नेभिगेशन
3 Minute

विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सक्दिन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपतिको विषयमा कडा प्रतिक्रिया दिएका छन् । उनले प्रष्ट भनेका छन्, पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुन्न, विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिन्न । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेका थिइन् । त्यसयता सक्रियता बढाएकी उनले आसन्न विधान महाधिवेशनमा सहभागी हुने इच्छा देखाएकी छन् । एमालेको राजनीतिमा फर्किनुको उद्देश्य अध्यक्ष बन्ने र अवस्थाले साथ दिए प्रधानमन्त्री समेत बन्ने रहेको समेत उनले प्रष्ट बताएकी छन् । 

तर एमालेले अहिलेसम्म भण्डारीको विषयमा औपचारिक रुपमा बोलेको छैन । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले समेत यसबारे खुलेर बोलेका थिएनन् । 

तर पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले पूर्व राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपति राज्यका सबै अंगहरुको प्रमुख भएको र देश र जनताप्रति उत्तरदायी हुनुपर्ने भएकाले कुनै पनि पार्टीको सदस्य हुन नसक्ने व्यवस्था गरिएको ओलीको बुझाइ छ । 

त्यही कारण राष्ट्रपति भएकाहरु पार्टी छोडेर निष्पक्ष हुन्छु र राष्ट्रप्रमुखको भूमिकामा अभिभावकत्व दिन्छु भन्ने भावका साथ जाने र त्यसअनुसार नै काम गर्ने उनले बताए ।

विद्या भण्डारीले राष्ट्रपतिका रुपमा त्यसअनुसार नै काम गरेको ओलीको विश्लेषण छ । तर सक्रिय राजनीतिमा फर्किने निर्णयमा असन्तुष्टि जनाएका छन् । राष्ट्रपति भइसकेको मानिस फेरि सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने ओलीले बताए । 

उनका अनुसार यो संवैधानिक नभई नैतिक विषय हो । त्यही नैतिक मूल्यमा आधारित भएर अघिल्ला राष्ट्रपति रामवरण यादवले थिति  बनाएका थिए । 

तर विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने निर्णय गर्दा आफूसँग कुनै परामर्श नगरेको ओलीले बताए । ‘पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराखेको छु । पार्टी छँदैछ, पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन’, ओलीले भने । 

सक्रिय राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? देशलाई फाइदा हुन्छ कि हुन्न ? संवैधानिक प्रश्न के हुन्छ ? प्रणालीगत हिसाबले के हुन्छ ? जस्ता कुनै पनि विषयमा आफूसँग परामर्श नभएको उनले सुनाए । 

पार्टीमा सरसल्लाह नभएको र भण्डारीले पनि लिखित वा मौखिक रुपमा केही नभनेको ओलीले बताए । 

तर पूर्व राष्ट्रपति भण्डारीले आउँछु भनिसक्नुभयो नि भन्ने प्रश्नमा ओलीले भने, यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ ।’ 

भण्डारीले आफ्नै हिसाबले राष्ट्रपति भएको नभई एमालेले पठाएको र पार्टी छोड्नुभन्दा अगाडिसम्म आफ्नो दलको उपाध्यक्ष नै भएको उनले स्मरण गरे । 

यसबारे कहिले निर्णय गर्नुहुन्छ भन्ने प्रश्नमा उनले निर्णय गर्नैपर्ने बताए । आउँछु भनिसकेपछि आउन हुन्छ वा हुन्न ? गणतन्त्र, राजनीति समाजमा के असर पर्छ सबै सोचेर निर्णय गर्नुपर्ने ओलीले बताएका छन् । 

त्यसपछि अन्तर्वार्ताकार पत्रकार विजयकुमार पाण्डेले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने सुविचारित रणनीति त होइन भनेर प्रश्न गरेका थिए । ओली हाँसे । अनि भने, अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’ 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कारण पनि दिए । एक, राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर रहनुभयो । पहिले पनि लिडरसिपमा बसेर काम गरेको होइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute