पाटनमा २ वर्ष पुराना मुद्दा समाप्त, ९ न्यायाधीशले गरे हजार मुद्दाको फैसला
पाटन उच्च अदालतले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरेको छ । गत साउनमा नयाँ आर्थिक वर्ष सुुरु हुँदा दुई वर्ष नाघेका मुद्दा ४०७ वटा रहेको थियो । अहिले ती सबै मुद्दामा फैसला भइसकेको उच्च अदालतले जनाएको छ ।
अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार पाटन उच्च अदालतले दुई वर्ष पुराना मुद्दा सबै फरछ्यौट गरेको यो पहिलो पटक हो ।
उच्च अदालत पाटनले २०८१ साउनदेखि २०८२ असार २५ गतेसम्म ११ हजार २३४ थान मुद्दा फर्छ्यौट गरेको छ । अब १८ महिना नाघेका जम्मा २२ वटा मात्र मुद्दा बाँकी छन् । अरु सबै मुद्दा १८ महिना भन्दा कम अवधिका हुन् ।
पाटन मुद्दाको चाप सबैभन्दा धेरै हुने उच्च अदालत हो । यसको पाटनमा र हेटौैंडामा गरी दुई वटा इजलास छ । अदालतमा ३६ जना न्यायाधीशको दरबन्दी छ । तर यो एक वर्ष अवधिमा जम्मा २२ जना मात्र न्यायाधीश थिए ।
यो एक वर्षमा ९ जना न्यायाधीशले एक हजार भन्दा धेरै मुद्दामा फैसला गरेको उच्च अदालतले जनाएको छ । अरु केही न्यायाधीशले पनि असार मशान्तसम्म एक हजार मुद्दा फैसला गर्ने सम्भावना रहेको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
पाटन उच्च अदालतमा अघिल्लो आर्थिक वर्षकै बाँकी मुद्दा ५ हजार १६२ थिए । साउनयताको एक वर्षमा ११ हजार ८४५ मुद्दा दर्ता भए । यो वर्ष असार मशान्तसम्म ११ हजार २३४ मुद्दा फैसला भए भने ५ हजार ७७३ मुद्दा बाँकी छन् ।
यस वर्ष अघिल्लो वर्षमा भन्दा १७१८ वटा बढी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । मुद्दा फैसला चाहिँ गत वर्ष भन्दा १२ सय ३२ वटा बढी भएको छ ।
अदालतले विकास निर्माण, कर, राजस्व विषयसँग सम्बन्धित पुराना मुद्दाहरु बाँकी नरहेको दाबी गरेको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



