अष्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन पनि नपाउने
अष्ट्रेलियाले प्रतिबन्धित सामाजिक सञ्जालको सूचीमा पहिलो पटक युट्युबलाई पनि समावेश गरेको छ ।
यो घटनाले अष्ट्रेलिया सरकार र युट्युबको सञ्चालक कम्पनी अल्फाबेटबीच विवाद बढ्ने देखिएको छ ।
अष्ट्रेलिया सरकारले गत नोभेम्बरमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन बनाएको थियो ।
प्रतिबन्ध लगाउने सामाजिक सञ्जालको सूचीमा फेसबुक, टिकटक, इन्स्टग्राम, एक्स र स्न्यापच्याट मात्र थिए । बुधबार युट्युबलाई पनि यसमा थपिएको छ ।
अब आगामी डिसेम्बरदेखि अष्ट्रेलियामा बालबालिकाले अरु सामाजिक सञ्जाल जस्तै युट्युब पनि चलाउन पाउने छैनन् ।
यसको अर्थ उनीहरुले युट्युब हेर्न सक्दैनन् भन्ने होइन । १६ वर्षभन्दा कम उमेरकाले युट्युबमा एकाउन्ट खोल्न सक्दैनन्, जुन कन्टेन्ट अपलोड गर्न र अरु अन्तर्क्रियाका लागि जरुरी हुन्छ ।
सोसल मिडियाले बालबालिकाको सामाजिकतामा असर परेकाले यस्तो कदम चाल्नु परेको अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बान्सले बताएका छन् ।
‘मलाई थाहा छ, यो नै सबै कुराको समाधान होइन, तर यसले केही न केही फरक पार्नेछ’, उनले भनेका छन् ।
अष्ट्रेलियाको इन्टरनेट नियामक निकायले गत हप्ता सरकारलाई एउटा रिपोर्ट दिएको थियो । जसमा ३७ प्रतिशत बालबालिकाले युट्युबमा हानिकारक कन्टेन्ट हेरेको उल्लेख थियो ।
सञ्चारमन्त्री एनिका वेल्सले बालबालिकालाई इन्टरनेटको खराब पक्षबाट जोगाउनुपर्ने बताएकी छन् ।
बच्चाहरुलाई एकै पटक समुद्रमा पौडी खेलाउनुभन्दा गाउँघरको पोखरीहरुमा पौडी खेलाउनुपर्ने उनको तर्क छ । ‘सोसल मिडिया चाहिन्छ, तर बालबालिकाको चियोचर्चो गर्ने अल्गोरिदम चाहिँदैन’, उनले बताइन् ।
अष्ट्रेलियामा बालबालिकालाई अनलाइन गेमिङ, म्यासेजिङ, शिक्षा र स्वास्थ्य टिप्स सम्बन्धी एप्स चलाउन पनि प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध अन्तर्गत टेक कम्पनीहरुले १६ वर्षमुनिका बालबालिकाका लागि एज रेस्ट्रिक्सन नराखेमा ५ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ ।
अष्ट्रेलिया सरकारको कदम लगत्तै युट्युबले एक विज्ञप्ति निकालेर युट्युब सामाजिक सञ्जाल नभएको बताएको छ । युट्युब भिडियो राख्न मिल्ने प्लाटफार्म मात्र भएको दाबी गरेको छ ।
‘युट्युब एउटा भिडियो सेयरिङ प्लाटफार्म हो, जसमा निःशुल्क रुपमा उच्च गुणस्तरका भिडियोहरु हेर्न सकिन्छ, यो सामाजिक सञ्जाल होइन’, युट्युबका प्रवक्ताले भनेका छन् ।
तर अष्ट्रेलिया सरकारका अधिकारीले भने युट्युबसँग पनि सामाजिक सञ्जालका विशेषताहरु रहेको बताएका छन् ।
किनकी यसमा प्रयोगकर्ताहरुबीच संवाद गर्न मिल्छ र अल्गोरिदमको सहायताबाट कुनै कन्टेन्ट हेर्न रिकमेन्ड गर्न पनि मिल्छ । त्यसैले यसलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ ।
अष्ट्रेलियाको सोसल मिडियासम्बन्धी कानुन बनाएपछि विश्वका अरु देशहरुले पनि यसलाई पछ्याउन थालेका छन् । नर्वेले पनि अष्ट्रेलियाले जस्तै प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले पनि अष्ट्रेलियाकै बाटो लिने तयारी गरेको छ ।

आप्रवासी र पर्यटकप्रति अनुदार पार्टी, जसले जापानको चुनावमा तहल्का मच्चायो

चीनले बनाउन थाल्यो संसारकै ठूलो बाँध, आत्तियो भारत

किन देश छाड्दैछन् भारतका करोडपति ?

श्रम कानुनको विरोध गर्दै मजदुर संगठनले गरे भारत बन्द
