चीनले बनाउन थाल्यो संसारकै ठूलो बाँध, आत्तियो भारत
संसारकै ठूलो बाँध थ्री गर्जेज चीनमा पर्छ । तर बेइजिङले अब योभन्दा तीन गुणा ठूलो अर्को बाँधको निर्माण सुरु गरेको छ । त्यो पनि भारत र बंगलादेशको लाइफलाइन नदी ब्रम्हपुत्रमा ।
भारतीय भूमिभन्दा जम्मा ५० किलोमिटर मात्र टाढा भयानक ठूलो ड्याम बनाउन लागेपछि भारत झस्किएको छ । बंगलादेश पनि चिन्तित छ । किनकी कतिपय आलोचकको शब्दमा भन्ने हो भने चीनले बनाउन लागेको यो बाँध वाटर बम बन्न सक्छ ।
ब्रम्हपुत्र नदी चीनको मानसरोवरबाट सुरु भएर तिब्बत हुँदै भारत र बंगलादेशसम्म फैलिएको छ । चीनमा यो नदीलाई यार्लुङ साङ्पो नामले चिनिन्छ भने भारत प्रवेश गरेपछि ब्रम्हपुत्र नामले चिनिन्छ ।
यो नदी तिब्बतमा १ हजार ७०० किलोमिटर लामो छ, त्यसपछि भने भारत प्रवेश गर्छ । तिब्बतमा यो नदी पश्चिमबाट पूर्वतिर बग्छ र नाम्चा बरवा हिमालको फेदीमा आएपछि यू टर्न लिन्छ र दक्षिणतिर झर्छ ।
यो नदीले यूटर्न लिएको ठाउँलाई द ग्रेट बेन्ड भनिन्छ । यही ठाउँमा चीनले अहिले जलविद्युत आयोजना बनाउन खोजेको हो ।
चीनले पछिल्लो समय पूर्वी क्षेत्रका ठूला शहरहरुमा विजुलीको माग पूरा गर्न तिब्बतमा ठूला बाँध र जलविद्युत आयोजना निर्माण गर्न सकिने सम्भाव्य स्थल खोजिरहेको थियो ।
किनकी हाल पूर्वी क्षेत्रका शहरमा पश्चिमी क्षेत्रबाट विजुली ल्याइएको छ । त्यही बेला मेडग बाँध विकल्पका रुपमा देखियो ।
यो परियोजनालाई पहिलो पटक चीनको १४ औं पञ्चवर्षीय योजनामा समेटिएको थियो । सन् २०२१ मा राष्ट्रपति सी जिनपिङले तिब्बत यात्राका क्रममा यो बाँध बनाउने घोषणा गरेका थिए ।
सन् २०२४ को डिसेम्बर २५ मा यार्लुङ साङ्पो नदीमा थ्री गर्जेज भन्दा पनि ठूलो अर्को जलविद्युत आयोजना बनाउने औपचारिक निर्णय भयो । यो आयोजनालाई मेडग जलविद्युत केन्द्र नाम दिइएको छ ।
त्यही आयोजनाको शनिबार प्रधानमन्त्री ली छ्याङले शिलान्यास गरेका हुन् ।
बाँध बनाउने भनिएको ठाउँमा यार्लुङ साङ्पो नदी निकै लामो भूभागसम्म गहिरो खोँचबाट बगेको छ । त्यसैले पनि चीनले यहाँ बाँध बनाउन उपयुक्त ठहर गरेको हुन सक्छ ।
चीनले सुरुमा गरेको अध्ययनको रिपोर्टमा नाम्चा बरुवा हिमालबाट २० किलोमिटर लामो धेरैवटा सुरुङहरु बनाउने र पानी पथान्तरण गरेर बिजुली निकाल्ने भनिएको थियो ।
तर एक हप्ता अगाडि मात्र चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रधानमन्त्री ली छ्याङको मेडग जलविद्युत आयोजनाको भ्रमणबारे एउटा समाचार प्रकाशित भयो । जसमा पाँचवटा क्यास्केड पावर स्टेशनका लागि इन्जिनियरहरुले सुरुङबाट पानी पठाउने भनिएको छ ।
यो आयोजना ६० गिगावाट क्षमताको हुनेछ । यसले १ वर्षमा ६ खर्ब किलोवाट आवर बिजुली निकाल्नेछ । यो भनेको बेलायतले एक वर्षमा खपत गर्ने बिजुली बराबर हो । मेडग जलविद्युत योजनाले ५ करोड घरधुरीको बिजुलीको माग पूरा गर्नेछ ।
यो आयोजना चीनको मध्य क्षेत्रमा रहेको थ्री गर्जेज भन्दा तीन गुणा ठूलो र तीन गुणा बढी विजुली निकाल्ने क्षमताको हो । त्यस्तै भारतको ठूलो जलविद्युत आयोजना तेहरी ड्याम भन्दा ६० गुणा ठूलो हुनेछ ।
यो आयोजनाको लागत १ खर्ब ७० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।
यो आयोजनाबाट चीनले तिब्बतका साथै सिंगो चीनको ऊर्जा समस्या हल हुने आशा राखेको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले यो आयोजनालाई प्रोजेक्ट अफ दी सेन्चुरी भनेका छन् ।
थ्री गर्जेज आयोजना पूरा हुन करिब २ दशक लागेको थियो र सन् २०११ देखि यसले विद्युत उत्पादन सुरु गरेको थियो । त्यस्तै १० लाख रोजगारीका अवसर सिर्जना गरेको थियो । थ्री गर्जेज निर्माणका क्रममा धेरै गाउँ र करोडौं मानिसहरु स्थानान्तरण गरिएको थियो । यद्यपि कति मानिस विस्थापित भए भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।
यार्लुङ साङ्पो आयोजनाबाट पनि कति मानिस विस्थापित हुन्छन् भन्ने हालसम्म खुलेको छैन ।
चीनले बनाउन लागेको सबभन्दा ठूलो बाँध भारत र चीनको सीमाबाट ५० किलोमिटर मात्र टाढा छ । यो आयोजना बनेमा ब्रम्हपुत्र नदीको पानी ८० प्रतिशतसम्म सुक्न सक्ने अनुमान गरिएको छ । यसले भारत र बंगलादेशमा चिन्ता बढाएको छ । यसले अरुणाचल प्रदेश र छिमेकी आसाममा धेरै असर पार्नेछ ।
यो बाँधको जहिलेदेखि चर्चा सुरु भयो, त्यो बेलादेखि भारतले लगातार चासो व्यक्त गर्दै आइरहेको छ । चीनले पनि प्रतिक्रिया दिइरहेको छ ।
अन्तर्राष्ट्रिय कानुनका जानकारहरुले चीनले नयाँ बाँधलाई छिमेकी देशहरुलाई नियन्त्रण गर्न प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
सन् २०२० मा अष्ट्रेलियाको अनुसन्धान संस्था लोई इन्ष्टिच्यूटले गरेको एक अध्ययनले यो नदीको नियन्त्रणमार्फत चीनले भारतको अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने भनेको थियो ।
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्दुले चीनले ठूलो बाँध निर्माण गर्दा ब्रम्हपु्त्र र सियाङ नदीको पानी धेरै मात्रामा सुक्ने बताएका छन् ।
यही जुलाइको सुरुमा भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा उनले मेडग बाँधले नदी किनारका बासिन्दाको अस्तित्व र जीविकोपार्जनमा खतरा निम्त्याउने बताएका थिए । ‘यो एकदमै गम्भीर छ, किनभने चीनले यसलाई एक प्रकारको बाटर बमको रुपमा प्रयोग गर्न सक्छ’, उनले भनेका थिए ।
उनका अनुसार यो ड्याम बन्यो र उनीहरुले एक्कासी पानी छोड्ने विचार गरे भने यसले सियाङ नदी किनारको सबै क्षेत्र ध्वस्त हुनेछ । विशेष गरी नदी किनारका आदिवासी र अन्य बासिन्दाले आफ्नो सबै सम्पत्ति र भूमि गुमाउनेछन्, मानव जीवन नै ध्वस्त हुनेछ ।
अचानक बाँध फुटेमा भारत र बंगलादेशका करोडौं मानिसहरुको ज्यान जान सक्नेछ । भारतले अरुणाचलमा ब्रम्हपुत्र नदीमा जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । जसले चीनको ड्यामबाट एक्कासी आउने बाढीलाई रोक्न बफरको रुपमा काम गर्नेछ ।
गत जनवरीमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मेडग बाँधले निम्त्याउन सक्ने खतराका विषयमा चीनको ध्यानाकर्षण गराएको बताएका थिए ।
अनि चीनले पनि तल्लो तटीय क्षेत्रको चासोलाई सम्बोधन गर्ने र खतरा उत्पन्न हुन नदिने प्रतिवद्धता जनाएको बताएका थिए ।
त्यतिबेला चिनियाँ अधिकारीहरुले तल्लो तटीय क्षेत्रसँग सरसल्लाह गर्ने र आयोजनाबारे प्रष्ट पार्ने प्रतिवद्धता जनाएको उनले बताएका थिए ।
यसअघि २०२० मा पनि चीनले आफूसँग बाँध बनाउने वैधानिक अधिकार रहेको र तल्लो तटीय क्षेत्रका चासोहरुलाई पनि सम्बोधन गर्ने बताएको थियो ।
भारतमा मात्र नभई बंगलादेशमा पनि ब्रम्हपुत्रले असर पार्नेछ । बंगलादेशमा ५ लाख ८० हजार वर्ग किलोमिटर जमिन ब्रम्हपुत्रको तटीय क्षेत्र पर्छ ।
बंगलादेशको करिब बीच भाग भएर बग्ने ब्रम्हपुत्रले बंगलादेशको नदी प्रणालीमा ६५ प्रतिशत पानी आपूर्ति गर्छ ।
बंगलादेशले गत फेबु्रअरीमा चीनलाई एउटा पत्र पठाएरै यो योजनाबारे चासो राखेको थियो । फेब्रुअरीको पत्रमा बंगलादेशले त्यो बाँधबारे विस्तृतमा जानकारी माग गरेको थियो ।
जुन ठाउँमा चीनले ड्याम बनाउने भनेको छ, त्यो ठाउँ इन्जिनियरिङ हिसाबले धेरै कठिन र खतरनाक भएको रिपोर्टहरु पनि आएका छन् ।
यो आयोजनाबाट वातावरणीय जोखिम बढ्न सक्ने पनि भनिएको छ । तिब्बती भूमि जैविक विविधताका लागि प्रख्यात छ । र यो क्षेत्र भूकम्पीय जोखिम पनि बढी भएको ठाउँ हो ।
यस्ता ठूला आयोजना बनाउँदा त्यसले भूकम्पीय जोखिम अझै बढाउने उनीहरु बताउछन् ।
अधिकारकर्मीहरुले यो बाँधलाई तिब्बती भूमिमाथि चीनको अतिक्रमणको अर्को उदाहरण पनि भनेका छन् ।
किनकी गत वर्ष चीन सरकारले यो आयोजनाको विरोधमा प्रदर्शन गरेका सयौं तिब्ब्तीहरुलाई स्थानान्तरण गरेको थियो । तथापि चीन रोकिएको छैन । ऊ सन् २०३३ मा मेडङ आयोजनाबाट विजुली निकाल्ने गरी अघि बढिरहेको छ ।

अष्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन पनि नपाउने

आप्रवासी र पर्यटकप्रति अनुदार पार्टी, जसले जापानको चुनावमा तहल्का मच्चायो

किन देश छाड्दैछन् भारतका करोडपति ?

श्रम कानुनको विरोध गर्दै मजदुर संगठनले गरे भारत बन्द
