नेपालमा टेलिग्राम बन्द

अब तपाईंले नेपालमा टेलिग्राम चलाउन पाउनुहुने छैन । किनभने सरकारले यो एप नेपालमा चलाउनै प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालका रूपमा प्रयोगमा रहेको टेलिग्रामलाई बन्द गर्न सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एप बन्द गराउन भनेको छ ।
दूरसञ्चार प्राधिकरणले यसमार्फत अनलाइन ठगी बढेको र मनी लाउन्ड्रिङ समेत भएको भन्दै एप बन्द गराएको हो । प्राधिकरणले एपमा प्रयोगकर्ताको पहुँच तत्काल रोक निर्देशन दिएको छ ।
टेलिग्राममार्फत सम्पत्ति शुद्धीकरण भइरहेको ठहर सरकारले नै गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र नै लेखेर टेलिग्राम सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको जानकारी दिएको थियो । टेलिग्राममाथि थप कदम चाल्न भनिएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले एपमार्फत् सम्पत्ति शुद्धीकरण भएकोबारे के भएको हो भन्ने जानकारी मागेको थियो । त्यसबारे विस्तृत जानकारी समेत नलिई प्राधिकरणले एपको प्रयोगमा रोक लगाइएको हो ।
सरकारले सामाजिक सञ्जालहरुलाई दर्ता हुन आउन पटक–पटक स्ुचना जारी गरिसकेको छ । दर्ता हुन नआए बन्द गर्न सक्ने व्यवस्था अनुसार आपराधिक गतिविधिमा जोडिएको दाबी गर्दै टेलिग्राम बन्द गरिएको हो ।
यसअघि नेपालमा पनि टेलिग्रामको प्रयोग गरेर ठगीका घटनाहरु भएका थिए । नेपाल प्रहरीले नै टेलिग्राममार्फत भइरहेका गतिविधि नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको थियो । यसमार्फत भष्यिमा अझै ठगी र गैरकानुनी कारोबारको सम्भावना रहेको भन्दै यसलाई बन्द गर्न प्रहरीले नै सरकारलाई सुझाव दिएको थियो ।
गोप्य सम्वादका लागि पछिल्ला दिनमा धेरैले यो एप प्रयोग गरिरहेका थिए । यसमा धेरै पब्लिक र प्राइभेट ग्रपहरु बनेका छन्, जसमार्फत दैनिक रुपमा सूचनाहरु आदान–प्रदान हुन्छन् ।
तर, यो एप अश्लिल समाग्रीहरुको केन्द्र बनेको भन्दै विभिन्न देशमा यसमाथि प्रश्नहरु उठेका छन् । साँच्चिकै टेलिग्रामका ग्रुपहरुमा गैरकानुनी, असामाजिक र अश्लिल सामग्रीहरुले प्रश्रय पाएको पनि देखिन्छ ।
गत वर्ष फ्रान्समा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ पक्राउ परेका थिए । उनलाई टेलिग्राममार्फत ठगी, बालबालिकामाथि यौन दुव्र्यवहारसँग सम्बन्धित सामग्रीहरुको प्रचार, अवैध कारोबार, लागूऔषध तस्करीलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । उनी छुटेपनि त्यसपछि टेलिग्राममाथि विभिन्न देशले निगरानी बढाएका थिए ।
के हो टेलिग्राम ?
टेलिग्राम फेसबुक, ह्वाट्सएप, इस्टाग्राम, टिकटक जस्तै सामाजिक सञ्जाल हो । पाभेल डुरोभले २०१३ मा यसको स्थापना गरेका थिए ।
टेलिग्राम रुस, युक्रेन र सोभियत संघ राज्यहरुमा लोकप्रिय छ । रुस युक्रेन युद्ध सम्बन्धी सूचनाको प्रमुख स्रोत समेत यही टेलिग्राम हो । किनकी दुबै देशका अधिकारीहरुले यसको धेरै प्रयोग गर्ने गरेका छन् ।
थुप्रै देशले यसमाथि प्रतिबन्ध पनि लगाएका छन् । चीन, इरान, ब्राजिल, नर्वे मात्र होइन, भारतमा समेत योमाथि प्रतिबन्ध छ ।
संगठित अपराधको आरोपमा एक वर्ष अगाडि यसका संस्थापक तथा प्रमुख कार्यकारी डुरोभ फ्रान्समा पक्राउ समेत परेका थिए ।
एपमा अतिवादी एवं गैरकानुनी सामाग्री नरोकेको, बाल दुव्र्यवहारसम्बन्धी तस्वीरहरु वितरण गरेको, संगठित गिरोहहरुको अवैध लेनदेन नरोकेको जस्ता आरोप समेत उनीमाथि लागेको छ ।
साइबर क्राइमको डार्कवेब
कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए । ‘डार्कवेब’ इन्टरनेटको संसारको यस्तो चिज हो, जसलाई गुगलले समेत फेला पार्न सक्दैन । निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र यसलाई फेला पार्न सकिन्छ ।
त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन । डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।
नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।
गत अगस्टसम्म टेलिग्रामका ५० करोड एक्टिभ युजर छन् भने एक अर्ब जनाले डाउनलोड गरेका छन् ।
पछिल्लो समय टेलिग्राम फेसबुक मातहतको ह्वाट्सएपको विकल्पका रुपमा देखिएको थियो । धेरैलाई यसको गोपनीयता सम्बन्धी व्यवस्थाले लोभ्याएको थियो ।
टेलिग्राम एप मोवाइलमा र डेस्कटप दुबैमा चलाउन पाइन्छ । यसमा २ लाख जनासम्मको गोप्य ग्रुप चलाउन मिल्छ ।
तर टेलिग्रामले कन्टेन्ट मोडरेसनमा ढिलाइ गर्दा यो एप साइबर क्राइम र गैरकानुनी गतिविधिका लागि डार्क वेबजस्तो बन्न पुगेको हो ।
साइबरइन्टका साइबर थ्रेट विश्लेषक ताल साम्राका अनुसार हालैका दिनहरुमा टेलिग्राम प्रयोगकर्तामा साइबर अपराधीको संख्या शत प्रतिशतले वृद्धि भएको थियो । ‘यसको इन्क्रिप्टेड मेसेजिङ सर्भिस धम्की दिनेहरुबीच लोकप्रिय छ । यिनीहरुले धम्कीपूर्ण गतिविधिहरु गर्छन् र चोरी गरिएको डेटा बिक्री गर्छन् । त्यसैले यो डार्क वेब भन्न मिल्छ ।
ह्याकरहरुले टेलिग्रामको प्रयोग साइबर क्राइमका लागि प्रयोग गर्छन् । यस्तै काम डार्क वेबबाट हुन्थ्यो । डार्क वेबबाट सेयर गरेर, खरिद बिक्री गरेर डेटा लिक गर्ने र ह्याकिङ गर्ने कामबाट हजारौं प्रयोगकर्ता हैरान भएका छन् ।

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
