आप्रवासी र पर्यटकप्रति अनुदार पार्टी, जसले जापानको चुनावमा तहल्का मच्चायो

जापानमा हालै भएको माथिल्लो सदनको चुनावमा एउटा नयाँ राजनीतिक पार्टीले १४ सिट जितेर धेरैलाई आश्चर्यमा पारिदियो ।
जुलाइ २० तारेखमा भएको हाउस अफ काउन्सिलर्सको चुनावको सबैभन्दा ठूलो विजेता कोही हो भने यही पार्टी हो । यो पार्टीको नाम हो सान्सितो ।
सामाजिक सञ्जालमा चलाइएको अभियानबाट सन् २०२० मा सुरु भएको सान्सितो पार्टीले २०२२ को हाउस अफ काउन्सिलर्सको चुनावमा जम्मा १ सिट जितेको थियो । २०२४ को अक्टोबरमा भएको प्रतिनिधिसभा अर्थात् नेशनल डायटको चुनावमा ३ सिट जित्यो ।
यसपटक माथिल्लो सदनमा १४ सिट जितेर तहल्का मच्चाइदिएको छ ।
जापानी संसदको तल्लो सदन नेशनल डायट ४६५ सदस्यीय छ र माथिल्लो सदन हाउस अफ काउन्सिलर्स २४८ सदस्यीय छ । संसदीय अंकगणितमा सान्सितोको सिट संख्याले ठूलो अर्थ राख्दैन ।
तर यो पार्टी जसरी राइज भइरहेको छ र जस्ता एजेण्डा उठाइरहेको छ, त्यो भने धेरैका लागि चाखलाग्दो मात्र होइन, चिन्ताजनक पनि छ । किनकी यो उग्र दक्षिणपन्थी पार्टी आप्रवासी, पर्यटक र समावेशीताका मुद्दाहरुप्रति धेरै नै अनुदार छ ।
जापानको राजनीति धेरैजसो स्थिर नै देखिन्छ । चुनावी नतिजा पनि आश्चर्यजनक हुँदैनथे । सन् १९९५ यताका अधिकांश समय लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नै सत्तामा छ ।
तर पछिल्लो चुनावसँगै यो पार्टी जापानको दुबै सदनमा अल्पमतमा छ । जापानी प्रधानमन्त्री सिगेरु इसिबा आलोचनाको केन्द्रमा छन् ।
जापानका बासिन्दा अहिले मूल्यवृद्धि, स्थिर ज्याला र सुस्त अर्थतन्त्रका कारण सत्तासँग असन्तुष्ट छन् । त्यसमा पनि चामलको मूल्यवृद्धिले धेरैलाई पिरोलेको छ । किनकी चामलको मूल्य एक वर्षमा दोब्बर बढेको छ ।
सुपर मार्केटहरुमा ५ किलोको प्याकेटको मूल्य ४ हजार येन पर्छ । सामाजिक सञ्जाल र टीभी फुटेजहरुमा मानिसहरु चामल किन्न लाइन लागिरहेको देखिन्छ ।
सरकारप्रतिको यही असन्तुष्टिको फाइदा उग्र दक्षिणपन्थी पार्टी सान्सितोले उठाएको छ ।
जापानी भाषामा सान्सितोको अर्थ पार्टिसिपेट इन पोलिटिक्स अर्थात् राजनीतिमा सहभागी भन्ने हुन्छ । यसको संस्थापक हुन् ४७ वर्षका सोहे कामिया ।
राजनीतिमा आउनुअघि उनले शिक्षक र सुपरमार्केटको म्यानेजरका रुपमा काम गरेका थिए । सन् २०२० देखि उनले युट्युब च्यानल र अन्य सोसल मिडिया प्लाटफर्ममार्फत राजनीतिक ग्रुप बनाउन थाले । यो ग्रुपमार्फत उनले स्थापित राजनीतिक दलबाट असन्तुष्ट मानिसहरुलाई गोलवद्ध गरे । यही ग्रुपका मानिसहरुले स्थानीय चुनावमा केही सिटहरु पनि जिते ।
कोरोना भाइरस महामारी सुरु भएपछि कामियाको सोसल मिडिया प्लाटफर्मले झन् धेरै चर्चा पायो । किनकी उनले कोरोना खोपका विरुद्धमा निरन्तर विचारहरु राखेका थिए । सन् २०२२ को माथिल्लो सदनको चुनावमा त उनी आफैं सांसद निर्वाचित भए ।
२०२४ को अक्टोबरमा भएको संसदको तल्लो सदन नेशनल डायटको चुनावमा ३ सिट जित्यो । गत जुन २० मा भएको माथिल्लो सदनको चुनावमा १४ सिट जितेर तहल्का नै मच्चाइदियो ।
सान्सितो पार्टीको युट्युबमा पछिल्लो केही हप्तामा नै १ लाख सबस्क्राइबर थपिएका छन् । उसको कुल सब्सक्राइबर ४ लाख ८१ हजार पुगेको छ ।
जबकी सत्तारुढ एलडीपीको च्यानल सब्स्क्राइबर १ लाख ४० हजार मात्र छन् ।
सान्सितो पार्टीका केही नीति यस्ता छन्, जसले युवा मतदाता आकर्षित गरिरहेको छ ।
त्यसमध्ये एउटा हो, जापान फर्स्ट । जापान फर्स्ट नारा अन्तर्गत यो पार्टीले विदेशी पर्यटकलाई नियमन गर्न नयाँ एजेन्सी बनाउनुपर्ने धारणा अघि सारेको छ ।
चुनावी अभियानका क्रममा सान्सितोले विदेशीलाई जापानी नागरिकता दिनुअघि कडा जाँच गर्नुपर्ने र गैरजापानीहरुलाई वेलफेयर स्किमहरु दिन नहुने अभियान चलाएको थियो ।
जापानमा पछिल्लो समय आप्रवासी कामदारहरुको संख्या तिब्र वृद्धि भएको छ । त्यही कारण जापानी कामदारहरु मर्कामा परेका छन् ।
आप्रवासी कामदारहरुले वेलफेयर स्किमहरु पनि पाइरहेका छन्, जुन जापानीहरुको अधिकार हो भन्ने यो पार्टीका समर्थकहरुको धारणा छ ।
सन् २०२४ को अन्तिमसम्म जापानमा बस्ने विदेशीको संख्या करिब ३७ लाख पुगेको छ । जुन अघिल्लो वर्ष भन्दा ११ प्रतिशतले बढेको हो । विदेशमा जन्मिएर हाल जापानी नागरिक भएकाहरुको संख्या कुल जनसंख्याको अनुपातमा जम्मा ३ प्रतिशत मात्र छ ।
सान्सितो पार्टीका नेता सोहे कामिया र अरु सांसद तथा उम्मेदवारहरुले चिनियाँ नागरिकले जापानमा जग्गा र अरु स्थायी सम्पत्ति खरिद गरेको विषय उठाउँदै आएका छन् ।
सान्सितो पार्टीको वेबसाइटमा राखिएको नीतिमा भनिएको छ, ‘विदेशी शक्तिले जापानमाथि गरिरहेको मौन आक्रमण रोक्ने ।’
सान्सितो पार्टीको जापान फर्स्टको नारा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फर्स्ट नाराबाट प्रभावित भएको हो ।
अमेरिकामा दोस्रो कार्यकाल राष्ट्रपति जितेका ट्रम्पले अमेरिका फर्स्ट नीति अन्तर्गत आप्रवासीहरु प्रति कडा नीति लिएका छन् ।
सान्सितोले पनि जापानमा त्यस्तै नीतिको वकालत गरेको छ । यो पार्टीका संस्थापक सोहे कामिया ट्रम्पबाटै प्रभावित व्यक्ति हुन् । उनले आफ्नो बोल्ड राजनीतिक शैलीको श्रेय ट्रम्पलाई नै दिने गरेका छन् ।
कामियाले कोरोना खोप, विश्वव्यापीकरण, लैंगिक समानता र जलवायु परिवर्तनका मुद्दामा ट्रम्पकै जस्तो विचार राख्ने गरेका छन् ।
उनले चुनावी अभियानका क्रममा भनेका छन्, ‘ट्रम्पको नेतृत्व पश्चिममा बढ्दो विश्वव्यापीकरण विरोधी आन्दोलनको हिस्सा हो । यहाँ पनि हाम्रो चिन्ता त्यस्तै छ ।’
उनले ट्रम्पको नीति अमेरिकाको राष्ट्रिय हित रक्षाका लागि उपयुक्त रहेको भन्दै जापानले पनि त्यसलाई अनुशरण गर्नुपर्ने बताएका छन् ।
कामियाले ट्रम्पको कार्बन व्यापार विरोधी अभिव्यक्ति र समावेशीता खारेज गर्नुपर्ने भनाइको समर्थन गरेका छन् ।
केही समय पहिलासम्म त जापान आप्रवासीहरु कम भएको देशमै पथ्र्यो । तर पछिल्लो समय यो निरन्तर बढ्दो क्रममा छ ।
जापानमा वृद्ध जनसंख्या निरन्तर बढ्दै गइरहेको छ । त्यसैले कतिपयको तर्क छ कि आप्रवासी कामदारहरु देशको आवश्यकता हो । किनकी उनीहरुले कर तिर्छन् र ज्येष्ठ नागरिकको स्याहार सुसार गर्छन् ।
तर सान्सितो पार्टीले आप्रवासीलाई जापान आउन सहज अनुमति दिने सरकारको नीतिको विरोध गरेको छ ।
सान्सितोका संस्थापक सोहे कामियाले भनेका छन्, ‘यो नीतिका कारण जापानीहरुले असहज महसुस गरिरहेका छन् ।’
सान्सितोको टार्गेटमा आप्रवासी मात्र छैनन्, विदेशी पर्यटकहरु पनि छन् ।
जापानी मुद्राको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै सस्तो छ । एक अमेरिकी डलर बराबर १४८ जापानी येन हुन्छ । त्यसैले धेरै देशका नागरिक जापानलाई सस्तो गन्तव्यका रुपमा लिन्छन् ।
सन् २०२४ मा जापानमा ३ करोड ७० लाख पर्यटकले भ्रमण गरेका थिए । जापान घुम्न आउनेहरु धेरैजसो पूर्वी एसियाका देशहरु, चीन र दक्षिण कोरियाका धेरै छन् ।
पर्यटकले जापानीमाथि अभद्र व्यवहार गरेको, नियम नमानेको र उनीहरुको भीडभाडले जापानीहरु दिक्क भएको धारणा राख्ने गरेका छन् ।
आलोचकहरुले सान्सितोले सामाजिक सञ्जालबाट विदेशीहरुप्रति घृणा फैलाउन प्रोत्साहित गरेको आरोप लगाएका छन् ।
केही विश्लेषकहरुले सान्सितोले पर्यटकबाट हुने दुर्व्यवहारका घटनालाई आप्रवासनको मुद्दासँग मिसाएको र यसलाई ठूलो समस्या जस्तो देखाउन खोजेको भन्दै आलोचना गरेका छन् ।
कामियाले लैंगिक समानताको सवालमा पनि विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले जापानमा जन्मदर घट्नुमा सरकारको लैंगिक समानता सम्बन्धी नियम कारक रहेको धारणा राखेका छन् ।
चुनावी अभियानका क्रममा कामियाले महिलाहरुलाई काम गर्न प्रोत्साहित गर्ने र बच्चा जन्माउन रोक्ने लैंगिक समानता नीति गलत भएको टिप्पणी गरेका थिए ।
यो टिप्पणीका कारण उनले आलोचना पनि सामना गर्नुपरेको थियो । तर सत्तारुढ दल र सरकारप्रतिको असन्तुष्टिको एकमुष्ट स्वर सान्सितोको ब्यालेट बक्समा देखिएको छ । र, यो पार्टीका नेता सोहे कामिया थप शक्तिशाली बनेका छन् ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)