'छोरालाई पनि गोठालो बनायो भन्छन्'
भन्नलाई हामी नेपाल कृषि प्रधान देश भन्छौं, यो देशका ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । तर यहाँ कृषि पेशा कति कठिन छ भन्ने थाहा पाउन अघिल्लो हप्ताको शार्क ट्यांक नेपालको एउटा क्लिप हेरे पुग्छ ।
शार्क ट्यांक नेपालमा गत बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका बलराम पौडेलको प्रस्तुति हेर्नुभयो ? मराम्चे अर्गानिक कृषि फर्मका सञ्चालक पौडेलले दूध ढुवानी गर्न एउटा बोलेरो गाडी र दूध चिस्यान केन्द्रका लागि ३० लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।
त्यसबापत उनले कृषि फर्मको ३० प्रतिशत शेयर दिने प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव कसैले स्वीकार गरेनन् ।
त्यो कार्यक्रम हेरेपछि बलरामप्रति सहानुभूति जनाउनेहरु धेरै भए । कसैले कृषि पेशाको सम्मानका लागि भए पनि लगानी गर्नुपर्थ्यो भनेका छन् । कसैले त लगानी नगर्ने भए किसानलाई मजाक बनाउन मात्र किन ल्याएको भनेर आक्रोश पनि पोखेका छन् ।
हाम्रो देशमा हेपिएको पेशा हो कृषि । कम जोखिममा धेरै नाफा दिने पेशा होइन । त्यसैले ठूला लगानीकर्ताका लागि लगानीको ठाउँ होइन । त्यसमाथि पहाडी क्षेत्रमा सानो स्केलमा गर्ने कृषिमा पैसा हाल्नु त पैसा फसाउनु जस्तो मात्र हुन्छ ।
हाम्रो देशको कृषि पेशाको समस्या नै यही हो । अहिले धेरै मानिस कृषि पेशा छाडेर थोरैतिनो कमाइका लागि शहर र विदेश पस्नुको कारण पनि यही हो, गाउँका जग्गा जमिन बाँझिदै गएको कारण पनि यही हो ।
उनको घर पोखरा शहरदेखि २९ किलोमिटर टाढा छ । मध्यपहाडी लोकमार्गको पोखरा– बागलुङ सडक खण्डबाट करिब २ किलोमिटर कच्ची सडकले जोडेको छ उनको गाउँ ।
यो गाउँमा ४२ घरधुरी थिए, अहिले मान्छे घट्दै गएर २०–२२ घरमा मात्र छन् । यही गाउँमा बलरामले २०७१ सालमा मराम्चे अर्गानिक कृषि फर्म सुरु गरे । उनले २२ लाख खर्च गरेर पक्की भवन बनाए । थप १८ लाख खर्च गरेर गाइ भैंसी बाँध्ने गोठ बनाए ।
गोठमा १८ वटासम्म गाइ पाले । आफ्नो बारीमा तरकारी खेती पनि गरे । गाउँमा अरु घरले पनि कृषि र पशुपालन गरिरहेका छन् । बलरामले सबैको दूध आफैं संकलन गरेर पोखरामा बेच्ने हो भने नाफा हुने देखे । त्यसका लागि उनलाई गाडी चाहियो । अनि बेलुका संकलन गरेको दूध बिहानसम्म नबिगारी राख्न चिस्यान केन्द्र चाहियो । दही र पनीर बनाउन मेसिन चाहियो ।
त्यसका लागि उनले लगानी खोजे । बैंकहरु धाए । बैंकहरुले उनको जग्गा धितो राखेर ऋण दिन मानेनन् । उनको योजना वा प्रोजेक्ट धितो राखेर पनि ऋण दिन मानेनन् ।
लगानी जुटाउने उद्देश्यले आइडिया स्टुडियो नामक कार्यक्रममा पनि आए । त्यसको सिजन ६ को उनी बिजेता पनि हुन् । आइडिया स्टुडियोले उनलाई बैंकहरुसँग सम्पर्क गराइदियो । बैंकले जग्गा हेरेपछि ऋण दिन मानेन ।
यसपटक शार्क ट्यांक प्रशारण हुने भएपछि उनलाई आइडिया स्टुडियोकै मानिसहरुले सम्पर्क गराइदिए । कसैले लगानी गरिहाल्छ कि भन्ने आशले उनी गत जेठको तेस्रो हप्ता नाइट बस चढेर आए । एक दिन काठमाडौं बसेर शार्कहरुलाई आफ्नो योजना सुनाए । तर हात लाग्यो शून्य ।
शार्कहरुले लगानी गर्न नसके पनि कुनै न कुनै माध्यमबाट सहयोग गर्ने आश्वासन दिए । तर त्यसपछि उनको शार्कहरुसँग सम्पर्क भएको छैन । उनले यसबारे शार्क ट्यांकका मान्छेहरुलाई फोन गरेर पनि सोधे । हामी शार्कहरुलाई खबर गरेर जानकारी गराउँछौं भनेका थिए, त्यसपछि सम्पर्क गरेका छैनन् ।
स्टार्ट अपहरुलाई लगानी जुटाउने उपयुक्त थलो हो, शार्क ट्यांक । यहाँ आफ्नो प्रस्तुति दिन आएका धेरै स्टार्ट अप कम्पनीहरुले लगानी पाएका छन् । लगानी पाउने कम्पनीमा नयाँ बिजनेस आइडिया भएका, शहरी उपभोक्ता र युवा लक्षित प्रडक्ट भएकाहरु छन् । स्कुलहरुले अभिभावकसँग सम्पर्क गर्न स्थापित वेद एपले एक्लैले ६ करोड रुपैयाँ पायो ।
राजनीतिक दलका नेता होस् या पढेलेखेका अरु पेशाकर्मी । उनीहरु नेपालमा कृषिमा अथाह सम्भावना छ भन्छन् । कृषिमा अथाह सम्भावना किन छ भने नेपालले उपभोगका लागि धान चामलदेखि हरिया तरकारीसमेत भारतबाट ल्याउनुपर्छ ।
विदेश निर्यात गर्न नसके पनि कम्तीमा आयात प्रतिस्थापन मात्र गर्ने हो भने पनि नेपाली किसानले वर्षमा करोडौं आम्दानी गर्न सक्छन् । तर व्यवहारिक रुपमा कृषि पेशा कति गाह्रो छ भन्ने कुरा बलराम पौडेलको कुरा सुन्दा थाहा हुन्छ ।
बलरामले आफ्नो योजनामा आफैं लगानी जुटाउन प्रयास नगरेका होइनन् । बैंकमा धाए, सरकारी निकाय धाए । तर कतैबाट केही भएन । उनी भन्छन्, ‘राजनीतिक पहुँच भएन, सरकारले पत्याउँदैन, गाउँको जग्गा बैंकले पत्याउँदैन ।’
उनले अनुदानको नाममा अहिलेसम्म गाउँपालिकाबाट २०० मिटर पाइप र ५० प्रतिशत अनुदानको हाते ट्याक्टर ३५ हजार रुपैयाँ तिरेर पाएका छन् । सरकारले वर्षेनी किसानहरुलाई कृषि अनुदानवापत रकम बाँड्दै आएको छ । तर यो राजनीतिक दल निकटका किसानहरुले मात्र पाउने र वास्तविक किसानले नपाउने भन्दै आलोचित छ ।
अनि बैंकहरुले धितो राखेर ऋण दिन पनि मूल्यवान जग्गा खोज्छन् । ताकि भोलि ऋण लिनेले तिरेन भने जग्गाबाट असुल गर्न सकियोस् । पक्की सडक पुगेको र शहरमा घडेरीका रुपमा किनबेच भएको जग्गा बैंकले धितो लिएर सजिलै ऋण दिन्छ । तर गाउँको जग्गा धितो राखेर ऋण दिँदैन ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कुल ऋणको १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नियम बनाएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा कृषि क्षेत्रमा मात्र १३ प्रतिशत लगानी भएको छ । त्यो भनेको ६ खर्ब ४७ अर्ब रुपैयाँ हो । यो ऋण पाउन पनि बलरामहरु योग्य छैनन्, किनकी उनको जग्गा गाउँमा छ ।
शार्कहरुलाई बलराम पौडेलले गरेको काम मन परेको हुन सकछ । तर लगानीकर्ताका रुपमा हेर्दा त्यसमा लगानी गर्दा फाइदा हुने कि नहुने हेर्नैपर्यो । प्रतिफल पाउने ग्यारेन्टी हुनुपर्यो । नभए त्यो त दान भइहाल्यो ।
शार्कहरुले लगानी किन गरेनन् भन्ने कुरा बलरामको भनाइमै भेटिन्छ । बलरामको गोठमा एक समय १८ वटासम्म गाई थियो । अहिले ५ वटा मात्र छ । दुई वर्षअघि १२ वटा गाई लम्की स्किम रोगले थलिए ।
ती गाईलाई अनेक उपचार गरेर बचाए । तर गाईको दूध आएन, फेरि गर्भाधान गर्न पनि नसक्ने भए । उनका १२ वटा गाई अनुत्पादक भए । उनले गाईंको बीमा पनि गरेका थिए । तर गाई अनुत्पादक भए पनि बीमाको रकम पाइदैन । गाई जिउँदै भएका कारण बीमाको रकम पाएनन् ।
बारीमा रोपेको तरकारी र नगदेबाली बेचेर आम्दानी हुने पनि कुनै ठेगान छैन । कृषिमा जस्तो अनिश्चितता सायद अरु पेशामा छैन । यसलाई झरी बादल, खडेरी, बाँदर मुसा जस्ता धेरै थोकले दुःख दिन्छन् । तरकारीको मूल्य दिनदिनै घटबढ भइरहन्छ । किसानले दूध बेचेको पैसा एक वर्षदेखि पाउन सकेका छैनन् ।
बलरामजस्ता किसान हाम्रा सबैजसो गाउँमा छन् । उनीहरुले निर्वाहमुखी कृषिबाट हुँदैन भन्ने बुझेका छन् । धान मकै, गहुँ जस्ता अन्न खेतीबाट उभो लागिदैन भन्ने बुझेका उनीहरु पशुपालन र नगदेबालीको खेती गरेकाछन् । त्यसलाई पुँजीको अभावमा व्यवसायिक रुप दिन सकेका छैनन् ।
तर अरु व्यवसाय वा उद्योगजस्तै कृषि उद्योग फस्टाउन पनि पुँजी नै प्रमुख कुरा हो । जुन किसानहरुले जुटाउन सक्दैनन् । त्यसका लागि कि बैंकहरुले लगानी गर्नुपर्यो, कि ठूला लगानीकर्ताले नाफा देखेर जानुपर्यो । नेपालमा यो दुबै सम्भावना अहिलेसम्म देखिएको छैन ।
शार्क ट्यांकमा आफ्नो प्रस्तुति आएको भोलिपल्ट बलराम पौडेललाई फोन गर्दा उनी आफ्नो बारीमा घाँस काट्दै थिए । शार्क ट्यांकबाट लगानी नपाउँदा कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने, ‘न गाउँको मान्छेले प्राथमिकता पाउँछ, न जग्गाले, गाउँ रित्तिनुको कारण यही हो ।’
बलरामका छोरा पशु प्राविधिक छन् । पशुको उपचार र गाईभैंसीमा कृत्रिम गर्भाधान गराउन सक्छन् । उनले कृषि पेशामा बाबुलाई साथ दिइरहेका छन् ।
बलरामले १८ लाख खर्च गरेर गोठ बनाउँदा आफन्तहरुले किन खर्च गरेको, यति पैसाले छोरालाई विदेश पठाएको भए हुन्थ्यो नि भनेका थिए ।
आफू पनि गोठालो भयो, छोरालाई पनि गोठालो बनायो भनेर आलोचना गर्छन् । बलराम भने मिहिनेत गर्ने हो भने विदेशमा जति गाउँमै उब्जाउन सकिने बताउँछन् । अहिले उनले ५० लिटर दूध बेचेर महिनामा सबै खर्च कटाएर ८/१० हजार रुपैयाँ कमाइरहेका छन् ।
गाईभैंसी थप्ने, अरु छिमेकीहरुको पनि दूध संकलन गरेर बिक्री गर्ने हो भने आम्दानी धेरै बढाउन सकिने उनलाई थाहा छ ।
तर गाउँमा बसेर त्यो सम्भव छैन । त्यसैले बलरामको निष्कर्ष छ, ‘सरकारकै कारण गाउँहरु रित्तिएका हुन् ।

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
