नेभिगेशन
3 Minute

कहिले खुल्छ कोरियन भाषा परीक्षाको आवेदन ?

गत वर्ष कोरियन भाषा परीक्षाको आवेदन नै खुलेन । २०२५ को पनि आधा वर्ष बितिसक्यो । तर भाषा परीक्षाको सुरासर छैन । कहिले हुन्छ कोरियन भाषा परीक्षा ?

देशमा रोजगार छैन । त्यसैले धेरै युवा वैदेशिक रोजगारीमै जान बाध्य छन्  । नेपालीहरु कामका लागि जाने देशहरुमध्ये सबैभन्दा आकर्षक गन्तव्य हो कोरिया । त्यसमाथि सरकारले नै पारदर्शी ढंगले परीक्षा चलाउने, अनि निश्चित शुल्क लिएर लैजाने भएकाले कोरिया जान चाहाने धेरै छन् ।

धेरै युवा दिनरात नभनी कोरियन भाषा पढिरहेका छन् । परीक्षाको तयारी गरिरहेका छन् । तर डेढ वर्ष भइसक्यो कोरियन भाषा परीक्षा हुन सकेको छैन । यो भाषा परीक्षामा पास नभई रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कोरिया जान पाइँदैन ।

विगतका वर्षहरुमा उत्पादनमूलक र कृषि समूहमा मंसिर–पुसतिरै भाषा परीक्षाका लागि फारम खुल्थ्यो । तर गत वर्ष कोरियाले आवेदन माग्ने मिति नै तोकेन । आवेदन नमागेपछि परीक्षा हुने कुरै भएन ।

प्रक्रिया अनुसार कोरियाको मानव संशाधन विभागले कति नेपाली लैजाने भनेर कोटासहित कार्यतालिका  पठाउँछ । त्यसअनुसार नेपालको ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन माग्छ । परीक्षाको तयारी गर्छ र मिति तोकेर परीक्षा चलाउँछ ।

तर, सन् २०२३ यता नेपालले यस्तो कोटा र तालिका पाएको छैन । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका प्रवक्ता कमल श्रेष्ठका अनुसार सन् २०२४ मा कोरियाले कुनै पनि क्षेत्रमा कामदार लिने गरी कोटा नै पठाएन । त्यसैले कोरियाली भाषा परीक्षा भएन ।

सन् २०२५ मा भने कोरियाले कोटा पठाउने शाखाको अपेक्षा छ । साथै नयाँ क्षेत्रमा कामदार लैजाने अनुमान छ । कोरियाले अहिलेसम्म उत्पादन, कृषि, सिप बिल्डिङमा नेपाली श्रमिक लगेको छ । अब भने वन र सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने आश्वासन कोरियाली पक्षले दिएको छ ।

तर भाषा परीक्षा पास गरेका श्रमिकहरु नै लैजान बाँकी भएकाले नयाँ परीक्षा लिन रुची देखाएको छैन ।

सन् २०२३ मै उत्पादनमुलक समूहमा एक लाख ६३ हजार जनाले कोरियन भाषा परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये १३ हजार पास भएका थिए । उनीहरु कोरिया जाने क्रम चलिरहेको छ ।  
कृषितर्फ भाषा परीक्षा पास गरेका साढे ६ हजार र सिप बिल्डिङतर्फको ३४ सय जना पनि भिसा कुरिरहेका छन् । १५ सय जना पहिले कोरिया गएर फर्केकाहरु सीभीटी परीक्षा पास गरेर कोरिया जाने क्रममै छन् ।Untitled-3-1752670028.jpg
भाषा परीक्षा पास गरेकाहरु रोस्टरमा नाम चढेको २ वर्षभित्र कोरिया जान पाउँछन् । २ वर्षसम्म भिसा र लेबर कन्ट्रयाक्ट नआए फेरि भाषा परीक्षा दिनुपर्छ । त्यसैले रोस्टरमा नाम चढेकाहरुले एक वर्ष समय थप्न माग गरिरहेका छन् । थप भाषा परीक्षा नलिन समेत आग्रह गर्दै आएका छन् ।

कोरिया पनि भाषा परीक्षा लिएर थप श्रमिकहरुलाई रोस्टरमा राख्न इच्छुक देखिएको छैन ।

यसले कोरियन भाषा परीक्षाको तयारी गरिरहेका हजारौं युवा अन्योलमा परेका छन् । लामो समयसम्म आवेदन समेत नखुल्दा भाषा पढेकाहरु के गर्ने, के नगर्ने द्विविधामा पर्नु स्वभाविक नै हो ।


सन् २०२५ मा पनि आवेदन नखुले भाषा परीक्षाको तयारी गरेकाहरुको २ वर्ष त्यतिकै खेर जाने सम्भावना छ ।

ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठ भने कोरियामा आर्थिक मन्दी रहेकाले कोरियाले भाषा परीक्षाका लागि कोटा नपाठएको बताउँछन् । उनले भने, अब कोटा तोकिएर आएपछि परीक्षा आवेदन खुल्छ ।’

परीक्षाको आवेदन खुल्न जति सकस छ, खुलेपछि परीक्षा सञ्चालन गर्न पनि सहज हुने देखिएको छैन ।

कम्प्युटरमा आधारित परीक्षा हुन्छ । तर ठूलो प्राविधिक कम्प्युटर ल्याब नभएकाले एक सिफ्टमा ८० जनाले मात्रै परीक्षा दिनसक्छन् । त्यसैले परीक्षा सक्न नै महिनौं लाग्ने अवस्थाप्रति कोरियाली पक्षलाई चित्त बनुझेको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।

परीक्षार्थीको संख्या घटाउन सन् २०२३ मा सिप बिल्डिङमा फारम भरेकाहरुलाई उत्पादनमूलक समूहमा फारम भर्न रोकिएको थियो । तर त्यसका विरुद्ध २ जनाको ज्यान जाने गरी आन्दोलन भयो ।

अब भाषा परीक्षाको आवेदन खोल्दा करिब २ लाखले आवेदन दिने अनुमान छ । त्यसैले अबको परीक्षा अनिश्चित भएपनि त्यसको सञ्चालन कति जटिल हुन्छ भन्ने कुराले ईपीएस कोरिया शाखा नै दबाबमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute