नेभिगेशन
3 Minute

गिरीको कारबाही फिर्ता लिन लिङ्देनलाई कर्णालीका नेताहरुको अपिल

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेता मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट निष्कासन गरेकामा कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । 

महामन्त्री कुन्तीकुमारी शाहीसहित कर्णालीबाट प्रतिनिधित्व गर्ने १६ केन्द्रीय सदस्यले गिरीको कारबाही तत्काल फिर्ता गरी पूर्ववत जिम्मेवारीमा पुनर्स्थापना गर्न माग गरेका छन् । 

लिङ्देनले शुक्रबार गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट निष्कासन गरेका थिए । बिहीबार वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा र कुन्तीकुमारी शाहीसँगै गिरीले पनि अध्यक्ष लिङ्देनलाई पार्टीलाई विधान अनुसार चलाउन आग्रह गर्दै अपिल जारी गरेका थिए । 

उनीहरुले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई जिम्मेवारीमुक्त गर्ने लिङ्देनको निर्णयविरुद्ध अपिल निकालेका थिए । 

पार्टीलाई विधान अनुसार सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने सामूहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण पदमुक्त गर्दा कर्णालीका पदाधिकारी र केन्द्रीय सदस्य चिन्तित भएको अपिलमा उल्लेख छ । 

सामूहिक अपिल जारी गर्ने अन्यमा कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाह, केन्द्रीय सदस्यहरु सत्यबहादुर शाही, कालीबहादुर शाही, सुनीता शाह, यज्ञबहादुर सिंह, जनक सिंह ठकुरी, भीमबहादुर शाही, अनुपम सिंह श्रेष्ठ, दीपक मल्ल रहेका छन् । 

त्यस्तै दीपक खनाल, बबिता शाही, धनसुर शाही, अमर गिरी र टीका योगीले पनि कारबाहीको निर्णय फिर्ता लिन माग गरेको अपिलमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute