नेभिगेशन
अर्थतन्त्र

काठमाडौंको बजेट २५ अर्ब ७६ करोड 

देशकै ठूलो महानगर काठमाडौंले आज बजेट ल्याएको छ । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृतबीच तिक्ततापूर्ण सम्बन्धका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकेको समय भन्दा करिब २० दिन ढिला बजेट ल्यायो। 

नीति तथा कार्यक्रम पेश गर्दै मेयर बालेनले काठमाडौंलाई समावेशी, सुशासनयुक्त प्रविधिमैत्री, सुरक्षित वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट शहरको रुपमा विकास गर्ने बताए । 

उनले नयाँ नीतिहरु केही घोषणा गरेनन् । गत वर्ष घोषणा गरेको र कार्यान्वयन हुन बाँकी नीति, कार्यनीति र योजनालाई नै निरन्तरता दिने मेयर शाहले बताए । 

आगामी आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंले २५ अर्ब ७६ करोड ४३ लाख ४१ रुपैयाँको बजेट ल्याएको छ । यो भनेको छिमेकी महानगर ललितपुरको तुलनामा तीन गुणा बढी हो । ललितपुर महानगरको बजेट जम्मा ७ अर्ब ४६ करोडको छ । 

वीरगञ्ज महानगरपालिकाको भन्दा करिब ८ गुणा बढी हो । वीरगञ्जले जम्मा ३ अर्ब २२ करोडको बजेट ल्याएको छ । 

राजधानी शहर भएकाले यहाँ उद्योग, व्यवसाय र घरहरु पनि धेरै छ । तिनीहरुबाट संकलन हुने कर महानगरको प्रमुख आम्दानी हो । संघीय र प्रदेश सरकारले पनि काठमाडौं महानगरपालिकालाई नै धेरै अनुदान दिन्छन् । 

काठमाडौंको सञ्चित कोष पनि धेरै नै बलियो छ । आगामी आर्थिक वर्षको बजेटको स्रोतमध्ये आन्तरिक आय र बैंकमा रहेको रकम नै २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ छ । अनि संघीय सरकार र प्रदेश सरकारले दिने अनुदान रकमहरु ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ छ । 

उपमेयर सुनिता डंगोलका अनुसार आगामी वर्षका लागि आर्थिक विकासमा ७५ करोड ३४ लाख र सामाजिक विकासमा ५ अर्ब २ करोड विनियोजन गरिएको छ । 

त्यस्तै पूर्वाधार विकासमा १२ अर्ब ८० करोड ८३ लाख, सुशासन तथा अन्तरसम्बन्धको क्षेत्रमा ३ अर्ब १ करोड अनि कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ५१ करोड  विनियोजन गरिएको छ । 
कुन शीर्षकमा कति बजेट छुट्याइयो भन्ने खुलाइएको छैन । पूर्वाधार योजनालाई प्राथिमकतामा राखेको, फोहोमैला व्यवस्थापन, विद्यालय सुधार, एक वडा उद्यमशीलता कार्यक्रम जस्ता कार्यक्रम घोषणा गरिएको छ । 

त्यस्तै ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायात व्यवस्थित गर्ने, सम्पदा स्थल संरक्षण गर्ने आदि शीर्षक घोषणा गरिएको छ । तर बजेट कति छुट्याइयो उल्लेख गरेको छैन । 

धेरै बजेट भएपनि काठमाडौं महानगरपालिका खर्च गर्ने मामिलामा भने ज्यादै कमजोर छ । कुल बजेटको करिब आधाजसो मात्र खर्च हुन्छ । आर्थिक वर्ष २०८१/८२ मा महानगरपालिकाले २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

त्यसमध्ये असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यो कुलबजेटको करिब ५२.१३ प्रतिशत हो । 

विकास निर्माणमा खर्च भएको रकम त झन् थोेरै छ ।  पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार विनियोजन गरेकामा ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ मात्र खर्च गरेको छ । यो भनेको करिब ४४.७२ प्रतिशत हो । 

चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन गरेकामा ६ अर्ब २२ करोड ९९ लाख ८० हजार मात्र खर्च गरेको छ । यो भनेको ६३.४२ प्रतिशत हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र