विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सक्दिन : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपतिको विषयमा कडा प्रतिक्रिया दिएका छन् । उनले प्रष्ट भनेका छन्, पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुन्न, विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिन्न ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेका थिइन् । त्यसयता सक्रियता बढाएकी उनले आसन्न विधान महाधिवेशनमा सहभागी हुने इच्छा देखाएकी छन् । एमालेको राजनीतिमा फर्किनुको उद्देश्य अध्यक्ष बन्ने र अवस्थाले साथ दिए प्रधानमन्त्री समेत बन्ने रहेको समेत उनले प्रष्ट बताएकी छन् ।
तर एमालेले अहिलेसम्म भण्डारीको विषयमा औपचारिक रुपमा बोलेको छैन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले समेत यसबारे खुलेर बोलेका थिएनन् ।
तर पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले पूर्व राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
राष्ट्रपति राज्यका सबै अंगहरुको प्रमुख भएको र देश र जनताप्रति उत्तरदायी हुनुपर्ने भएकाले कुनै पनि पार्टीको सदस्य हुन नसक्ने व्यवस्था गरिएको ओलीको बुझाइ छ ।
त्यही कारण राष्ट्रपति भएकाहरु पार्टी छोडेर निष्पक्ष हुन्छु र राष्ट्रप्रमुखको भूमिकामा अभिभावकत्व दिन्छु भन्ने भावका साथ जाने र त्यसअनुसार नै काम गर्ने उनले बताए ।
विद्या भण्डारीले राष्ट्रपतिका रुपमा त्यसअनुसार नै काम गरेको ओलीको विश्लेषण छ । तर सक्रिय राजनीतिमा फर्किने निर्णयमा असन्तुष्टि जनाएका छन् । राष्ट्रपति भइसकेको मानिस फेरि सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने ओलीले बताए ।
उनका अनुसार यो संवैधानिक नभई नैतिक विषय हो । त्यही नैतिक मूल्यमा आधारित भएर अघिल्ला राष्ट्रपति रामवरण यादवले थिति बनाएका थिए ।
तर विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने निर्णय गर्दा आफूसँग कुनै परामर्श नगरेको ओलीले बताए । ‘पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराखेको छु । पार्टी छँदैछ, पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन’, ओलीले भने ।
सक्रिय राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? देशलाई फाइदा हुन्छ कि हुन्न ? संवैधानिक प्रश्न के हुन्छ ? प्रणालीगत हिसाबले के हुन्छ ? जस्ता कुनै पनि विषयमा आफूसँग परामर्श नभएको उनले सुनाए ।
पार्टीमा सरसल्लाह नभएको र भण्डारीले पनि लिखित वा मौखिक रुपमा केही नभनेको ओलीले बताए ।
तर पूर्व राष्ट्रपति भण्डारीले आउँछु भनिसक्नुभयो नि भन्ने प्रश्नमा ओलीले भने, यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ ।’
भण्डारीले आफ्नै हिसाबले राष्ट्रपति भएको नभई एमालेले पठाएको र पार्टी छोड्नुभन्दा अगाडिसम्म आफ्नो दलको उपाध्यक्ष नै भएको उनले स्मरण गरे ।
यसबारे कहिले निर्णय गर्नुहुन्छ भन्ने प्रश्नमा उनले निर्णय गर्नैपर्ने बताए । आउँछु भनिसकेपछि आउन हुन्छ वा हुन्न ? गणतन्त्र, राजनीति समाजमा के असर पर्छ सबै सोचेर निर्णय गर्नुपर्ने ओलीले बताएका छन् ।
त्यसपछि अन्तर्वार्ताकार पत्रकार विजयकुमार पाण्डेले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने सुविचारित रणनीति त होइन भनेर प्रश्न गरेका थिए । ओली हाँसे । अनि भने, अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कारण पनि दिए । एक, राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर रहनुभयो । पहिले पनि लिडरसिपमा बसेर काम गरेको होइन ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



