमा आउनुपर्छ भनेपछि मैले त्यसलाई कसरी रिजेक्ट गर्न सक्छु् ?’ 

न्यायाधीश भएमा स्वार्थको द्वन्द्व भएको मुद्दा नहेर्ने र वकिलका रुपमा रहेका व्यवसायिक सम्बन्ध पनि अन्त्य गर्ने बताए । ‘सामाजिक र फ्यामिली म्याटरबाहेक व्यवसायिक कुराहरुमा म कनेक्सन राख्दिन’, वरिष्ठ अधिवक्तासमेत रहेका पोखरेलले भने । 

उनले आफू राजनीतिक गतिविधिबाट पनि टाढा रहने प्रतिवद्धता जनाएका छन् । 

‘मानिस राजनतिक कन्सस प्रणाी हो, केही न केही राजनीतिक चेतना न्यायाधीशहरुमा पनि हुन्छ, तर न्यायाधीश भएर मन्दिरभित्र छिरिसकेपछि राजनीतिको जुत्ता र टोपी खोल्नैपर्छ’, प्र्रस्तावित न्यायाधीश पोखरेलले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute