बालेनले जे चाहेनन्, त्यही हुने भयो
काठमाडौंका मेयर बालेनले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदेऊ भनेर सिंहदरबारलाई गुहारेको करिब ६ महिना भयो । उनी यसका लागि संघीय सरकारसँगमात्रै हेन, महानगरभित्र उउपमेयर र वडाध्यक्षहरुसँगै लडे-भिडे ।
उनले असार १० सम्म ल्याउनुपर्ने नयाँ आर्थिक वर्ष २०८२/८३को बजेट समेत रोके । तर, उनको केही लागेन । अब मेयर बालेन गलेका छन् ।
अब त उनी आफैंले भ्रष्टाचारी आरोपित गरेको प्रमुख प्रशासीकय अधिकृतलाई नै स्वीकारेर कार्यपालिका बैठक र नगरसभा गर्न तयार भएका छन् ।
हो, अन्तत: काठमाडौं महानगरपालिकाको बजेट नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा अघि नै आउने भएको छ । मेयर बालेन शाहले भोलि असार २७ गतेका लागि नगर कार्यपालिकाको बैठक बोलाएका छन् ।
मेयरको निर्देशन अनुसार करिब ६ महिनापछि बजेट ल्याउन नगरसभा बोलाउने एजेन्डासहित कार्यपालिका बैठक कल भएको छ ।
मेयर शाहले भोलि दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । वडाध्यक्षसहित सबै कार्यपालिका सदस्यलाई बैठकमा उपस्थितिका लागि पत्र पुगेको छ ।
त्यसअघि विहान ११ मेयरसहित महानगरको बजेट स्रोत अनुमान समितिको बैठक पनि बस्ने छ ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादमा कारण मेयर शहाले गत पुसदेखि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका थिएनन् । बैठक नबोलाउँदा महानगरको बजेट अनिश्चित भएको थियो ।
मेयर शाह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ उपस्थित हुने कुनै पनि बैठक नबोलाउने अडानमा थिए ।
जबकी कानुनत: कार्यपालिका बैठकमा सदस्य सचिवका हैसियतमा प्रमुख प्रशासकीय अधिकृतले नै माइन्युट लेख्नुपर्छ । नगरसभामा समेत प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिवका हैसियतमा मञ्चमै बस्नुपर्ने हुन्छ ।
तर मेयर बालेनले काठमाडौं टावरको नक्सापासमा अनियमितता गरेको आरोप लगाउँदै गुरागाइँलाई हाजीर गर्न रोक लगाएका थिए । उनलाई सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए । संघीय सरकारले मेयरको चाहाना अनुरुप नयाँ प्रमुख प्रशासीकय अधिकृत पठाउन सहयोग गरेन ।
बरु कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुको सहयोगमा चैत २१ मा गुरागाईँ महानगरमा हाजिर भएपछि मेयर बोलन निकै रुष्ट बनेका थिए । त्यसपछि पनि मेयरले कार्यपालिका बैठक बोलाउन रुची दिएनन् । गुरागाइँलाई भ्रष्टाचारीको संज्ञा दिँदै उनीसँग बैठक नबस्ने उनको अडान थियो ।
सरकारमाथि दबाब बढाउन उनले महानगरका विषयगत समितिका सभापतिहरु फेर्ने निर्णय गरेका थिए । मेयर बालेनले सामाजिक सञ्जालहरुबाटै प्रधानमन्त्रीविरुद्ध तिखा अभिव्यक्तिहरु समेत दिएका थिए ।
तर उनको कुनै पनि जोडबलले काम गरेन । गत जेठ २८ मा ३ महिनापछि दलीय जनप्रतिनिधिसँग सम्वाद समेत गरेका मेयर बालेनले गुरागाइँको सरुवा भए समयमै बजेट आउने बताएका थिए । कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले साथ पनि दिंदै गुरागाइँको सरुवाको लागि पहल पनि गरेका थिए ।
तर संघीय सरकार टसकामस भएन । यसपछि मेयर बालेनसँग अन्तिम अस्त्र थियो, असार १० मा ल्याउनुपर्ने बजेट समेत रोक्ने । उनले त्यही गरे । बजेट नै नल्याएर दबाब दिँदा संघीय सरकारले गुरागाइँलाई सरुवा गर्ला भन्ने मेयरको अपेक्षा थियो । तर नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा पनि सरकारले गुरागाइँको सरुवा गरेन ।
बरु पछिल्ला केही दिनअघि गुरागाइँले आफूलाई कारवाही गर्ने मेयरको प्रयासविरुद्ध कडा अभिव्यक्ति दिए । अनि उपमेयर सुनिता डंगोलले पनि सामाजिक सञ्जालबाटै प्रमुख प्रशासकीय अधिकृतविना बैठकहरु बस्न नसक्ने अभिव्यक्ति दिइन् ।
आगामी साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ । बजेट नल्याए महानगर ‘बजेट होलिडे’को अवस्थामा जान्छ । यसले साधारण खर्चबाहेक विकासका कामहरु रोकिन्छन् । महानगरले बैंकमा भएको पैसा समेत चलाउन पाउँदैन ।
यो कानुनी र आर्थिक जटिलतामा महानगरलाई पार्न नहुने निष्कर्षसहित मेयर बालेनले कार्यपालिका बैठक बोलाएका हुन् । मेयर बालेनका स्वकीय सचिव भुपदेव शाह समयमै बजेट नआउँदा विकासको काममा असर पर्ने भएकाले कार्यपालिका बैठक बोलाएको बताउँछन् । उनी भन्छन्, ‘बजेटबारे मेयर सम्वेदनशील हुनुहुन्छ, नियमअनुसार जसरी बस्नुपर्ने हो, त्यसरी नै कार्यपालिका बैठक बस्छ ।’
अब मेयर बालेनले जे चाहेका थिएनन्, त्यही हुने भयो । प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसँगै बैठक बस्नुपर्ने भयो ।
महानगरका अधिकारीहरुका अनुसार केही समयअघिसम्म कार्यकारी अधिकृत गुरागाइँ मेयरले नचाहेका बैठकमा अनुपस्थित हुन तयार नै थिए । त्यसका लागि उनी विदामा बस्ने र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैठकमा हाजिर हुने विकल्प थियो । तर पछिल्लो सयममा उनले आफ्नो अधिकारबमोजिम स्रोत अनुमान समिति र कार्यपाकिला बैठक दुबैमा बस्ने अडान लिए । उपमेयरसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरु पनि गुरागाइाविना बैठक बस्न नहुने पक्षमा उभिए ।
बजेट नरोक्न चौतर्फी दबाब परेपछि मेयर बालेनले गुरागाइँकै उपस्थितिबीच कार्यपालिका बैठक गर्ने मनस्थिति बनाएका हुन् ।
अब भोलिको स्रोत अनुमान समितिको बैठकले काठमाडौंको बजेटको आकारबारे निर्णय गर्नेछ । स्रोत अनुमान अनुसार वडा र महानगरका विभागहरुको बजेट सिलिङ तोक्ने छ । सिलिङअनुसार अहिले महानगरका कर्मचारीले तयार गरेको मस्यौदा बजेट तथा कार्यक्रममा केही संशोधन हुनेछ ।
बजेट पेश गर्ने मिति भने कार्यपालिका बैठकले तोक्ने छ । नगरसभा बोलाउने छ । नगरसभामा बजेट पेश भएपछि छलफलपछि बजेट पारित गर्नुपर्ने हुन्छ । नगरसभामा पनि सदस्यसचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत बस्नुपर्ने भएकाले अबका केही दिन मेयर बालेन र गुरागाइँ एकै मञ्चमा देखिने सम्भावना छ ।
यो बालेनले चाहँदै नचाहेको कुरा हो । तर, ६ महिना कार्यपालिका रोक्दा पनि उनले नचाहेकै कुरा हुँदैछ ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
