थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङत्रान सिनावात्रालाई निलम्बन गरेको छ । गत महिना छिमेकी देश कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरेको फोन कल लिक भएपछि उनीमाथि राजीनमाको दबाब बढेको थियो ।
लिक भएको फोन कलमा उनले हुन सेनलाई अंकल भनेकी थिइन् र थाइ सेनाका कमाण्डरको आलोचना गरेकी थिइन् ।
यो घटनापछि सांसदहरुको एक समूहले प्रधानमन्त्रीको भनाइ संविधान विपरीत रहेको भन्दै संवैधानिक अदालतमा मुद्दा दिएको थियो । जसमाथि सुनुवाइ गर्दै संवैधानिक अदालतले उनलाई निलम्बन गरेको हो । संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये ३ जनाले निलम्बनको पक्षमा र २ जनाले निलम्बनको विपक्षमा मत दिएका थिए ।
निलम्बनको आदेशविरुद्ध प्रधानमन्त्री पेतोङत्रानले १५ दिनभित्र अपिल गर्न सक्नेछिन् ।
त्यतिन्जेलका लागि भने उपप्रधानमन्त्रीले कार्यबाहक प्रमुखको रुपमा देश चलाउनेछन् ।
हुन सेनसँग सीमा समस्याका विषयमा गरेको वार्ता सार्वजनिक भएपछि प्रधानमन्त्री पेतोङत्रान आलोचनाको तारो बनेकी थिइन् । त्यही घटनापछि सत्ता गठबन्धनको दोस्रो ठूलो दलले गठबन्धन छाडेको घोषणा गरेको थियो ।
प्रधानमन्त्री पेतोङत्रानले भने आफूले समस्या समाधान गर्न नरम देखिने प्रयास गरेको स्पष्टीकरण दिएकी थिइन् । आलोचना बढ्दै गएपछि मंगलबार पनि उनले माफी मागेकी थिइन् ।
थाइल्याण्डमा आफ्नो कार्यकाल पूरा नगर्दै कार्यकारी प्रमुखबाट पदमुक्त हुनेमा हालकी प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा परिवारकी तेस्रो सदस्य हुन् । यसअघि उनका बाबु थाक्सिन सिनावात्रा र फुपु यिनलक सिनवात्रा पनि कार्यकाल पूरा नगर्दै पदमुक्त भएका थिए ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






